
कोरोना भाइरस संक्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप सोमवार नेपाल आइपुगेको छ ।
‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एयरवेजबाट सोमवार बिहान आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।
उनका अनुसार सोमवार पनि ३ लाख ४५ हजार ६०० मात्रा खोप आएको हो । यसअघि फागुन १ र फागुन ४ गते ३ लाख ४५ हजार ६०० मात्राका दरले नै खोप आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ ।
नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ ।
सोमवार खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार ८०० मात्रा खोप नेपाल आइसकेको छ । अब ४ लाख ६३ हजार २ मात्रा खोप आउन बाँकी छ । खोप फागुन ११ र १५ गतेमा पनि ल्याइने छ ।
छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो ।