१२ साउन २०८३, मंगलबार

निःशुल्क संकलित रगतमा व्यापार– झन् अतिरिक्त मूल्य तिर्नुपर्ने बाध्यतामा बिरामी

भदौ १, २०८०
काठमाडौं
निःशुल्क संकलित रगतमा व्यापार– झन् अतिरिक्त मूल्य तिर्नुपर्ने बाध्यतामा बिरामी

दाताले निःशुल्क दान गरेको रगतमा व्यापार हुँदा बिरामीहरू मर्कामा परेका छन् । लुम्बिनी प्रदेश सरकारले बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भने पनि बिरामीले झन् बढी मूल्य तिर्नुपर्ने अवस्था छ ।

‘ब्लड बैंक’बाट रगत किन्न प्रतियुनिट ७२५ मूल्य पर्दै आएकोमा अहिले बढाएर ९५० रूपैयाँ तिर्नुपर्ने अवस्था आएको छ । दाङमा एक युटिन रगतको १००० रुपैयाँ तिनुपर्ने अवस्था छ । 

प्रदेश सरकारले सरकारी अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि निःशुल्क रगतको व्यवस्था गर्ने भने पनि बिरामीहरू २२५ रूपैयाँ बढी तिर्न बाध्य भएका छन् । 

प्रदेश सरकारको नीतिले बिरामीभन्दा नेपाल रेडक्रस सोसाइटीलाई फाइदा हुने स्थिति छ । रगत संकलन र वितरण गर्दै आइरहेको रेडक्रस सोसाइटीअन्तर्गतको रक्त सञ्चार केन्द्र (ब्लड बैंक) ले विभिन्न चेकजाँच र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रगतको मूल्य वृद्धि गरेको बहाना बनाएपछि बिरामी ३० प्रतिशतसम्म बढी मूल्य तिर्न बाध्य भएका हुन् ।

प्रदेश सरकारले भने सरकारी अस्पतालसँग निःशुल्क भनिएको रगतका लागि ९५० रूपैयाँ बुझाउने गरेको छ । सरकारी अस्पतालमा उपचार गर्ने बिरामीले निःशुल्क रगत पाउने तर, निजी अस्पतालमा उपचाररत बिरामीले झनै बढी रकम तिर्नुपर्ने अवस्था व्यावहारिक नभएको भन्दै विरोध भइरहेको छ ।

प्रायः दुर्घटना, शल्यक्रिया, प्रसुती, क्यान्सर, रक्तश्राव, कलेजो बिग्रेका, थेलेसिमिया, ल्युकेमिया, हेमोफिलिया, मृगौलाको डाइलाइसिसका बिरामीलाई रगत र रक्ततत्त्व आवश्यक पर्छ ।

रगतमा सेवा शुल्क वृद्धि गरिएपछि स्वयंसेवी रक्तदाताले निःशुल्क दान गरेको रगत बिक्री भइरहेको भन्दै रक्तदाताहरूले विरोध गरेका छन् ।

गत वर्ष लुम्बिनी सरकारले सरकारी अस्पतालमा उपचार गर्ने बिरामीहरूलाई मात्रै निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले मनोमानी रूपमा निःशुल्क उपलब्ध गराएको रगतको मूल्यवृद्धि स्वीकार नभएको बताउँदै निरन्तर खबरदारी गर्दा समेत सुनुवाइ नभएको बताए । 

‘हामी स्वयंसेवी रक्तदाताहरूले निःशुल्क दान गरेको रगत तथा रक्ततत्त्वलाई मूल्यमा बिक्री गरेको हामी टुलुटुलु हेरेर बस्ने छैनौं,’ चौहानले भने, ‘रक्तदान अभियान संवेदनशील विषय हो, राज्य र सरोकारवाला संस्था यसमा गम्भीर हुनैपर्छ । एकातिर प्रदेश सरकारले निःशुल्क रगत भन्दै घोषणा गर्ने, अर्कातिर रगतको मूल्यवृद्धिको घोषणा गर्ने यो दोहोरो कुरा किन भैराखेको छ ।’

एकजना दाताले दिएको ब्लडबाट प्याक सेल, पीआरपी, एफएफपी र प्लेटलेट्स गरी चार वटासम्म रक्ततत्त्व तयार पार्न सकिन्छ । 

नेपाल रेडक्रस सोसाइटीले प्रत्येक रक्ततत्त्व लागि विभिन्न परीक्षणका नाममा ९५० रूपैयाँसम्म शुल्क लिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पठाएको दररेट अनुसार बुटवलस्थित ब्लड बैंकले यहाँ जाँच गरिने विधिअनुसार ८५० रूपैयाँभन्दा बढी लिन मिल्दैन । तर ‘ब्लड’ बैंकले ९५० रूपैयाँ लिँदै आएको छ । 

नेपाल रेडक्रस सोसाइटी, रूपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले बढ्दो महंगीकै कारण रगतको मूल्य ९५० पुगेको बताए ।

‘हामीले रूपन्देही र कपिलवस्तुका ५ वटा पालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँछौं,’ न्यौपानेले भने, ‘अन्य जिल्ला र पालिकाका प्राइभेट अस्पतालमा उपचार गराइरहेका बिरामीले ९५० तिर्नुपर्छ । पालिका र प्रदेश सरकारले हामीलाई तत्काल पैसा दिँदैनन् ।’

राष्ट्रिय रक्तसञ्चार नीति अनुसार रक्तसञ्चार सेवा लागत परिपूर्ति हुने किसिमले मात्र शुल्क लिनुपर्ने व्यवस्था छ । त्यसमा विपन्न नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि रेडक्रसले कार्यान्वयन गरेको पाइँदैन । 

लुम्बिनीमा कूल बिरामीको ६५ प्रतिशत निजी अस्पतालमा उपचार गर्छन् । त्यस्तै मिर्गौलाको डाइलाइसिस गर्नुपर्ने बिरामीहरू पनि निजी अस्पतालमा धेरै छन् । जसलाई सरकारी अभियानले छुन सकेको छैन ।

रूपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवास्थित भीम अस्पताल छन् । जिल्लामा दैनिक १०० युटिन रगत आवश्यक पर्ने न्यौपानेको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले प्रदेशभरका जुनसुकै अस्पतालमा उपचार गराइरहेका बिरामीले पनि निःशुल्क रगत पाउने व्यवस्था गरेको छ ।

लुम्बिनीमा सरकारी अस्पतालमा निःशुल्क रगतको अवधारणा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले शुरूआत गरेका थिए ।

बिरामीलाई रगत महंगो हुन पुगेको भन्दै रक्तदानमा लागेका युवाहरू सामुदायिक ब्लड बैंक खोल्ने तयारीमा लागेका छन् ।

नेपाल रेडक्रस सोसाइटी दाङका अध्यक्ष मदन गौतमले प्रदेशले सरकारी अस्पतालका बिरामीलाई निःशुल्क र प्राइभेट अस्पतालका बिरामीलाई पैसा लाग्ने नीति व्यवहारिक नदेखिएको बताए ।

‘दाङमा घोराही, तुलसीपुर र लमहीमा गरेर तीनवटा ब्लड बैंक छन्,’ गौतम भन्छन्, ‘रेडक्रसले रगत व्यवस्थापनको गरिरहेको छ । बिरामीलाई हामीले रगत अभाव हुन दिएका छैनौं । रगत जाँचको सबै पैसा दिए हामी आवश्यक सबै निःशुल्क गर्न तयार छौं ।’ 

होल ब्लड बिरामीलाई चढाउँदा प्लाज्मा, प्लेटलेट्सबाहेकका अन्य बिरामीलाई प्रयोग गर्न सकिने रक्ततत्त्व खेर जान्छन् । रक्ततत्त्वबाट औषधि बनाउन सकिन्छ । 

संकलित रगतमध्ये झण्डै ३० प्रतिशत जति ‘ब्लड’ खेर जाने गरेको देखिन्छ । धेरैजसो जिल्लामा प्रायः रगतको अभाव भइरहेको पाइन्छ । 

रगत व्यवस्थापनमा रक्तसञ्चार केन्द्र र अस्पतालहरूबीच पनि समन्वय भएको देखिँदैन । भर्ना भएका बिरामीलाई रगत आवश्यक परेमा बिरामी आफैं वा आफन्त दौडिनुपर्ने अवस्था छ । ब्लड बैंकदेखि अस्पतालसम्म रगत पुर्‍याउँदा भण्डारको मापदण्ड पनि पालना हुँदैन । 

आफूलाई चाहिने ग्रुपको रगत ब्लड बैंकमा छ कि छैन भन्ने बिरामीले जानकारी पाउँदैनन् । ब्लड बैंकमै पुगेर बुझ्नुपर्ने अवस्था छ ।

बुटवलमा नियमित रक्तदाताहरूले रगत नपाए बुटवल जानु भन्ने अभियान चलाएका छन् ।

नेपाल नियमित रक्तदाता संघका केन्द्रीय उपाध्यक्ष महेश खनालले निःशुल्क दिएको रगत सबै बिरामीमाझ कुनै शुल्क नलागी पुग्ने व्यवस्था मिलाउनु राज्यको दायित्व भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्