जनकपुरधाम, १ भदौ– महोत्तरीको पिपरा गाउँपालिका ३ वनटोलवाको सिङ्गो दलितबस्ती नै बाढीका कारण विस्थापित हुन पुगेको छ । अविरल वर्षाका कारण आएको बाढीले गर्दा पिपरा गाउँपालिका ३ का दास टोल (तत्मा) समुदाय र वडा नं. ४ का पासमान टोल (दुसाद टोल) का मात्रै सयौं घर परिवार अहिले घरवार विहिन भएका छन् ।
आर्थिक रुपले विपन्न ती दलित बस्ती माथि प्रकृतिले पनि यस्तो अत्याचार गर्ला भन्ने कहिल्यै सोचेका थिएनन्, पिपरा ३ का ५५ बर्षिय खट्टर दासले । ‘घरभित्र बाढी पसेर सडकमा आउनु पर्ला भनेर सोचेको थिइन, बज्रपात आइलाग्यो’ उनले भने ।
पशु चौपायाँ सहित जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकमा त्रिपाल झुण्ड्याई जसो तसो दिन र रात काट्न बाध्य ५३ बर्षिय विल्टु दास बाढीले आफूहरुको उठिबास लगाएको बताउछन । ‘सोमबारको दिन विहान ३ बजे अचानक सिङ्गो बस्ती नै डुवानमा पर्यो । फुसको कच्ची घर भित्र पानी पस्न थाले पछि सिङ्गो वस्ती नै आतङ्कित भयो’दासले लोकान्तरसँग भने, ‘वाल बच्चा, सबै चौपाया सहित सडकमा आयौं । र, बल्ल ज्यान जोगियो ।’
पिपरा वनटोलवाका सोभित दास ज्यान जोगाउन पुल छेउको सडक काटेर भत्काउने अबस्था आएको बताउछन् । ‘विहानको समय भएकाले सडकमा आए पनि सडकमा पनि ३ फिट पानी आए पछि सयौं मानिसहरुको ज्यान जोगाउन पुल नै कटान गर्नु पर्यो’ उनले भने ।
लत्ता कपडा, खाने सामग्रीहरु धान, चामल, गहुँ, दाल सबै वाढीले बगाएर लगे पछि ती दलित बस्तीका सयौं घर परिवारहरुलाई खान, पिउन, लाउन र सुत्न समेत समस्या भएको छ । विनोद दास भन्छन, ‘संयोगले हाम्रो बस्तीमा कुनै पनि किसिमको मानवीय क्षति त भएन तर एक छाक खानको लागि पनि खाद्यान्न सामग्री बचाउन सकिएन ।’
यस अघि २०४४ साल तिर यस्तै वाढी आएको भएपनि यसरी घरवार विहिन नै हुनु नपरेको ५५बर्षिय खट्टर दास सम्झन्छन । ‘खानेकुरा समेत वगे पछि अब के खाने, कसरी सबैले आआफ्नो परिवारलाई पाल्ने भन्ने चिन्ता वढेको छ’ खट्टरले भने ।
बर्षातको मौसममा यसरी सडकमा त्रिपालमुनि रात र दिन विताउनाले बच्चाहरु समेत विरामी पर्न थालेका छन् । राहतको नाममा राष्ट्रिय जनता पार्टी नेपालका स्थानीय नेता ब्रजेन्द्र मिश्रको पहलमा स्थानीयस्तरमा केही खाद्यान्न सामग्री वितरण गरिए पनि अब त्यो पनि सकिएकोले के खाने भन्ने चिन्ताले वाढी पीडितहरु ग्रस्त देखिएका छन् ।
२/३ दिन पिपरा गाउँपालिकाका दुसाद टोलीका पासवान समुदायका वाढी पीडितहरुले उच्च मावि पिपरामा आश्रय लिएका थिए । कतिपय त वाढीको पानीले सडे, गलेको कुहिएको खाद्यान्न सामग्रीलाई चलाईरहेको पाइन्छ । माटोको भकारी (कोही) मा संग्रह गरेर राखिएको चामल, धान, गहुँ, दाल सबैमा पानी पसेर कुहिनुका साथै फुलेका अवस्थामा बर्ष भरीको खाद्यान्न सामग्री नष्ट भएका छन् ।
तराइका अन्य जिल्ला जस्तै महोत्तरीमा हजारौं बाढी पीडितले यस्तै समस्या भोगेका छन् । वाढी आएको ५ दिन वितिसक्दा पनि हालसम्म ती वाढी पीडितहरुको घरमा चुलो बल्न सकेको छैन । अधिकाशं घरमा क्षती पुगेको छ । कतिपय व्यक्तिका घर पुर्ण रुपले क्षतिग्रस्त नभएपनि आंशिक रुपले क्षतिग्रस्त भएको छ । तर, त्यो घर कुन बेला भत्किने हो भन्ने डरले घरमा सुत्न सकिरहेका छैनन्, बाढी पीडितहरु ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले उपलब्ध गराएको जानकारी अनुसार ३१ साउन सम्ममा महोत्तरी जिल्लामा वाढीले गर्दा २ लाख जनसंख्या प्रभावित भएको छ । ४० हजार घर परिवार बाढीबाट प्रभावित भएका छन् भने ७ हजार ७ सय ६२ जना मानिसहरु बाढीका कारण विस्थापित हुन पुगेका छन् ।
४ जना मानिसको बाढीका कारणले मृत्यु भएको छ भने महोत्तरी प्रहरी र नेपाली सेनाले वाढी बारे पहिले देखि गराएको अलर्टका कारण करिब ४ हजार मानिसहरुलाई उद्धार गर्न सकिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकिय अधिकृत हेम प्रसाद कार्की बताउँछन् ।
कार्कीका अनुसार महोत्तरी जिल्लाको ७० प्रतिशत भुभाग जलमग्न भएको छ भने ३ सय ४७ वटा घरहरु पुर्णरुपले क्षतिग्रस्त भएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका, लोहारपट्टी र भंगहा बाढीबाट अति प्रभावित छन् भने रामगोपालपुर, गौशाला, मटिहानी, पिपरा, एकडारा, महोत्तरी र बल्वा प्रभावित क्षेत्रहरु हुन ।
त्यसैगरी बर्दिवास, मनरा, सोनमा, सम्सी लगायतका गाउँहरु कम प्रभावित क्षेत्र हुन । जिल्लाको रातो, भंगहा, जंगहा, बाँके, विग्ही र गेरुका नदिहरुमा बाँध कटान भएपछि जिल्ला डुवानमा परेको हो ।
वाढीले घर पुर्णरुपले र आंशिक रुपले क्षतिग्रस्त बनाएपछि जिल्लाका विभिन्न गाउँहरुमा ३१ साउनसम्ममा १ हजार ४ सय ५८ जना विस्थापित बाढी पीडितहरु शिविरमा आश्रय लिईरहेको महोत्तरी प्रशासनले बताएको छ ।
एकडारामा ९५ जना, लोहारपट्टीमा १२ सय जना, जलेश्वरको कन्या माविमा १ सय ७ जना, बर्दिवासमा २५ जना र पिपरामा ३१ जना आश्रय स्थलमा आश्रय लिईरहेको महोत्तरीका प्रशासकिय अधिकृत कार्की बताउँछन् ।
पीडितहरुलाई खाने कुराको आवश्यकता वढी देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायत बताउँछन् । सरकारी र निजी स्तरबाट समेत विभिन्न ठाउँमा केही राहत सामग्रीहरु पठाइएको भएपनि त्यो पर्याप्त नभएको उनले बताए ।
‘बाढी पीडितको शिविरमा खाने समस्या देखि लिएर महामारी समेत फैल्न सक्ने जस्ता खतराहरु देखिएको छ’ उनले भने ।
पीडितका लागि खानेपानी समेतको व्यवस्था नहुँदा वाढी पीडितहरुमा मानवीय समस्या देखिनुका साथै वाढी पीडितका साथसाथै बच्चाहरु विरामी पर्न थालेका छन् ।
Advertisment
Advertisment