०३ साउन २०८३, आइतबार
प्रतिनिधि सभा निर्वाचनको तयारी

पाल्पामा सोम पाण्डेलाई गैरेले टक्कर दिने सम्भावना, अर्को क्षेत्रमा को बन्ला उम्मेदवार ?

असार ६, २०७९
पाल्पामा सोम पाण्डेलाई गैरेले टक्कर दिने सम्भावना, अर्को क्षेत्रमा को बन्ला उम्मेदवार ?

अनेरास्ववियुका पूर्व अध्यक्ष ठाकुर गैरेसँगैका समकालीन राजनीतिकर्मीहरू सांसददेखि मन्त्री बनिसके । समकालीन नेता गगनकुमार थापा नेपाली कांग्रेसबाट मन्त्रीदेखि पार्टी महामन्त्रीसम्म बनिसके ।

गैरेपछि अनेरास्ववियुको अध्यक्ष बनेकी हाल नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री मन्त्री भइसकिन् । 

राजनीतिक दौडमा गैरे सधैं पछि परिरहे । एमाले पोलिटब्यूरो सदस्य समेत रहेका गैरेलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा बल्ल सांसदको उम्मेदवार बन्न टिकट पाउने ढोका खुलेको छ ।

आगामी मंसिर वा फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी पाल्पाको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्ने सम्भावना छ ।

विक्रम संवत् २०५१–२०७४ सालसम्मका सबै निर्वाचनमा चुनाव लडेका सोमप्रसाद पाण्डे एमाले छाडेर नेकपा एसमा लागेसँगै बल्ल गैरेका लागि चुनावी ढोका खुलेको छ ।

२०५१ सालपछि भएका ५ वटा निर्वाचनमध्ये पाण्डेले २०६४ सालको चुनावबाहेक सबै जिते । अब गैरे तिनै पाण्डेसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेका छन् ।

पाल्पाको २ नम्बर क्षेत्रमा एमालेबाट गैरे र सत्तारूढ गठबन्धन निर्वाचनसम्म जारी रहे पाण्डे उम्मेदवार बन्ने चर्चा छ । पाल्पामा प्रतिनिधि सभातर्फ २ वटा निर्वाचन क्षेत्र छन् ।

एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले २ नम्बर क्षेत्रमा प्रतिनिधि सभातर्फ गैरे उम्मेदवार बन्ने करीब ‘फाइनल’ जस्तै रहेको लोकान्तरलाई बताए ।

नेता पाण्डे गत निर्वाचनमा ३४ हजार ८९९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५५ मत ल्याएका थिए ।

गैरेसँगै एमालेबाट नै सुशील ज्ञवालीको नाम चर्चामा छ । उनी भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । ज्ञवाली पाल्पाकै हुन् ।

गैरे एमाले पाल्पा इन्चार्ज पनि हुन् । गैरे पछिल्लो १ वर्षदेखि संगठन विस्तार र पार्टी काममा जिल्लामा नै सक्रिय रहेका आत्रेय बताउँछन् ।  

एमालेका एक नेताले सुशील ज्ञवालीको उम्मेदवारीको आकांक्षी भन्ने कुरामा सत्यता नभएको बताए ।

उनले भने, ‘स्थानीय निर्वाचनमा गैरेले चुनावी ‘कमाण्ड’ सम्हाल्नुभयो । गठबन्धनविरुद्ध जिल्लामा एमालेले एक्लै बहुमत पालिकामा जीत निकाल्यो । २ नम्बर क्षेत्रमा अबको चुनावमा एमालेबाट गैरेको विकल्प छैन ।’

पाल्पाका १० स्थानीय तहमध्ये एमालेले स्थानीय तह निर्वाचनमा ६ पालिकामा एकल जीत निकालेको छ । पाण्डेले पाल्पाबाट पटक–पटक निर्वाचन जिते पनि काम गर्न नसकेको एमाले र कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।

२ नम्बर क्षेत्रमा कांग्रेसबाट हरिप्रसाद नेपाल वा नेकपा एसबाट पाण्डेमध्ये १ जना उम्मेदवार हुने चर्चा छ । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका हरिप्रसादको उपस्थिति पनि पाल्पामा बलियो नै देखिन्छ । नेपाल पनि पाल्पाका पुराना नेतामा पर्छन् । २ नम्बर क्षेत्रमा तानसेन नगरपालिका, बगनाशकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका पर्छन् । 

एमाले विभाजन भएर केही कमजोर जस्तो भएको अवस्थामा यसपटक २ नम्बर क्षेत्र कांग्रेस आफैं चुनाव लड्ने सोचमा रहे पनि केन्द्रको निर्णय मान्नुपर्ने अवस्था आउने हुँदा जिल्ला नेताहरू त्यति खुल्न चाहेका छैनन् । एमालेको ‘गढ’ भत्काउन नेपाल नै उम्मेदवार बन्नुपर्ने कांग्रेसको एउटा समूहले आन्तरिक ‘लबिङ’ थालेको छ ।

नेपाल २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पाण्डेलाई पराजित गरी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । पाण्डे पूर्व उद्योगमन्त्री समेत हुन्, जिल्लाका पुराना नेता मानिन्छन् । 

१ नम्बर क्षेत्रमा एमालेबाट सांसद तथा पूर्व मन्त्री दलबहादुर राना र पूर्व सांसद तथा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल चर्चामा छन् । प्रदेश सांसद नारायण आचार्यले पनि संघीय सांसदमा उम्मेदवार बन्ने चाहना व्यक्त गरेको जिल्लाका नेताहरू बताउँछन् । कंडेलले पाल्पामा ३ वटा निर्वाचन क्षेत्र हुँदा १ नम्बर क्षेत्रबाट २०७० सालको संविधानसभा निर्वाचन जितेका थिए ।

कांग्रेसबाट १ नम्बर क्षेत्रमा कांग्रेस पाल्पाका निवर्तमान सभापति एवं लुम्बिनी प्रदेशका मन्त्री वीरबहादुर राना र जिल्ला उपसभापति ज्ञानबहादुर गाहाको चर्चा छ । निवर्तमान बगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल पनि संघीय निर्वाचनमा उम्मेदवार बन्ने चर्चा छ । बस्याल कांग्रेस पाल्पा सभापतिमा हिमालदत्त श्रेष्ठसँग पराजित भएका नेता हुन् ।

महासमिति सदस्यद्वय दानबहादुर पछाईको पनि चर्चा छ । नेता बस्यालले अहिले संघीय र प्रदेशको निर्वाचनको उम्मेदवारबारे चर्चा गर्न हतार हुने बताए । ‘गठबन्धनका कारण कांग्रेस पाल्पामा अन्योल छ । गठबन्धन जारी रहे सोमप्रसाद पाण्डेले जता रोज्छन्, उतै छाड्नुपर्ने अवस्था आउने होला । त्यहीँ भएर अहिल नै आकांक्षीबारे चर्चा गर्दा हतार पनि हुनसक्छ,’ बस्यालले भने ।

२०७४ सालमा रानाले कांग्रेसका विजयराज घिमिरेलाई पराजित गरेका थिए ।  

राना ३२ हजार ५४९ मतका साथ विजयी हुँदा घिमिरेले २३ हजार ९९३ मत ल्याएका थिए । २०७० सालमा पनि राना र घिमिरेबीच नै प्रतिस्पर्धा हुँदा राना विजयी भएका थिए । पाल्पाको रामपुर निवासी नेता घिमिरे हाल अस्वस्थ छन् । घिमिरे अहिले निर्वाचनमा उम्मेदवार बन्न सक्ने अवस्थामा नरहेका कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताए ।

सभापति श्रेष्ठ लोकान्तरसँग भन्छन्, ‘सत्तारूढ गठबन्धन जारी रहे पाल्पामा प्रतिनिधि सभातर्फ २ नम्बर क्षेत्र र प्रदेश सभातर्फ एउटा क्षेत्र माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आउँछ । अन्य कांग्रेसले लिने अवस्था छ ।’

उनले पाण्डे र माओवादी केन्द्रका प्रदेश सांसद तुलाराम घर्ती मगरलाई छाड्नुपर्ने संकेत गरे । पाल्पाको १ नम्बर क्षेत्रमा रामपुर नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका र माथागढी गाउँपालिका पर्छन् । गत निर्वाचनमा कांग्रेसले प्रतिनिधि र प्रदेशसभा कुनैमा पनि जीत निकाल्न सकेको थिएन । 

पाल्पाको विकासको मूल एजेण्ड मृत्युमार्गको उपमा पाएको शिद्धबाबा सडकलाई व्यवस्थित गर्ने हो तर हालसम्म सिद्धबाबाको सडक जस्ताको तस्तै छ । यस वर्षदेखि सुरूङमार्गको निर्माण कार्य शुरू हुँदैछ । आम पाल्पावासीको चाहना पनि यहीँ सडक व्यवस्थित हुनुपर्ने हो । 

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनावमा गएको कांग्रेसले जिल्लामा घाटा व्यहोरेको छ । अघिल्लो चुनावमा ४ पालिका जितेको कांग्रेस यसपटक ३ वटामा पालिकामा खुम्चिएको छ ।

२०७४ सालको निर्वाचनमा कुनै पालिका नजितेको माओवादीले एउटा पालिका प्रमुख र २ उपप्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादी पाल्पामा ‘क्लीन स्वीप’ भएको छ । पाल्पाबाट पाण्डे नेकपा एसमा लागे पनि उनको खासै प्रभाव जिल्लामा देखिएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्