
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरू पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा चिकित्सक पुर्याउने काम गर्ने मन्त्री बस्नेतको योजना छ ।
बिहीवार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै उनले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खट्ने बताए । मन्त्रालयका सम्पूर्ण टीमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको कामकारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतले बताए । उनले स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने बताए ।
मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य सेवाको प्रक्रियालाई पनि सरलीकृत गर्दै हामीले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि चिकित्सकहरूलाई स्थानीय तह, प्रदेश र संघको समन्वयकारी भूमिकामा प्रत्येक ठाउँमा प्रभावकारी ढंगले पुर्याउने भनेको कुरा पनि तपाईंहरूकै भनाइलाई हामीले सम्बोधन गर्न खोजेको हो । त्यसकारण हामी एकीकृत बुद्धि, विवेक र प्रयासबाट यो मन्त्रालयको गतिविधिलाई अगाडि बढाउन सकियोस् । मैले फेरि दोहोर्याउन चाहे – म चाहिँ कम सुते हुने मान्छे, बढी खट्न सक्ने मान्छे । म तपाईंहरू सबैको सुझाव लिएर आफ्नो समय बढीभन्दा बढी यो ठाउँलाई सदुपयोग गरेर म अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु ।’
मन्त्री बस्नेतले १ हप्ताभित्र स्वास्थ्य सामग्रीहरूको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाब दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उनको भनाई थियो ।
मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो भोल्युममा भए पनि त्यसको सदुपयोग हुन नसकेको भन्दै आपत्ति जनाए । उनले भने, ‘अब यो स्वास्थ्य सामग्री जति खरिद भएको छ । यो प्रयोगमा आएको छैन । यो चाहिँ तत्काल कुन–कुन ठाउँमा, कसरी थन्किएको छ ? १ हप्ताभित्र त्यसको हिसाब खोज्नुस् र कुन ठाउँमा बढी आवश्यक छ ? दुर्गम जिल्लाहरूमा त्यो सामग्री नभएको कारणले समस्या परिराखेको छ भने हामीले किन नदिने ? अथवा बिरामीको चाप धेरै भइरहेको हस्पिटलहरूमा हामीले त्यो सामान दिँदा त्यहाँ फाइदा हुन्छ भने किन नगर्ने ? त्यसको सदुपयोग गर्नुपर्यो नि ! मैले बुझेसम्म यो ठूलै भोल्युममा छ ।’
मन्त्री बस्नेतले जनताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर काममा खटिन चिकित्सकहरूलाई समेत सचेत गराएका छन् ।