
नेपाल विविधताले धनी देश हो । यहाँ हरेक कुरामा विविधता पाउन सकिन्छ । त्यस्तै विविधताको विभिन्न विधामध्ये प्राकृतिक सुन्दरता एक हो । हिमाल, पहाड र तराई, प्रत्येकले आ–आफ्नै पहिचान सहितको सुन्दरतालाई अँगालेको छ ।
यसले सबैलाई मोहित पारेको छ । अझ हिमालको सौन्दर्यता र हिमालको काखमा सौम्य र शान्तसँग छचल्किएका हिमतालहरूले सम्पूर्ण मानव जगतलाई नै मन्त्रमुग्ध बनाउन सक्ने सामथ्र्य राख्दछ ।
यही सौन्दर्यताको सामथ्र्यले हरेक वर्ष नेपालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । पर्यटकहरूको त्यही घुइँचोको रोजाइमा पर्ने एउटा गन्तव्य हो ‘फोक्सुण्डो ताल’ । अब म तपाईंहरूलाई फोक्सुण्डोको सौम्य सुन्दरताको बयान तस्वीरबाट गर्दै गन्तव्यमा डो¥याउँछु अर्थात् मौसम परिवर्तनसँगै आफ्नो रूप पनि परिवर्तन गर्ने फोक्सुण्डोको जानकारी सहितको फोटो कथा ।

डोल्पा जिल्लामा अवस्थित फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । तालको सौन्दर्य र यात्रा विवरणलाई हामीले फोटो कथामा समेट्न प्रयत्न गरेका छौं । तालको मुख्य जलाधार क्षेत्र कान्जिरोवा हिमाल हो । यो ताल ‘वाई’ आकारको छ । समुन्द्री सतहदेखि करीब ३ हजार ९०० मिटरको उचाइमा रहेको तालको लम्बाई ४ दशमलव ८ किलोमिटर, चौडाई १ दशमलव ६ किलोमिटर र अधिकतम गहिराई ६५० मिटर रहेको छ । ताललाई सन् २००७ बाट रामसार क्षेत्रमा सूचीकृत गरिएको हो ।

फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्किएको छ । फोक्सुण्डोको यात्रा गर्ने क्रममा बीच बाटोमै झरनासँग जम्काभेट हुन्छ ।
ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ । यो ताललाई कतिपय मानिसहरूले शे–फोक्सुण्डो ताल भन्ने गरे तापनि तालको वास्तविक नाम ‘फोक्सुण्डो’ मात्र हो । यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्दछ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले तालसहित निकुञ्जको समग्र क्षेत्रलाई बुझाउँछ ।
पर्यटकीय गन्तव्यको हिसाबले प्रचुर सम्भावना बोकेको निकै नै महत्त्वपूर्ण आकर्षक हिमाली गन्तव्य हो फोक्सुण्डो ताल । पर्यटनको सिजनमा फोक्सुण्डो तालको सौन्दर्यसँग रमाउन र यसलाई नियाल्न आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य चहलपहल हुने गर्दछ ।

नेपालगञ्ज एयरपोर्टबाट लगभग ३५ मिनेटको हवाई उडानपछि जुफाल विमानस्थल र यहाँबाट ३ दिनको पैदल यात्रामा फोक्सुण्डो पुग्न सकिन्छ ।
जुफाल विमानस्थलदेखि केहीबेरको जीप यात्रामा सुलिगाँड पुगिन्छ । सुलिगाँडबाट डोल्पा सदरमुकाम दुनै र फोक्सुण्डो जाने बाटो छुट्टिन्छ । यात्रालाई फोक्सुण्डोतिर अगाडि बढाउने क्रममा सुलिगाँडबाट लगभग ३ घण्टा हिँडेपछि कागेनी पुगिन्छ । कागेनीमा खाना खाने, सुत्ने, बस्ने व्यवस्था भएको होटल पाइन्छ । कागेनीमा बिहानको खाना खाएर अगाडि लाग्ने क्रममा रह, साङ्टा हुँदै छेप्का पुगरे बास बसियो ।

दोस्रो दिन छेप्काबाट हिँडेको केहीबेरमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र प्रवेश गरिन्छ । छेप्काबाट लगभग ५ घण्टामा बल्ल ¥याइची पुगिन्छ । यो बीचमा खाने र बस्ने कुनै सविधा पाउन सकिँदैन । त्यसैले छेप्का र ¥याइची बीचको यात्रामा पर्यटकहरूले गाह्रो महसूस गर्ने गर्दछ । मलाई पनि यो बीचको यात्रा तय गर्न निकै गाह्रो भएको थियो । यस बीचमा ¥याइची नपुग्दासम्म आफूले बोकेको छैन भने पानीसम्म पनि खान पाइँदैन । निरन्तरको भिरालो, उकालो, ओरालो हिँडाइमा कहीँकहीँ भेटिने याक र खच्चडको लस्करमा प्रत्येकले बोकेको भारी हेर्दा मानिस बाँच्न पशुको योगदान अमूल्य छ भन्ने आभास हुन्थ्यो मलाई तर मेरो सुस्त हिँडाइ र हिमाली यात्रामा तय गर्नुपर्ने पट्यारलाग्दो एकोहोरो हिँडाइमा बीचबीचमा भेटिने याक र खच्चडको लस्करले मलाई रमाइलो अनुभूति दिलाउँथ्यो ।

¥याइचीमा बिहानको खाना करीब ३ बजेतिर खाएर बाँस बस्नका लागि हाम्रो यात्रा सम्झना होटलतर्फ अगाडि बढ्छ । करीब २ घण्टाको यात्रापछि सम्झना होटल पुगेर दोस्रो दिनको यात्रालाई विश्राम मारियो, जहाँ बस्नका लागि २ वटा मात्रा होटल छन् ।
तेस्रो दिन हिँडेको केही मिनेटमै ताप्रिचा स्कूल हुँदै अगाडि बढ्दा हामीले यात्रामा सबैभन्दा कठीन बाटोको सामना गर्नुपर्ने रहेछ । भीरमा भित्ता खोपेर बनाइएको एकतर्फी हिँड्न पनि कठिन बाटो पार गर्दै अगाडि लम्कने क्रममा बाटोमा नाउर, सुलिगाड झरनाको रोमाञ्चक दृश्य हेर्दै हिँडाइको करीब ४ घण्टापछि रिग्मोगाउँ पुगिन्छ । यो रिग्मोगाउँ पुग्दा फोक्सुण्डो यात्रामा हिँडेका पर्यटकहरूले तालै पुगेको अनुभव गर्ने गर्दा रहेछन् । मलाई त्यस्तै अनुभव भयो । किनकि यो तालसँगै जोडिएको बस्ती हो । जहाँबाट फोक्सुण्डोसँग मितेरी लाउन पुगिन्छ ।

फोक्सुण्डो ताल किनारमा १५औं शताब्दीको थासुङ चोलिङ गुम्बा छ । गुम्बाभित्र बोन धर्मावलम्बीहरूको प्राचीन मूर्ती छ । गुम्बालाई बोन धर्मावलम्बीहरूले आफ्नो धार्मिक आस्थाको धरोहरका रूपमा मान्ने गर्दछन् । बोन धर्म मान्नेहरूको बाहुल्यता रहेको यस क्षेत्रमा ताललाई पनि एक पवित्र धार्मिक स्थलको रूपमा मान्ने गर्दछन् ।
फोक्सुण्डो पुग्ने क्रममा जतिसुकै कठिनाइ झेले पनि फोक्सुण्डोको सौम्य सुन्दरताले तपाईंलाई आनन्दित बनाउँछ, रोमाञ्चित बनाउँछ, स्वर्गानुभूति दिलाउँछ र कसैकसैलाई फोक्सुण्डोको सुन्दतारले यति खुशी दिन्छ, उनीहरू सायद म जस्तै जीवन र जगतलाई नै बिर्सिएर आँखाबाट आँसु खसाउँदै तालको सौन्दर्यताको सम्मानमा हराउँछन् होला । 













अनन्ता भण्डारीः विगत १० वर्षदेखि आमसञ्चारमाध्यमा संलग्न रहँदै आएकी छन् । विशेषगरी पर्या–पर्यटन, वातावरण, निकुञ्ज क्षेत्र लगायतको वृत्तचित्र निर्माण, निर्देशन र छायांकन गर्नुका साथै फोटो पत्रकारिता गर्दै आएकी छन् ।