२२ असार २०८३, सोमबार
भारत भ्रमण

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रू’ भयो : प्रधानमन्त्री प्रचण्ड

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रू’ भयो : प्रधानमन्त्री प्रचण्ड

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् ।

नयाँदिल्लीस्थित आफू बसेको होटल आईटीसी मौर्यमा शुक्रवार बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रू’ भएको बताए ।
 
नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि २ देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलविद्युत् क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

‘जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ,’ उनले भने, ‘नेपालको विद्युत् बंगलादेशसम्म निर्यात गर्नका लागि महत्त्वपूर्ण सहमति भयो ।’
 
महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि ३ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने विषयमा २ देशबीच सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । ‘यी लगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्त्वपूर्ण रह्यो, प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३ पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो,’ उनले भने ।
 
सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले बताए । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौं भनेर आफूले प्रस्ताव गरेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा २ देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरवलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
 
प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा छन् । भ्रमणका क्रममा बिहीवार प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड शुक्रवार मध्य प्रदेशको इन्दोर जाने कार्यक्रम छ । त्यहाँ रहँदा उनले मध्य प्रदेशका राज्यपालसँग भेटवार्ता तथा फोहोर व्यवस्थापन अभ्यासको अवलोकन गर्ने कार्यक्रम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्