भदौ २०, २०८०
कोभिडका कारण थला परेको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई चलायमान बनाउन विश्वका धेरै देशले अनेकन रणनीति अघि सारेका छन् । केही महिनाअघि अमेरिका पुग्दा थाहा भयो, न्युयोर्क, कोलोराडो लगायत शहरमा मारिओना फ्री (गाँजा स...
दलको उच्च तहमा कुनै भरपर्दो र बलियो पहुँच नभएको व्यक्ति वा दलको सदस्यले आधिकारिक फोरममा बहस गर्ने हैसियत नराख्दोरहेछ ।
दलले त्यस्ता पात्रहरूलाई ठाडै नजरअन्दाज गर्दा रहेछन् । अनि त्यस्ता पात्रले सार्वजनिक मञ्चलाई बाध्यतावश उपयोग गर्नुपर्दो रहेछ । यो पंक्तिकार यतिबेला त्यही श्रेणीमा पर्छ । त्यसैले इतिहासमै सर्वाधिक संकटबाट गुज्रिरहेको नेपाली कांग्रेस र अरू पुराना राजनीतिक दल समेतका लागि उपयोगी हुन सक्ने ठानेर केही सुझावलाई प्रस्तावको रूपमा सार्वजनिक गर्दा सान्दर्भिक नै होला ।
राजनीतिक दल वा कुनै पनि संस्था पुरानो हुन सक्छ तर बुढो र अशक्त हुँदैन । साथै हुन दिनु पनि हुँदैन । मानिस, पशुपन्छी, वनस्पति सबै बुढा एवं अशक्त हुन्छन् र अन्ततः मृत्युवरण गर्छन् । अहिलेसम्म यसलाई प्राकृतिक नियम मानिन्छ । अजम्बरी कोही छैन । यो दुनियाँ सबैको अस्थायी निवास हो । तर संस्थालाई श्रृष्टिको अविच्छिन्न शृंखलाले बचाउँछ । एउटा गए अर्को आउँछ काँध थाप्न । संस्था टुहुरो बन्न पर्दैन ।
संस्थाको दुरदर्शी नेतृत्वले आफ्नो शेखपछिको समेत उपयुक्त बन्दोबस्त मिलाएर जान्छ । बेलायतमा सन् १८३४ मा कन्जरभेटिभ पार्टी स्थापना भएको हो र सन् १९०० मा लेबर पार्टी । ती पार्टीहरू अहिलेसम्म बुढा र अशक्त भएका छैनन्, झन् खारिएका छन् । भारतीय राष्ट्रिय कांग्रेस नै १८८५ मा स्थापना भएको हो ।
अमेरिकी डेमोक्रेटिक पार्टी सन् १८२८ मा र रिपब्लिकन पार्टी १८५४ मा स्थापना भएका हुन् । ती पार्टी पनि पुराना मात्र भए, अशक्त र रुग्ण होइनन् । नेपालको परिप्रेक्ष्यमा कांग्रेस नै सर्वाधिक पुरानो प्रजातान्त्रिक पार्टी हो । कम्युनिस्ट पार्टी त्यसपछिको हो । कांग्रेसभन्दा पुरानो नेपाल प्रजा परिषदले तत्कालै सान्दर्भिकता गुमाउन पुग्यो ।
नेपालका समकालीन दलहरूको अन्तर्य या गहिराइमा गएर हेर्ने हो भने चाणक्यको भनाइले सबैलाई झस्काउँछ, जो कालजयी र अनुकरणीय छ । दलहरूप्रति वितृष्णा र नैराश्यता आउनुमा यो व्यवहार प्रमुख कारक रहेको छ ।
उनी भन्छन्, हामी हिरालाई शिरमा मुकुट बनाएर लगाउँछौं । हार बनाएर लगाउँछौं । यसको कारण के हो त ? के हिरा सुन्दर भएर मात्र हो ? यो पत्थर हो र कठोर पनि छ । फूल निकै सुन्दर हुन्छ, तथापि कहिलेकाहीँ भुइँमा ओछ्याउँछौं र त्यसमाथि हिँड्छौं किनभने त्यो कोमल छ । हिरामाथि हामी हिँड्न सक्दैनौं ।
यदि हिँड्न खोज्यौं भने हाम्रो बेहाल हुन्छ । त्यसैले हिरालाई मानसम्मानका साथ आभुषणको रूपमा पहिरिन्छौं । हिराजस्तै हो समाजको प्रतिभाशाली व्यक्ति । उसलाई पैतालामुनि दबाउन खोजियो भने तवाही मच्चाउँछ र संस्था वा देश बर्बाद पनि हुनसक्छ । त्यसैले कुनै पनि संस्था, राजनीतिक दल वा देशले मेधावी र प्रतिभाशाली व्यक्तिहरूको उच्च कदर गर्नैपर्छ ।
एउटा कुरा कदापि बिर्सनु हुँदैन कि प्रतिभाशाली व्यक्ति बलशाली घोडा होइन, जसलाई लुरे तर धुर्त मान्छेले लगाम लगाएर आफ्नो स्वार्थ पूरा गरोस् । दलका योग्य, इमान्दार र निष्ठावान सदस्यहरूको अपहेलनाले कसैको हित गर्दैन । तर, विडम्बना यहाँ यस्तो हुँदै आएको छ ।
सम्पूर्ण एकता
अहिलेको प्रथम आवश्यकता दलभित्र सम्पूर्ण एकता हो किनभने हामी इतिहास कै जटिल मोडमा छौं । दल र लोकतन्त्र बचाउन एकता पहिलो शर्त हो । देश र समाजको दुरावस्थाको कारक हाम्रो घरझगडा हो, अन्तरकलह हो ।
कलहकै कारण ०४८ सालको छँदाखाँदाको बहुमतको सरकार ढल्यो र देशले मध्यावधि चुनाव झेल्नुपर्यो । अन्तरकलहकै परिणाम थियो ०५९ को संसद् विघटन र पार्टी विभाजन । यी दुई घटनाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गम्भीर क्षति पुगेको छ । हाम्रा निम्ति त्यो ऐतिहासिक दुर्घटना ठूलो शिक्षा हो । कम्युनिस्ट पार्टीहरूको एकता र विभाजनको छुट्टै शृंखला छ ।
कलहका कारण देश, जनता र हामी स्वयंले ठूलो मूल्य चुकाएका छौं । राष्ट्रको साढे तीनदशक लामो बहुमूल्य समयमा खासै ठूलो उपलब्धि प्राप्त नभई त्यसै खेर गएको छ । त्यसैले इतिहासबाट शिक्षा लिएर हामी जुट्नुको कुनै विकल्प छैन । दलभित्रको वृहत् एकता त्यो पनि व्यवहारबाट प्रदर्शन हुनुपर्छ ।
महान् विचारक, राजनीतिज्ञ तथा कूटनीतिज्ञ चाणक्य भन्छन्, हामीबाट विगतमा भएको भुल वा त्रुटिका आधारमा आफ्नो चरित्रलाई परिभाषित गर्नुहुँदैन । साथै त्यही भुल सम्झेर आत्मग्लानि वा अपराधबोधले झोक्राउनु पनि हुँदैन । भुल वा त्रुटि जोबाट पनि हुन सक्छ । त्यही भुलबाट सिकेर लक्ष्यतर्फ अगाडि बढ्नुपर्छ । अहिले त्यही समय आएको छ ।
विगतका भुलहरूलाई आत्मसात गरी प्रायश्चितका साथ अघि बढ्ने र त्यस्ता भुलहरू दोहोरिन नदिने कुरा नै आजको पहिलो आवश्यकता हो ।
अनुहार सफा गरौं
निकै लामो र कठिन संघर्षको परिणामस्वरूप नेपालमा बारम्बार प्रजातन्त्र आएको हो । यसमा धेरै नेपालीहरूको ठूलो योगदान छ । तर यसलाई सीमित व्यक्तिले दुरुपयोग गरे । यहाँसम्म कि असाधारण योगदान पुर्याउने व्यक्तिहरूको समेत हुर्मत लिइयो र घोर अपमान गरियो जसको क्षतिपूर्ति अब सम्भव छैन । र, कसैले क्षतिपूर्ति मागेको पनि छैन ।
दलका नेताहरूले प्राप्त गरेका अवसरहरूलाई जनहितमा उपयोग गर्नुको सट्टा निजी स्वार्थमा प्रयोग गरे । यसले दलका कार्यकर्ता र जनता समेत ठूलो मारमा परे । नेपालका पुराना राजनीतिक दलका नेताहरूले सर्वप्रथम आफ्नो अनुहार राम्रोसँग नियाल्नुपर्छ र नराम्ररी पोतिएको धूलोमैलो सफा गर्नुपर्छ । ऐना मैलिएको होइन अनुहारमा ध्वाँसो पोतिएको हो । राजनीतिक दल र संस्था आफैंमा दोषी छैनन्, दोष सीमित पात्रको मात्र हो ।
महाभारतमा भगवान् कृष्ण भन्छन्, हातको एउटा औंलामा चोट लागे पनि पीडा पूरा शरीरले झेल्नुपर्छ । परिवारको एउटा सदस्यले बाटो बिराए पनि पूरा परिवारले अवगाल सहनुपर्छ । आज नेपालमा राजनीतिक दलका सीमित नेताहरूले बाटो बिराउँदा सिंगो दल बदनाम छन् । दलका सदस्यहरू समाजमा मुख लुकाएर हिँड्नुपर्ने अवस्था छ । काम बिगार्नेहरूका तर्फबाट पार्टीका निर्दोष कार्यकर्ताले जनतालाई जवाफ दिनुपर्ने स्थिति छ ।
सार्वजनिक समारोहमा पुराना दलका कार्यकर्ताले पाइलापाइलामा निन्दा र अपमान सहनुपर्ने अवस्था छ । यसको कारण कार्यकर्ता होइनन्, केही नेता हुन् । स्वयं दल पनि होइन सीमित पात्र हुन् । यसरी कार्यकर्ता कसरी बाँच्न सक्छन् ? त्यसैले महान् नेपाली जनतालाई जसले बारम्बार मत दिएर दलहरूलाई सत्तामा पुर्याए उनीहरूलाई पत्यार हुने गरी हामीले आफ्नो अनुहार पखाल्नु पर्छ ।
सामूहिक सत्प्रयास
पुराना राजनीतिक दलहरू जनताबाट निकै टाढा पुगेका छन् । युवाहरू भड्किएका छन् । भविष्यको चिन्ताले पिरोलिएका छन् । लामो समय सत्तामा बसेपछि दलहरूभित्र नयाँ आर्थिक वर्गको उदय भएको छ । अर्थात्, केही व्यक्तिको वर्ग रूपान्तरण भएको छ । उसको जीवनशैली फेरिएको छ । र, अवसरबाट वञ्चित कार्यकर्ताहरूको दैनिकी सकसपूर्ण नै छ । झन् धराशायी हुँदै गएको छ । यसको मुख्य कारण हामीले चलाएको शासन व्यवस्था हो ।
बितेका पैँतीस वर्षमा हामीले प्रदर्शन गरेको कार्यक्षमता हो । यसको वस्तुनिष्ठ समीक्षा कहिल्यै गरिएन । ०५१ सालको मध्यावधिपश्चात संसदीय राजनीतिमा विकृतिहरू थपिन वा बढ्न थालेको कुरा यो पंक्तिकार समेतका अग्रणी विद्यार्थी नेताहरूले राजधानीमा आयोजना भएको एक सार्वजनिक कार्यक्रममा खबरदारीस्वरूप प्रस्तुत गरेको घटना आज पनि स्मरण हुन्छ ।
देशमा सुशासनका लागि शून्य भ्रष्टाचार प्राथमिक शर्त हो । तत्कालीन समयमा शासन प्रणालीमा देखा परेका विकृतिहरूलाई नियन्त्रण गर्न सकेको भए वा बढ्न नदिएको भए आजको दुरावस्था निम्तिने नै थिएन । यसमा हामीले होश पुर्याउन सकेनौं । तसर्थ यतिबेला सुविचारित भएर सोच्ने, विगतको सिंहावलोकन गर्ने र दल तथा प्रणाली सुधारका लागि सत्प्रयास गर्ने कार्य आजको प्रथम आवश्यकता हो । यसमा सरकार र दल दुवै दत्तचित्त भएर लाग्नुपर्छ ।
दलको हकमा सुधारका विभिन्न वैधानिक विकल्पहरू छन् । त्यसमध्येको उपयुक्त विकल्प प्रयोग नगरी सुखै छैन । यसमा अब किन्तु परन्तु चल्दैन । यसका लागि दलकै अगुवाहरूको अग्रसरता चाहिन्छ ।
०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा राजनीतिक दलहरूले नागरिक समाजको अघिल्तिर बसेर विगतका गल्ती कमजोरीप्रति क्षमा माग्दै अब आइन्दा कुनै गल्ती नगर्ने संकल्प गरेपछि बल्ल आन्दोलनले गति लिएको थियो । अब त्यस्तो हुन्छ, हुँदैन थाहा छैन, तर एउटा गम्भीर सत्प्रयास भने गर्नैपर्छ ।
कोभिडका कारण थला परेको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई चलायमान बनाउन विश्वका धेरै देशले अनेकन रणनीति अघि सारेका छन् । केही महिनाअघि अमेरिका पुग्दा थाहा भयो, न्युयोर्क, कोलोराडो लगायत शहरमा मारिओना फ्री (गाँजा स...
सुकरातको मुद्दा, उनको मृत्यु र अद्भूत विचार शीर्षकको पुस्तकमा उनका आत्माकथाकार प्लेटोले उल्लेख गरेका थिए, मोटो ओठ र थेप्चो नाक भएको कुरूप अनुहारको मान्छे इसापूर्व चौथो शताब्दीतिर युनानको एथेन्स नगरको सडकमा घुमि...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...
विज्ञान र सूचना प्रविधिमा आएको तुफानी क्रान्तिले भविष्यमा मान्छेको प्रजाति पनि प्रविधिमय बन्नेछ । आधुनिक मिडियालाई परम्परागत भन्दै न्यु मिडियामा आकर्षित मान्छे विस्तारै हजारौं, लाखौं माइलको फिजिकल यात्राका रोमाञ्चक...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
पाँच हजार वर्षअघि मेशोपोटामियाबाट शुरू भएको पुस्तकालय अभियानको पहिलो स्वरूप ईशापूर्व सातौं शताब्दीमा असुरबानिपालका समयमा स्थापित पुस्तकालयमा देखिन्छ । उतिखेर आसिरियन सम्राटले राजकीय अभिलेख, विभिन्न स्वरूपका प...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...