पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
मंसिर २०, २०७९
बिहीवार (८ डिसेम्बरमा) अपराह्न भारतीय जनता पार्टीले गुजरात विधानसभा निर्वाचनमा विजय हासिल गरेमा आफ्नो लगातार सातौं जीतलाई उसले कसरी व्याख्या गर्ला ?
मैले यो प्रश्न अहमदाबादमा रहेका एक वरिष्ठ भाजपा नेतालाई सोधें ।
उनले फ्याट्टै भने, ‘(नरेन्द्र) मोदी ।’
‘अनि हिन्दूत्व नि ?’ मैले सोधें ।
‘मोदीको छविले हिन्दूत्व लगायत सबै कुरालाई छायाँमा पारेको छ,’ उनले बताए ।
यो चुनाव पूर्णरूपमा मोदीकेन्द्रित भनी सम्झिइनेछ ।
प्रधानमन्त्री मोदीले चुनावमा आफ्नो वाक्कला र मतदातासँग सिधा सम्बन्ध बनाउने क्षमताका साथ सबै विषयलाई किनारामा पारिदिएका छन् । मतदातामाझ उनको भौतिक उपस्थितिले गुजरातको अस्मितालाई जोड दिएको थियो जसलाई उनी आक्रामक रूपमा प्रतिनिधित्व गर्छन् ।
त्यसैले डिसेम्बर १ मा उनले अहमदाबादमा अकल्पनीय काम गरे । उनले उक्त शहरका सडक र गल्ली चहारे । यस्तो खालको रोडशो गुजरातीहरूले पहिले देखेका थिएनन् ।
मोदीले ५० किलोमिटर लामो रोडशोका साथ चुनावी अभियान चलाए । उनी अहमदाबाद र गान्धीनगरमा रहेका १४ वटा निर्वाचन क्षेत्रको कुनाकाप्चा पुगे । आफ्नो गाडीमा लगातार पाँच घन्टा उभिएर उनले १० लाखभन्दा बढी समर्थक र रमितेहरूलाई हेरेर हात हल्लाए ।
यो अभियानलाई प्रत्यक्ष अवलोकन गर्नका लागि म विसात नगर, नारायणपुरामा उभिएकी थिएँ । त्यहाँ राबरी भनिने गोठालाहरूको समुदायको बसोबास छ । विसात माता उनीहरूकी देवी हुन् । देवीको एउटा मन्दिर पाकिस्तानमा पनि छ ।
उनीहरू मोदीलाई भेट्नका लागि कुरिरहेका थिए । पाकिस्तानमा विसात माताको दर्शनका लागि व्यवस्था मिलाइदिनका लागि मोदीसामु निवेदन गर्न उनीहरू प्रतीक्षारत थिए ।
धरातलमा मोदीको लोकप्रियता
सडकको छेउमा उभिएर मोदीको लावालश्करलाई कुरिरहेका वृद्धहरू जवान मतदातासँग आम आदमी पार्टी (आप) को उपस्थितिका बारेमा बहस गरिरहेका थिए । भाजपाका बफादार समर्थक अधेड उमेरका एक पसलेले मलाई धेरै प्रश्न नसोध्न आग्रह गरे । ‘बहिनी, चर्चा छोडौं, मोदीलाई भोट दिएकाले नै हामी शान्तिपूर्वक बस्न पाइरहेका छौं,’ उनले विनम्रतापूर्वक बताए ।
एक पंक्तिको यो व्याख्याको गहिरो अर्थ छ । मोदीलाई उनकै गृहक्षेत्रमा चुनौती दिन कति गाह्रो छ भन्ने कुरा यसले स्पष्ट पार्छ । जनतालाई सुरक्षाको आभास दिलाउने वातावरण सिर्जना गर्नु यस निर्वाचन अभियानको अभीष्ट देखिन्छ । गुजरातका मतदाताहरूमा सुरक्षाको यस प्रत्याभूतिले काम गरिरहन्छ ।
उत्तरी र दक्षिणी गुजरातमा आयोजित जनसभामा मोदीले आफ्नो बोली परिवर्तन गरी स्थानीयहरूलाई चित्त बुझ्ने गरी सम्बोधन गरे । सौराष्ट्रमा उनले काठियावाडी बोली बोले ।
सामाजिक सञ्जालमा भाजपा र कांग्रेस दुवैले आपको भयंकर चुनौती बेहोरे । ट्विटरमा मत दिन मिल्थ्यो भने आपले प्रचण्ड बहुमतका साथ चुनाव जित्थ्यो । तर चुनावी मैदानमा भाजपाले आपलाई गुजरात पञ्जाबभन्दा फरक रहेको स्मरण गराएको छ ।
तथापि भाजपाले शक्ति, पैसा र राजनीति उपयोग गरे पनि गुजरातमा आपको जन्मलाई रोक्न सक्ने छैन । आपको उपस्थिति जति कमजोर भए पनि उसले भाजपा र कांग्रेसलाई चुनावपछि शैली परिवर्तन गर्न बाध्य पार्नेछ ।
सजिलो रहेन बाटो
मोदी र अमित शाहले गुजरातको शान्ति र स्थिरतामा बढी जोड दिए । उनीहरूले कांग्रेसको भ्रष्ट शासन, भारतमाथि आतंकवादको खतरा, धारा ३७०, युक्रेनको युद्धग्रस्त क्षेत्रबाट भारतीय विद्यार्थीहरूको सुरक्षित निष्काशन र सुरक्षासम्बन्धी विषय पनि उठाए । मुस्लिमबहुल क्षेत्रमा शाहले सन् २००२ को गोधरा दंगाको प्रसंग झिकेर धार्मिक भावना पनि भड्काए । भाजपाले मात्र गुजरातलाई दंगामुक्त गराउन सक्ने संकेत उनले दिए ।
दुई महिनाअघि कांग्रेस र आपले महंगी तथा सर्वत्र छाएको भ्रष्टाचारको कुरा उठाएका थिए । तर त्यसले उनीहरूलाई निर्वाचनको एजेन्डामा हावी हुन दिएन । मोदी र शाह दिल्लीबाट गुजरात आउनेबित्तिकै ६५ भन्दा बढी आमसभा तथा १५ वटा रोडशो गरे । त्यसपछि भाजपालाई भित्तामा पुर्याउने कुनै गम्भीर विषय नै प्रतिपक्षीहरूसँग बाँकी रहेन ।
भाजपाको प्रचारबाजीले पनि उम्दा काम गर्यो । विशेषगरी क्षेत्रीय छापा माध्यम र गुजराती टीभी च्यानलहरूमा तत्कालीन समस्या भन्दा पनि गुजरातको सुदूर भूत तथा भविष्यका विषयमा बहस चलाइयो ।
त्यसो त भाजपाका लागि सबै कुरा सहज रहेन । विगत केही महिनायता जनताले गुजरात सरकारका विषयमा कठोर आलोचना गरिरहेका थिए । मोदीले बहालवाला मुख्यमन्त्री विजय रूपानी र समग्र मन्त्रिमण्डललाई फ्याँक्नुपरेको थियो । त्यसरी गलहत्याइएका कतिपयले निर्वाचन अभियानमा खुलेर भाग लिएनन् ।
गुजरातमा अहिले अनेकौं महत्त्वपूर्ण विषय रहेका छन् । कबिला क्षेत्रमा अपर्याप्त जल आपूर्ति, महंगो निजी शिक्षा, कमजोर स्वास्थ्य पूर्वाधार तथा व्यापक भ्रष्टाचारले निम्न तथा मध्यम वर्गलाई बढी पीडा दिइरहेको छ । कोभिड व्यवस्थापनमा भएको चुकको दुःखद स्मृति गुजरातीहरूमा अझै पनि छ । स्वास्थ्य पूर्वाधारको अभावमा आफ्ना प्रियजन गुमाएका परिवारले त्यस्तो स्मृति राखिरहेका छन् ।
विभाजित भाजपा
यस निर्वाचनमा भाजपा नेताहरू विभाजित देखिए । सबै निर्वाचन क्षेत्रमा असहमति राख्ने नेता र कार्यकर्ता छन् भने अन्य क्षेत्रमा बागी उम्मेदवारहरू भाजपाका कमजोर उम्मेदवारविरुद्ध लडिरहेका छन् ।
शुरूमा भाजपा गुजरात अध्यक्ष सीआर पाटिलले पार्टीका युवा कार्यकर्तामा उत्साह भरेको भए पनि उनको कर्पोरेट शैलीको कामगराइलाई कोर ग्रुपले चित्त बुझाएको थिएन । उम्मेदवार छान्ने निर्धारित प्रक्रियालाई सुदृढताका साथ अपनाइएको थिएन । डेडलाइनहरू छुटेपछि ती प्रक्रियालाई हतार गरी टुंग्याइएको थियो ।
चुनावी नारा ‘मैले यो गुजरात बनाएको हो’ ले पनि अपेक्षाकृत काम गरेन । पार्टी स्वयंले यसलाई खासै भाउ दिएन ।
विगतमा भाजपाले बागी उम्मेदवारहरूलाई फकाउनका लागि आफ्नो बलियो संयन्त्र उपयोग गर्ने गरेको थियो । तर यसपालि उक्त संयन्त्रले काम गरेन अनि १२ भन्दा बढी नेतालाई पार्टीविरोधी गतिविधि गरेकोमा निलम्बन गरिएको छ ।
रमाइलो कुरा त, पहिलो चरणको निर्वाचनमा कम संख्यामा मतदान हुनुले पन्ना प्रमुख (मतदान केन्द्रमा पार्टी इन्चार्ज) तथा मतदान केन्द्र व्यवस्थापनका विषयमा भाजपाले गर्ने घमण्डको पोल खोलिदिएको छ । मतदाताहरूलाई मतदान केन्द्रमा ल्याउन सक्दैन भने पन्ना प्रमुखको के काम ?
यस निर्वाचनले कांग्रेस र भाजपाका शीर्ष नेताहरूको झूट पनि उजागर गरेको छ । उनीहरू गुजरातमा आपको उपस्थितिलाई निरन्तर अस्वीकार गरिरहेका थिए । भाजपाका नेताहरूले चुनाव जित्ने कांग्रेसीहरूको सम्भावनालाई बढाइचढाइ प्रस्तुत गर्नु रमाइलो रह्यो । आपलाई दुवै दलले आक्रमण गरेका थिए ।
आपको कुनै विचारधारा छैन त्यसैले यो भारतीय राजनीतिमा लामो समय टिक्दैन भनी भाजपाले सञ्चारमाध्यमहरूलाई बारम्बार बताएको थियो । भाजपा नेताहरूले वामपन्थी दल, समाजवादी पार्टी, बहुजन समाज पार्टी र द्रविड पार्टीहरू विचारधाराका कारण मात्र बढेको बताउने गरेका थिए ।
सन् २०१७ को चुनावमा भाजपाले १.४ करोड भोट पाएको थियो भने कांग्रेसले लगभग १.२ करोड भोट सोहोरेको थियो । कांग्रेसको त्यो नै सबभन्दा बढी भोट भएको बताइन्छ । अहिले कांग्रेस पहिलेभन्दा कमजोर छ ।
यस निर्वाचनमा कांग्रेससँग भाजपाविरुद्ध कुनै सिलसिलेवार राजनीतिक सन्देश छैन । उसलाई पार्टीको केन्द्रीय नेतृत्वको समर्थन पनि प्राप्त छैन अनि गुजरातभरिका लागि सिर्जनात्मक मिडिया क्याम्पेन पनि छैन । कांग्रेसका सबै उम्मेदवारहरूले आफ्नै लगानीमा चुनाव लडेका हुन् । भाजपासँग रहेको स्रोतसाधनको छेउछाउमा पनि उनीहरू पुग्न सकेनन् ।
सन् २०१७ को निर्वाचनमा दुई पार्टीबीच भएको भोट शेयर अन्तरले मोदीलाई आत्मविश्वास दिलाएको हो । सत्ताविरोधी लहरका कारण भाजपाले मत गुमाएछ भने पनि ऊ यस भिडन्तमा आरामदायी स्थितिमा छ ।
केही प्रश्नको उत्तर
गुजरातका युवा समेत विभाजित छन् र तीमध्ये धेरैजसोलाई क्रान्तिमा रुचि छैन भनी आपका स्थानीय नेताहरू गुनासो गर्छन् । सन् १९७४ मा तत्कालीन मुख्यमन्त्री चिमनभाइ पटेलको कार्यकालमा खस्किँदो अर्थतन्त्र तथा भ्रष्टाचारका विरुद्ध शुरू भएको नवनिर्माण आन्दोलन जस्तो कुनै क्रान्तिका लागि गुजराती युवाहरू तयार नरहेको आपको गुनासो छ ।
अनुवर्ती (कन्फर्मिस्ट) दलका रूपमा उदाइरहेको आप महात्मा गान्धीको जन्मभूमिमा जन्मिनका लागि तयार छ । तर उसले सम्मानजनक भोट शेयर र केही सीट जितेछ भने पनि उसका लागि आगामी दिनहरू कठिन हुनेछन् । भाजपाले उसलाई विशेष ध्यान दिएको छ र आप नेताहरू लडिरहेको निर्वाचन क्षेत्रमा बढी स्रोतसाधन खन्याएको छ ।
यो निर्वाचन अनुत्साहजनक किसिमको छैन किनकि यसले केही महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिनेछ । मोदीले कसरी र कुन हदसम्म निर्वाचनमा प्रभाव पारे ? मोदीको लोकप्रियता यस चुनावमा चरममा पुगेको हो ? सन् २०१७ को तुलनामा भाजपाको भोट शेयर बढ्ला कि घट्ला ?
आपले शहरी र ग्रामीण क्षेत्रमा भाजपा र कांग्रेसबाट कति भोट खोस्ला ? गुजरातमा ‘नयाँ कांग्रेस’ बन्नका लागि पर्याप्त भोट शेयर आपले प्राप्त गर्ला ? कतिवटा सीटमा आपले कांग्रेसको भोट काटेर भाजपालाई फाइदा दिलायो ? भाजपाले सौराष्ट्र र उत्तरी गुजरातमा सुधारिएको प्रदर्शन गर्ला ? कांग्रेसले जितेको सीटमा जातिवादले कस्तो भूमिका खेल्यो ?
गुजरातमा आपको प्रवेशलाई सघाउने कुन वास्तविक मुद्दा थिए ? गुजरातमा भत्किएको शासनव्यवस्थालाई मोदीले कसरी सुर्धाछन् ? पार्टी सञ्चालनमा उनले कस्ता किसिमका परिवर्तन ल्याउनेछन् ?
गुजरातको कथा मोदीका बारेमा र मोदी वरिपरि घुमिरहने सम्भावना छ । मोदीलाई राम्रोसँग चिन्ने सुरतवासी एक वरिष्ठ पत्रकार भन्छन्, ‘मोदी झूटा हिन्दू हुन् भन्ने कुरालाई विपक्षीहरूले जनतासामु विश्वसनीय तरिकाले नराखुन्जेल गुजरातमा अरू कसैले पनि चुनाव जित्न सक्दैन । तर यो हुन नसक्ने स्पष्ट छ । मोदीको साख कायम रहुन्जेल गुजरातीहरूले भाजपालाई विजयी गराइरहनेछन् ।’
डिसेम्बर ८ सम्म कुरौं ।
द प्रिन्ट पत्रिकामा प्रकाशित शीला भट्टको लेखलाई लोकान्तरका लागि विन्देश दहालले उल्था गरेका हुन् ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...