
एप्पल कम्पनीका सहसंस्थापक स्टिभ जब्सले क्यालिफोर्नियास्थित घरमा लगाएको चप्पल २ करोड ८२ लाख रुपैयाँभन्दा बढीमा लिलामबिक्री भएको छ ।
जुलिएन्स अक्सन्स नामक लिलामबिक्री कम्पनीका अनुसार, जब्सले सन् १९७० को दशकमा लगाएको चप्पलका लागि अहिलेसम्मकै सबभन्दा बढी रकम तिरिएको छ । त्यो चपपल थोत्रो भइसकेको छ ।
‘जुटबाट बनेको चप्पल स्टिभ जब्सको पाइतालाको निशान देखिन्छ किनकि उनले वर्षौंसम्म त्यही चप्पल लगाएका थिए,’ अक्सन हाउसले आफ्नो वेबसाइटमा लेख्यो ।
त्यति धेरै रकम हालेर चप्पल कसले किनेको हो भनी अक्सन हाउसले खुलाएन ।
जब्स र स्टिभ वोज्नियाकले सन् १९७६ मा एप्पल स्थापना गरेका थिए । क्यालिफोर्नियाको लस एल्टोसमा रहेको जब्सका मातापिताको घरमा उक्त कम्पनी खोलिएको थियो ।
सन् २०१३ मा लस एल्टोस हिस्टोरिकल कमिसनले त्यस घरलाई ऐतिहासिक स्थल घोषणा गरेको थियो ।
क्यान्सरका कारण जब्सको मृत्यु सन् २०११ मा भएको थियो ।