
नेपाली कांग्रेस र नेकपा एमालेका पदाधिकारी भिड्न लागेको स्याङ्जा २ मा यसपटक चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ ।
स्याङजा २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरु ङ उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट सचिव पद्मा अर्याल चुनावी मैदानमा छिन् । राप्रपालगायत केही साना दल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीका प्रभावशाली नेता विजयकुमार गच्छदारलाई पराजित गरेर उपसभापति बनेका गुरुङका लागि संसदीय निर्वाचनको प्रतिस्पर्धा भने पहिलो हो । २०६४ र २०७० सालको संविधानसभामा गुरुङ समानुपातिकबाट सांसद थिए ।
राष्ट्रियताको पक्षमा चट्टानी अडान र भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिएर उनी चर्चामा रहने गरेका छन् । संविधानसभामा जातीय राज्यको बहस हुँदा उनले विरोध गरेका थिए । गोपालमान श्रेष्ठ समानुपातिकको बन्दसूचीमा बसेपछि धनराजलाई टिकट पाउन धेरै मेहनत गर्नु परेन ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता एवं बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर पद्मा चर्चामा आएकी थिइन् ।
केपी ओली सरकारमा लामो समय भूमिसुधार र कृषि तथा पशुपन्छी मन्त्री बनेकी थिइन् । पद्मा भूमिसुधार मन्त्री रहेको समयमा नेपालको चुच्चे नयाँ नक्सा जारी भएको थियो भने सगरमाथाको उचाइ नापिएको थियो ।
गत वर्षको मंसिरमा चितवनको सौराहामा भएको महाधिवेशनबाट अर्याल एमाले सचिव बनेकी थिइन् । त्यसअघि उनी एमाले स्याङ्जाको अध्यक्ष बनेकी थिइन् । यसअघि चुनाव जितेको, पार्टी पदाधिकारी र महिला उम्मेदवार भएका कारण पार्टीमा टिकट पाउन पद्मालाई पनि कुनै कसरत गर्नु परेन ।
यस्तो छ अंकगणित
विगतमा स्याङ्जालाई नेपाली कांग्रेसको गढ मान्ने गरिएको थियो । गोपालमान श्रेष्ठले एकछत्र रजाईं गरेको स्याङजामा २०७४ सालको चुनावमा लालझण्डा गाडिएको थियो ।
वामपन्थी तालमेलका कारण २०७४ सालको प्रतिनिधिसभामा स्याङ्जाका दुवै क्षेत्रमा नेकपा एमाले विजयी भएको थियो ।
पद्माले गोपालमानलाई पराजित गरेकी थिइन् । पद्माले ३५ हजार १ सय ४२ मत प्राप्त गर्दा गोपालमानले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका थिए । ३ हजार ७ सय ६ मतअन्तरले पद्मा विजयी भएकी थिइन् ।
२०७९ सालसम्म आइपुग्दा पाँच वर्षअघिको समीकरणमा फेरबदल भएको छ । नेकपा एमाले विभाजनको असर धेरै नदेखिएपनि स्थानीय तहको मतपरिणाम अनुसार स्याङ्जामा एमाले दोस्रो पोजिसनमा छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको वडा तहको मतमा कांग्रेस पहिलो छ । कांग्रेसले ३६ हजार ८ सय ६ मत पाउँदा एमालेले ३४ हजार ८ सय ९ मत पाएको छ । गठबन्धनका अन्य दलको हैसियत पनि मजबुत छैन । माओवादी कमजोर रहेको स्याङ्जा २ मा स्थानीय तह निर्वाचनमा उसले मात्र १ हजार २४३ मत पाएको थियो भने नेकपा एसको नगन्य अर्थात् २ सय ३३ मत थियो ।
पद्मा आफ्नो जीत दोहार्याउने दाउमा छिन् भने धनराजले इतिहास रच्ने लक्ष लिएका छन् ।
धनराज अर्जुनचौपारी गाउँपालिकामा पर्ने रापाकोटमा जन्मेका हुन् । वालिङ नगरपालिका (साविक थुमपोखरा गाविस)मा जन्मेकी पद्मा विवाह गरेर रापाकोट नै पुगेकी थिइन् । अहिले भने पद्माको घर वालिङमा छ ।
प्रतिनिधिसभातर्फ टिकट नपाएका माओवादी केन्द्रका एक जिल्ला नेताले स्याङ्जामा दुवै उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा रहेको विश्लेषण गरे ।
‘स्याङ्जामै बसेर जिल्लाको विकासमा खेलेको भूमिका पद्माका लागि चुनाव जित्न बलियो पक्ष हो,’ उनले भने, ‘अर्कातर्फ उम्मेदवार को भन्दा पनि रुखले जित्छ भन्ने अर्को मनोविज्ञान छ ।’
न्युन संख्या भएपनि नेकपा माओवादी केन्द्र र नेकपा एसको मत निर्णायक रहेको कांग्रेसकै नेताहरू बताउँछन् ।
स्याङ्जामा माओवादीभित्र नेता पर्याप्त भएपनि कार्यकर्ता नभएको भनेर टिप्पणी हुने गरेको छ । यसअघि प्रभावशाली मानिएका सूर्यप्रसाद गैरे पारस एमाले प्रवेश गरेपछि माओवादी थप कमजोर भएको छ । उनी अहिले एमालेको जिल्ला अध्यक्ष छन् ।
गैरे गएपछि प्रकाश न्यौपाने माओवादीको जिल्ला संयोजक छन् । प्रतिनिधिसभा कांग्रेस र प्रदेश सभा माओवादी र एसलाई दिने सहमतिविपरीत कांग्रेसका कतिपय नेताले बागी उम्मेदवारी दिएका छन् ।
बागी उम्मेदवारी फिर्ता गरेर गठबन्धनका साझेदार दलको विश्वास जित्नु धनराजका लागि चुनौती रहेको जिल्लाका नेताहरू विश्लेषण गर्छन् ।
सत्ता गठबन्धन एकातर्फ हुँदा स्थानीय तह निर्वाचनमा जिल्लामा गरेको सशक्त प्रदर्शन र कांग्रेसको हाराहारी मत रहे पनि चुनाव जित्न पद्माका लागि चुनौती छ ।
पटक–पटक प्रतिनिधिसभा विघटन गरेको अपजस एमालेमाथि लाग्दै आएको छ । त्यो आरोपलाई चिर्दै जनतामा जानुपर्ने चुनौती पद्मासामु छ ।
मंसिर– ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका केन्द्रीय पदाधिकारीलाई जिताउने चुनौती भने जिल्लाका नेताहरूको काँधमा देखिएको छ ।