
२०७४ सालको प्रतिनिधि सभा चुनावमा ‘टुरिस्ट उम्मेदवार’को आरोप लागेपछि धनगढीमा घर नै किनेर चुनावी अभियान थालेकी प्रधानमन्त्रीपत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवाले यसपटक मिति घोषणा नहुँदै चुनावको तयारी शुरू गरेकी छिन् ।
समानुपातिकमा बसेर सांसद सुरक्षित गर्ने बाटो छाडेर आरजुले दोस्रोपटक पनि प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेकी हुन् ।
पहिलो संविधानसभामा समानुपातिक सांसद बनेकी आरजु २०७४ सालको प्रतिनिधि सभा चुनावमा कैलाली ५ बाट प्रत्यक्ष लडेकी थिइन् । यसपटक पनि आरजुले कैलाली ५ बाटै प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छिन् ।
आरजु चुनाव लड्न आउने भएपछि कैलाली– ५ मा कांग्रेसका अन्य कुनै नेताले दाबी गरेका छैनन् ।
नेपाली कांग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टका अनुसार अन्य क्षेत्रमा नेताहरूले दाबी गरेपनि कैलाली– ५ मा आरजु कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार हुन् ।
२०७४ सालको प्रतिनिधि सभा चुनावपछिको पाँच वर्षमा राजनीतिक समीकरणमा फेरबदल भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बन्ने गठबन्धनले नै नेताहरूको राजनीतिक भविष्य फैसला गर्ने देखिन्छ ।
पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा बहुपक्षीय प्रतिस्पर्धा छ । अन्य जिल्लामा भन्दा फरक कैलालीमा रेशम चौधरीको पार्टीको दबदबा छ ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धन हुँदा दुइ सीटमा नेकपा एमाले, दुईमा माओवादी केन्द्र र एक सीटमा राजपा विजयी भएका थिए । राजपाबाट रेशम चौधरीले चुनाव जितेका थिए ।
क्षेत्र नम्बर १ मा रेशमको पार्टीसँग कसको प्रतिस्पर्धा ?
थारु बाहुल्य कैलाली क्षेत्र नम्बर १ मा रेशम चौधरीको दबदबा छ । गत प्रतिनिधि सभा निर्वाचनमा भूमिगत ढंगबाट उम्मेदवार बनेका रेशम चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका थिए । प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी साह (गरिमा)ले १३ हजार ४ सय ६ र कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत प्राप्त गरेका थिए ।
स्थानीय तह निर्वाचनमा राम्रो हैसियत बनाएको रेशमको पार्टीले उम्मेदवार खडा गर्दैछ ।
कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका चौधरी कारागारमा छन् । फौजदारी कसुरमा सजाय भोगिरहेको व्यक्ति उम्मेदवार बन्न नपाउने भएकाले चौधरी स्वयं भने उम्मेदवार बन्न पाउने छैनन् । उनको पार्टीबाट पत्नी रञ्जिता श्रेष्ठ चौधरी नै उम्मेदवार बन्ने सम्भावना छ ।

कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट रामजनम चौधरी मुख्य दाबेदार हुुन् ।
विगतमा नेपाली कांग्रेस र पछि विजय गच्छदारको पार्टीबाट रामजनमले चुनाव जित्दै आएका थिए । जनक चौधरी, ईश्वरी न्यौपाने, डा. रणबहादुर रावल र अच्युत सिंह कठायत यो क्षेत्रबाट आकांक्षी छन् ।
नेकपा एमालेबाट तपेन्द्र रावल र लालबहादुर चौधरी उम्मेदवार बन्ने चर्चा छ । माओवादी र नेकपा एसको तर्फबाट भने अहिलेसम्म उम्मेदवारको टुंगो लागेको छैन । चुनावमा कस्तो तालमेल हुन्छ, त्यसैको आधारमा उम्मेदवार छनोट हुने माओवादी नेताहरू बताउँछन् ।
माओवादीमा क्षेत्र नम्बर १ बाट नेपबहादुर चौधरी र रूपा चौधरी आकांक्षी छन् ।
क्षेत्र नम्बर २ मा को–को छन् दाबेदार ?
गत प्रतिनिधि सभा चुनावमा कैलाली २ बाट एमालेका झपट रावल विजयी भएका थिए ।
२५ हजार १ सय ५७ मतसहित रावल विजयी हुँदा कांग्रेसका मोहनसिंह राठोरले २३ हजार ३ सय १३ मत पाएका थिए ।
नेपाली कांग्रेसले यस क्षेत्रबाट मोहनसिंह राठोर या कमल शाहलाई उम्मेदवार बनाउने सम्भावना छ ।
नेकपा एमालेबाट तीनजना मुख्य आकांक्षी देखिएका छन् । बहालवाला सांसद रावलका अतिरिक्त कमला कुमारी वली र सूर्यबहादुर थापा आकांक्षी छन् ।
नेकपा एमाले विभाजन भएकाले यो क्षेत्रमा यसपटक सहज जीत हात पार्न सकिने कांग्रेसको दाउ छ । तर, एमालेले भने पार्टी विभाजनको असर नरहेकाले चुनाव जित्न सकिने बताउँदै आएको छ ।
अहिलेसम्म कसरी गठबन्धन बन्छ भनेर हेरिरहेको माओवादीले यहाँबाट भगत बडुवाललाई उठाउने तयारी गरेको नेताहरू बताउँछन् ।
गौरीशंकरको क्षेत्र माओवादीले नछाड्ने
वामपन्थी तालमेल हुँदा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली ३ माओवादीको भागमा परेको थियो । माओवादीका गौरीशंकर चौधरी कांग्रेसका रामजनम चौधरीलाई पराजित गर्दै विजयी भएका थिए । गौरीशंकरले २४ हजार ८ सय ६२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामजनमले २० हजार ३ सय ५५ मत पाएका थिए ।
नेकपा विभाजनसँगै चौधरी लेखराज भट्टसँगै एमाले कित्तामा उभिए । माओवादीको कारवाहीमा परेपछि सांसद पद गुमाएका गौरीशंकर आगामी निर्वाचनमा एमालेबाट उम्मेदवारको मुख्य दाबेदार हुन् । जयनारायण जोशी र विष्णु चौधरीले पनि एमालेबाट टिकटको आकांक्षा राखेका छन् । गौरीशंकर चौधरीले छाडे पनि यो क्षेत्रमा आफूहरूको हैसियत बलियो रहेको माओवादीको दाबी छ ।
कांग्रेसको तर्फबाट रामजनमको पनि चर्चा छ । एकमा नउठे उनी ३ बाट उठ्ने सम्भावना रहेको कांग्रेसका जिल्लास्तरीय एक नेताले लोकान्तरलाई जानकारी दिए ।
रामजनम नउठेको अवस्थामा भीम बडुवाल र बुद्धि सागर चौधरी कांग्रेसबाट उम्मेदवार बन्न चाहन्छन् ।
जोसँग चुनावी तालमेल भएपनि माओवादीले यो क्षेत्रमा दाबी नछाड्ने बताएको छ । माओवादीका तर्फबाट वीरमान चौधरी सशक्त दाबेदार हुन् ।
प्रदेश सभा सदस्य रहेका उनलाई माओवादीका तर्फबाट सुदूरपश्चिमको मुख्यमन्त्रीको दाबेदार समेत ठानिएको थियो ।
लेखराज चुनाव लड्ने ४ नम्बर पेचिलो
नेकपा विभाजनसँगै माओवादी परित्याग गरेर एमालेको सचिव बनेका लेखराज भट्ट अहिले एमालेको सुदुरपश्चिम प्रदेश इञ्चार्ज छन् ।
यसपटकको चुनाव लेखराजका लागि प्रतिष्ठाको विषय बनेको छ । हुन त उनी गत निर्वाचनमा पनि एमालेसँगको गठबन्धनका कारण विजयी बनेका थिए ।
कांग्रेस उम्मेदवारलाई झण्डै साढे १० हजार मतले पराजित गर्दै लेखराजले बाजी मारेका थिए ।
लेखराजले ३१ हजार ३ सय ५९ मत पाउँदा कांग्रेसका सुनिल भण्डारीले २० हजार ९ सय ६० मत प्राप्त गरेका थिए । चुनाव जितेपछि लेखराज केपी ओली सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए ।
एमालेमा भीम रावल कर्नरमा पर्दा लेखराज उदाएका छन् । कुनै बेला माओवादी सुप्रिमो प्रचण्डलाई मोटरसाइकलमा चढाएर हिँड्ने लेखराज प्रचण्डसँग कित्ताकाट गरेपछि पहिलोपटक सूर्यबाट चुनाव लड्दैछन् ।
एमालेमा गएका नेतामध्ये लेखराजले धेरै कार्यकर्ता भित्र्याएको एमालेभित्रको मूल्यांकन छ । एमालेले लेखराजको क्षेत्रलाई ग्रीन जोनमा राखेको छ ।
माओवादीको मिसन भने ‘एनी हाउ, लेखराज हराऊ’ जस्तो छ । लेखराजका अतिरिक्त हरिसिंह साउद र केशव सुवेदी एमालेबाट कैलाली ४ मा आकांक्षी छन् ।

नेपाली कांग्रेसका तर्फबाट विगतमा लेखराजसँगै भिडेका सुनिल भण्डारी नै मुख्य दाबेदार छन् ।
टेकराज जोशी, हिरादत्त भट्ट र उत्तम कठायत पनि कांग्रेसको तर्फबाट आकांक्षी छन् ।
माओवादीको तर्फबाट प्रदेश कमिटी अध्यक्ष हरिराम चौधरी उठ्ने सम्भावना प्रबल छ ।
माओवादी केन्द्रका जिल्ला अध्यक्ष लाजुराम चौधरीले पार्टी एकताको कुरा चलिरहेकाले अहिलेसम्म उम्मेदवारको बारेमा छलफल नभएको लोकान्तरलाई बताए ।
माओवादीका अर्का एक नेताले लेखराजलाई टक्कर दिनका लागि हरिराम चौधरीलाई उम्मेदवार बनाउनेबारे पार्टीमा छलफल चलिरहेको बताए ।
विगतमा शेरबहादुर देउवासँग चुनाव लडेका खगराज भट्ट पनि यही क्षेत्रबाट चुनाव लड्ने चर्चा चलेको छ । उनी माओवादीका सुदूरपश्चिम प्रदेश इञ्चार्ज हुन् ।
नेकपा एसले पनि कैलाली ४ मा दाबी गरेको छ । उसका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी आकांक्षी छन् ।
आरजुसँग नारदमुनि कि अरू ?
कैलाली– ५ मा नेपाली कांग्रेसले ‘हेभीवेट उम्मेदवार’लाई मैदानमा उतार्दै छ । प्रधानमन्त्रीपत्नी समेत रहेकी डा. आरजु देउवा दोस्रोपटक कैलाली– ५ बाट प्रतिस्पर्धामा उत्रिँदैछिन् ।
विगतमा टुरिस्ट उम्मेदवारको आरोप खेपेकी आरजुले यसपटक भने धेरै मेहनत गरेको कांग्रेस कार्यकर्ताहरू बताउँछन् ।
स्थानीय तह निर्वाचनको समयमा उनी जिल्लामा खटिएकी थिइन् ।
युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने विषय पनि कैलालीमा उठाएकी थिइन् ।

चुनावमा आरजुसँग यसपटक पनि एमालेका नारदमुनि रानाको जम्काभेट हुने सम्भावना छ ।
२०७४ सालको चुनावमा रानाले २७ हजार २ सय २ मतसहित जीत हात पारेका थिए । आरजुले २२ हजार ३ सय २२ मत पाएकी थिइन् ।
कैलाली– ५ मा एमालेका तर्फबाट दीपक देवकोटा र नेपालु चौधरी पनि आकांक्षी छन् ।
विगतमा आरजुलाई हराएको, २०६४ सालको संविधान सभा चुनावमा पनि प्रत्यक्षतर्फ चुनाव जितेका कारण नारदमुनिले टिकट पाउने सम्भावना प्रबल रहेको एमाले नेताहरू बताउँछन् ।
चौधरी केपी ओली सरकारमा १३ दिन वन मन्त्री बनेका थिए । संसद् विघटन गरेर मन्त्रिमण्डल विस्तार गरेको भन्दै सर्वोच्चले सो विस्तार खारेज गरिदिएको थियो ।
नयाँ इतिहास रच्नेमा देउवा र इतिहास दोहोर्याउने नारदमुनि दुवै ढुक्क देखिएका छन् ।
यस्तो छ, जिल्लाको हिसाबकिताब
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा कैलालीमा सबैभन्दा बढी रेशम चौधरीको पार्टीले चारवटा स्थानीय तह जितेको थियो । त्यसपछि कांग्रेसले ३ तथा एमाले र माओवादीले समान दुई स्थानीय तहको प्रमुख जितेका थिए ।
नेकपा एसले एक र स्वतन्त्रले एक स्थानमा जीत हासिल गरेका थिए । स्वतन्त्रबाट चुनाव जितेका धनगढी उपमहानगरपालिकाका मेयरले जिसस निर्वाचनमा कांग्रेसलाई समर्थन गरेका छन् ।
कुल १२६ वडामध्ये कांग्रेसले ५८ वडा जितेको छ ।
विगतको तुलनामा पार्टीको हैसियत धेरै राम्रो भएको जिल्ला सभापति भट्टले दावी गरे ।
चुनावमा वर्तमान सत्ता गठबन्धनबीच नै चुनावी तालमेल भएमा कांग्रेसलाई दुईवटा क्षेत्र दिएर दुईवटा आफूले पाउनुपर्ने माओवादी केन्द्रको दाबी छ । नेकपा एसले पनि एउटा क्षेत्रमा दाबी गरेको छ ।
पार्टीभित्र अन्य नेताहरूले चुनावी तालमेलको विरोध गरिरहेको समयमा आरजुले गठबन्धनबीच चुनावी तालमेल गर्नुपर्ने बताउँदै आएकी थिइन् । तालमेल भएमा सहज जीत हासिल गर्न सकिने विश्लेषण कांग्रेसको छ ।
पढ्नुहोस्, यसअघिका सामग्री :