
विश्वभरिका धनीहरूको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि विश्वभरिका डलर अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ ।
मंगलवार राति सार्वजनिक सूचीअनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपतिमा नेपालका विनोद चौधरी मात्र छन् ।
दक्षिण एसियाका देशहरूमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् ।
दक्षिण एसियाका अन्य मुलुकहरू श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् ।
नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ । फोर्ब्सका अनुसार उनको सम्पत्ति गत वर्ष १.४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोर्ब्सको सूचीमा १९२९ नम्बरमा छन् । चौधरी २०१३ देखि अर्बपतिहरूको सूचीमा निरन्तर रहँदै आएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् ।
एउटा व्यक्ति मात्र धनी हुँदैमा आफुलाई सन्तुष्टि नमिल्ने बताउँदै चौधरीले देशलाई आर्थिक रुपले समृद्ध बनाउन सक्दाको दिनमा मात्र वास्तविक आत्मसन्तुष्टि मिल्ने बताए ।
‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो,’ चौधरीले भने, ‘आफूसँग भएको ज्ञान र सिकेको सीप सबै नेपालीले देखेको देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौं भनेर नै म राजनीतिमा आएको हुँ ।’
यस्तै उक्त सूचीका अनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरूमध्ये तेस्रो भएको छ ।
भारतमा १६६ अर्बपति छन् भने अर्को छिमेकी चीनमा ५३९ अर्बपति छन् । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिहरूको संख्या ७३५ छ ।
२९०.३ अर्ब डलर सम्पत्ति रहेका इलोन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन् ।
यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ति १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी हुन् ।
भारतका गौतम अदानी र मुकेश अम्बानी देशको पहिलो नम्बर सूचीमा रहेका छन् । अदानी नवौं र अम्बानी दशौं नम्बरमा छन् ।