
तराई मधेशवासीले लोक आस्थाको रुपमा मनाइने छठ पर्व मनाउनका लागि उत्साहपूर्वक जुटेका छन् । दशैंतिहार समाप्तिसँगै अहिले उनीहरू विभिन्न ताल, तलाउ र जलाशयलाई सफा गरी पूजाघाट तयार गर्ने काममा व्यस्त भएका छन् ।
सप्तरी सदरमुकाम राजविराजस्थित कल्टु, पूर्णी, तुरन्ती, शिव, भगवतीलगायतका पोखरीमा अहिले सरसफाइ र घाट बनाउने काम तीव्ररुपमा अघि बढेको छ ।
छठ मनाउने भक्तजनलाई सहयोग हुने उद्देश्यले विगत १ हप्तादेखि राजविराज नगरपालिकाका सफाइकर्मी, नगरका जलाशयमा खटिएका छन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जनप्रसाद यादवको अगुवाइमा नगरपालिकाभित्रका जलाशय सरसफाइमा एउटा टोली नै परिचालित भएका छन् । कतिपय जलाशय सफाइमा सेना र प्रहरीले पनि सघाइरहेको राजविराज–३ का श्याम रजकले बताए ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सप्तकोसी नदीको कोसी ब्यारेजमा समेत घाट सजाउने काम भइरहेको छ । कञ्चनरुप नगरपालिकाको कञ्चनपुरमा समेत बिहानेदेखि पोखरी, ताल, नहरमा समेत छठको लागि घाट निर्माण भइरहेको स्थानीय राजकुमार पासवानले बताए ।
हनुमाननगर कंकालिनी–२ स्थित सकरदहीको पश्चिमी नहरमा समेत छठको लागि नहरको डिलमा सफाइ र सजावटको काम भइरहेको स्थानीय लाल माझीले जानकारी दिए । छठ पर्व मनाउन स्थानीयवासी आवश्यक सामग्री किन्न रजविराजको हटिया बजारतर्फ समेत भीड लागेका छन् ।
यहाँका गाउँ, ग्रामीण हाटदेखि सहरमा छठको चहलपहल बढेको छ । बजारमा छठको सामान किन्नेको घुइँचो देखिएको छ । विगतभन्दा यस वर्ष बजार भाउ निकै बढेको स्थानीय भक्तजनको गुनासो पनि रहेको छ ।