जटायु अर्थात हिन्दू धर्मको पवित्र रामायण ग्रन्थको एक गिद्धको नाम । उक्त गिद्धले रावणको हरणमा परेकी सीतालाई बचाउने प्रसास गर्छ । तर यस क्रममा रावणले पखेटा काटेर मारिदिन्छ ।
यही नाम जोडेर संगीतमा अगाडि बढिरहेको ‘जटायु रेकर्डस्’ भने गीतमार्फत सधैं जीवित रहने उद्देश्यका साथ अगाडि बढिरहेको छ ।
विश्वभरका युवापुस्तामाझ चर्चित एड शीरनको ‘शेप अफ यु’ को कभर गीत गाएर चर्चामा आएको ‘जटायु ब्यान्ड’ ले अहिले नेपाली संगीतमा अङ्गे्रजी गीत गाएर चर्चामा आएको छ ।
अन्य गीत पनि गाएपनि ‘शेप अफ यु’ का कारण यो ब्यान्डले राम्रै चर्चा कमायो ।
नेपाली बाजालाई पश्चिमी गीतसँग फ्युजन गरेर कभर गीत गाउने सोच भने ब्यान्डलाई त्यसै आएको थिएन । आफू स्थापित हुन कुनै नयाँ प्रयोग त गर्नैपर्छ भन्ने लागेर ब्यान्डले यस्तोखालको खाका तयार पारेको थियो । यही सूत्रले अहिले ब्यान्डलाई सफलताको भ–याङ उक्लन सहयोग गरिरहेको छ ।
‘शेप अफ यु’ को कभर गीत गाएपछि नेपाली संगीतप्रेमीमाझ मात्र होइन, अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चाको विषय बन्यो यो ब्यान्ड । क्यानाडाको आइ हार्ट रेडियोले ‘शेप अफ यु’ को नेपाली भर्जन भन्दै गीतको चर्चा मात्र गरेन, गीतलाई नेपाली भर्जन
अफ शेप अफ युभन्दै आजको बेस्ट म्युजिकमा पनि राख्यो ।
कारण अरू केही थिएन, ब्याण्डका सदस्यहरूले नेपाली बाजाको धुनमा अङ्ग्रेजी गीत गाएर लाई गीत कभर गरेका थिए । अन्य गायकले पनि अंग्रेजी गीतका कभर नगाएका त होइनन् । तर सबैका लागि नौलो पक्ष के थियो भने सारङ्गी, बाँसुरी, मादल जस्ता बाजामा अङ्ग्रेजी गीत गाउनु नौलो प्रयोग थियो ।
गीतमा स्वर दिएकी थिइन् पाल्साङ लामाले । त्यही गीतले पाल्साङलाई संगीत क्षेत्रमा उदाउँदो अनुहारका रूपमा समेत हेरियो पाल्साङलाई ।
‘मैले गाएको कभर गीत अन्तर्राष्ट्रिय श्रोताले रुचाइदिनुको कारण नेपाली संगीत नै हो ।’ पाल्साङले आफूले शुरुमा गीत गाउँदा केही सुधार गर्नुपर्ने अवस्था आएपनि टीमवर्कले सहज भएको बताउँदै थप्छिन्, ‘नेपालीले मात्र होइन, कति विदेशी संगीतप्रेमीले पनि हाम्रो गीतलाई मन पराइदिनुभयो ।’
छेउमा बसेका निरन डंगोल मुसुक्क मुस्कुराउँछन् । यो गीतमा अडियो निर्देशन उनैको थियो ।
आफ्नो इन्स्टाग्राम अकाउन्टको साथी समूहमा गीत गाउने पाल्साङले इन्स्टाग्राममा गीत गाएर साथीहरूलाई सुनाउने गर्थिन् । अहिले भने धेरैले युट्युबमा उनको गीत हेरेर प्रतिक्रिया दिन्छन् ।
रमाइलोका लागि स्कुलमा हुने कार्यक्रममा समेत गीत गाउने गरेको सुनाउँछिन् । ‘स्कूलमा त मैले जम्मा तीनपटक गीत गाएँ होला ।’ पाल्साङ मुस्कुराउँदै सुनाउँछिन्, ‘अझ प्लस टु पढ्दा त मैले गीत गाउँछु भन्ने साथीहरूलाई समेत थाहा थिएन, गीत गाउने माहोल नै बनेन ।’
हाल काठमाडौंमै ‘सोसियल वर्क पढिरहेकी पाल्साङ कहिलेकाहीं क्याम्पसका कार्यक्रमहरूमा गीत गाउने गर्थिन् । रमाइलाका लागि गीतको भिडियो इन्स्टाग्राममा अपलोड गर्ने गर्थिन् । साथीहरूले रुचाइदिन्थे । तारिफ गर्थे ।
एकदिन पाल्साङलाई साथीले सुनाए : ‘मेरो साथीले कभर गीत गर्दैछन्, रुचि छ भने म कुरा गरिदिन्छु ।’ पाल्साङले सुनाइन्, ‘मैले केही त सिकिन्छ भनेर हुन्छ भनें ।’
रहरै रहरमा उनले रुचि देखाइन् । साथीलाई कुरा गर्न भनिन् । साथीले कुरा गरेछन् । जटायु टिमले उनका इन्स्टाग्रामका केही गीत सुनेछ । लगत्तै भेटघाट भयो । गीत गाउने योजना पनि बन्यो ।
ब्यान्डका अरू सदस्य त पहिले नै तयार थिए । कभर गीत गर्ने योजना बन्यो । अरू पनि गीत गाइसकेको हुनाले ब्यान्डलाई त खासै गाह्रो भएन तर पाल्साङका लागि भने गीत रेकर्ड गराउनु नौलो थियो । टीमले उनलाई सहयोग ग–यो । ‘दोस्रो कभर गीत गाउँदा धेरै सजिलो भएको थियो,’ पाल्साङ मुस्कुराउँदै भन्छिन् ।
गीतलाई फाइनल बनाएर रेकर्ड गर्न लगभग एक महिना छुट्याउनु परेको थियो ।
एक महिना लाग्नुको कारण भने साथीहरूको समय नमिल्नु रहेको निरन सुनाउँछन् । ‘हामी सबै फरक पृष्ठभूमिबाट आएका छौं, त्यसैले पनि समय मिलाउन गाह्रै हुन्छ,’ उनी सँगै बसेका साथीहरूलाई सुनाउँछन् ।
गीत युट्युबमा प्रसारण गरेपछि विदेशी संगीतप्रेमीले समेत नेपाली बाजाको फ्युजनलाई रुचाइदिए । त्यही फ्युजनको एउटा प्रयोगले आफूलाई सफलता मिलेको हो कि भन्ने लाग्छ टीमलाई ।
त्यसो त टीमले आफ्नो युट्युब च्यानलमार्फत अन्य गीतका कभर पनि गरेको छ । तर धेरैले रुचाएको गीत भने ‘शेप अफ यु’ नै हो । आफूले गरेको मेहनतले नै गीत चर्चित भएको हो कि भन्ने लाग्छ निरनलाई ।
प्रत्यक्ष तथा अप्रत्यक्ष ब्यान्डमा रहेका साथीहरूले गर्ने काम भने फरक छ । कोही शिक्षक छन् । कोही व्यवसायी । तर संगीतप्रतिको रुचि भने सबैमा छ ।
भोलिको सम्भावना देखेर आज आफूहरूले गीतमा लगानी गरेको ब्यान्डका अर्का सदस्य न्हुच्छे मुनिकार बताउँछन् । ‘एउटा कभर गीतको पूरै तयारी गरिसक्दा हामीले एक लाखको हाराहारीमा खर्च गरिरहेका हुन्छौं, खर्च हामी आफैले जुटाउँछौं,’ न्हुच्छे थप्छन्, ‘कभर गीतले हामीलाई चिनाओस् भन्ने चाहन्छौं, यही हाम्रा लागि ठूलो कुरा हो ।’
कभर गीतका लागि यति धेरै खर्च ? उनीहरूका अनुसार यो खर्च होइन, लगानी हो । जटायुले आफ्नो ब्यान्डका लागि गरेको लगानी एकदिन पक्कै उठ्नेछ भन्नेमा उनीहरू ढुक्क छन् । अहिले पनि विभिन्न कार्यक्रम तथा विदेशमा स्टेज कार्यक्रमका लागि अफर आइसकेको छ टीमलाई । तर अहिले उनीहरू जटायु ‘ब्रान्ड’ बनाउनुपर्छ भनेर लागिपरेका छन् ।
दर्शकले साथ दिनेछन् भन्नेमा उनी ढुक्क छन् ।
अंग्रेजी गीतलाई नेपाली बाजाको प्रयोग गरेर गाउने कन्सेप्ट भने समूहको छलफलपछि नै तयार भएको थियो । ‘नेपाली बाजालाई कसरी अन्तर्राष्ट्रिय बजारमा चिनाउन सकिन्छ भन्ने कुरामा हामीले बाटो खोजिरहेका थियौं ।’
ब्यान्डमा भ्वाइलिन समेत बजाउँदै आएका हेमन्त महर्जन थप्छन्, ‘अङ्गे्रजी गीतलाई प्राथमिकता दिनुको कारण पनि विश्वबजार हेरेर नै हो ।’
टीमका सदस्यहरूको समय मिलाएर अभ्यास गर्दा गीतलाई फाइनल बनाउन भने केही समय लाग्छ । समय दिएर गीतमा काम गर्ने हो भने पनि एउटा कभर गीत तयार हुन दुई हप्ता लाग्ने ब्यान्डका सदस्य निरन बताउँछन् ।
उनीहरूको बजार नेपाल मात्र होइन ।
युट्युबका भ्युअर्सलाई एकैछिनको कामजस्तो लागेपनि गीत तयार गर्नका लागि मात्रै टीमभित्र धेरै छलफल हुन्छ ।
पाश्चात्य गीतमा मादल, सारंगी, टेन्चु, तबला, बाँसुरी लगायतका वाद्यवादनको प्रयोग गरेर गीत गाउनका लागि सहज त थिएन तर असम्भव पनि थिएन ।
‘पूर्वीय संगीतमा पाश्चात्य गीतका फ्युजन गर्दा नयाँ कुरा सिक्न पाउँछु भन्ने त लागेको थियो तर यति धेरै रुचाइदिनुहुन्छ भन्ने लागेको थिएन,’ आफ्नो गायन अनुभव सुनाउँदै पाल्साङ थप्छिन्, ‘अहिले कामको तारिफ भएको देख्दा खुशी लाग्छ ।’
जटायु रेकर्डस्को परिकल्पना केही वर्षअघि नै भएपनि अहिले भने ब्यान्ड स्तरीय गीत गाउनका लागि लागिपरेको छ । अन्य गीतको कभरका लागि समेत जुटिसकेको ब्यान्डले पछिल्लो समयमा नेपाली तथा आफ्नै गीतसमेत गाउने योजना भएको ब्यान्डका सदस्य हेमन्त बताउँछन् ।
नेपाली संगीतमा अङ्ग्रेजी गीत गाउन गाह्रो हुँदैन ?
‘संगीतको भाषा बुझेपछि जुनसुकै गीतमा पनि संगीत संयोजन गर्न सकिन्छ,’ ब्यान्डमा सारङ्गी बजाउँदै आएका स्यामुअल गन्धर्व साथीहरूको कुरामा सहमत जनाउँदै थप्छन्, ‘संगीतको भाषा त एउटै हो नि ।’
पहिलेदेखि नै पश्चिमी गीतमा सारङ्गी बजाउँदै आएकाले पनि स्यामुअललाई यो काम त्यति नौलो लाग्दैन ।
नेपाली बाजा भन्दैमा धेरै दर्शकले मादल, सारंगी, तबला बुझेको बताउँदै न्हुच्छे थप्छन्, ‘हामीले अब तराईतिर प्रयोग गरिने संगीतका साधनलाई पनि प्रयोग गर्ने सोच बनाएका छौं ।’
यसो गर्दा मधेसतिर प्रयोग हुने संगीतलाई पनि चिनाउन भूमिका खेल्ने टीमको अपेक्षा छ । ‘होला, मधेसतिर प्रयोग गरिने बाजामा भारतीय संस्कृतिको प्रभाव पर्ला तर ती बाजा पनि हाम्रै नेपाली बाजा हुन् ।’ कुराकै सिलसिलामा निरन थप्छन्, ‘हिमाली बाजामा पनि तिब्बतको प्रभाव भेटिन्छ नि ।’
समय र लगानी र ब्यान्डको मेहनतले एकदिन ‘जटायु रेकर्डस्’ सबैको प्रिय बन्नेछ भन्नेमा टीम आशावादी छ । ‘पूर्वीय संगीत र पश्चिमी गीतले हाम्रो संगीतलाई विश्वभर चिनाउनेछ’, टीमका सदस्य तथा भिडियो र व्यवस्थापनको समेत जिम्मा लिएका अमित डंगोल सुनाउँछन्, ‘पछि आफ्नै गीतलाई पनि कम्पोज गर्ने योजनामा छौं, अहिलेलाई हामीले ब्यान्डलाई नै चिनाउने जिम्मेवारी थपिएको छ ।’
Advertisment
Advertisment