
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रणमणलीन न्यायसम्बन्धी कानून संशोधनको विधेयक संसद्को चालू अधिवेशनमा पेश गरिने जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयक २०७९ का शीर्षकमाथि सो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्का प्रश्नको जवाफ दिँदै उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र संक्रमणकालीन न्यायलाई निष्कर्षमा लान प्रदेश सरकारका प्रतिनिधिसँग पनि परामर्शपछि प्राप्त सुझावका आधारमा कानूनमा संशोधन गरिने बताए ।
मन्त्री कोइारालाले न्याय र कानूनमा आम नागरिकको सरल पहुँच र स्वामित्व निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै हरेक घरमा नेपालको संविधान उपलब्ध गराउन नागरिक एप्समार्फत् सचेतना विस्तार गरिने र मौलिक हकसम्बन्धी कानून संशोधन वा नयाँ कानून निर्माण गर्नुपरेमा आफ्नो मन्त्रालयले अतिरिक्त बजेट विना आवश्यक सहजीकरण गर्ने अवगत गराए ।
उनले हाल ५० भन्दाबढी विधेयक संसद्मा विचाराधीन रहेको र त्यसलाई छिटो विधेयकमा रूपान्तरण गर्न पहल गर्ने विश्वास व्यक्त गरे ।
उनले सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई संविधानको मर्म र अन्तर्राष्ट्रिय अभ्यासअनुसार अघि बढाइने बताए । उनले न्याय परिषद्ले न्यायाधीश नियुक्ति गर्दा व्यक्तिगत आग्रहका आधारमा नभई निश्चित निर्देशिका र क्षमताको मूल्यांकनका आधारमा हुनुपर्ने जनाउँदै छूवाछूत हटाउन कानूनको पालनाका साथै सांस्कृतिक रुपान्तरण र सामाजिक शैक्षिक अभियान सञ्चालन गर्नुपर्ने बताए ।
मन्त्री कोइरालाले जातीय विभेद विरुद्धका कानूनको पालना र ती कानूनबारे सञ्चारमाध्यम, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको र निःशुल्क कानूनी सहायत कार्यक्रमलाई गैरसरकारी संस्थासँगको पनि सहयोग लिएर प्रभावकारी बनाइने बताए ।
प्रश्नको जवाफमा उनले मन्त्री, सांसद् वा जनप्रतिनिधि वा कर्मचारीले दोहोरो सुविधा लिन नमिल्ने कानूनी व्यवस्था भएकाले सोको कार्यान्वयनका लागि सम्बन्धित सबैको भूमिका आवश्यक रहेको जनाए । मन्त्रालयबारे गत जेठ २३ गते प्रतिनिधि सभाको बैठकमा छलफल भएको थियो ।