२३ जेठ २०८३, शनिबार

राप्ती उपत्यकावासीको पीडा– प्रदेश राजधानीका नाममा जनताको सम्पत्ति बन्धक

असोज २१, २०८०
बुटवल
राप्ती उपत्यकावासीको पीडा– प्रदेश राजधानीका नाममा जनताको सम्पत्ति बन्धक

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका दाङलाई कायम गर्ने निर्णय प्रदेश सभाले गर्दा सबैभन्दा खुशी कोही थियो भने राप्ती गाउँपालिका– २ लालमटियाका सुरज खड्का थिए ।

हाडवेयर व्यवसायी खड्कालाई सामुन्नेमा राजधानी आएपछि त्यसको लाभ मिल्ने र दुःखका दिन सकिने आश लागेको थियो । तर, यस्तो आशा धेरै दिन टिकेन । राजधानी घोषणा भएपछिको निर्णयबाट उल्टै उनका दुःखका दिन शुरू भए । राजधानी घोषणापछि जग्गाको सबै कारोबार प्रदेश सरकारले रोक्का गरिदियो । जग्गा फुकुवा संघर्ष समितिका अध्यक्ष खड्काले राजधानी बन्ने निर्णयसँगै आफूहरू दोहोरो मारमा परेको बताए ।

‘राजधानी आएपछि भालुवाङ क्षेत्रमा जनता बन्धक बने,’ खड्का भन्छन्, ‘जग्गा रोक्का गरिएको अहिले ३८ महिना पुग्यो । हामीले पटक–पटक भन्यौं, हुन्छ भन्छन्, तर काम गर्दैनन् । यसले यहाँ जनतालाई व्यापार व्यवसायदेखि घरजग्गा किन्न बेच्न, वैदेशिक रोजगारमा जानदेखि वैदेशिक अध्ययनमा गर्न जान समेत यहाँका बासिन्दाले पाएका छैनन् ।’

गडवा गाउँपालिका– ६ का स्थानीय खिमबहादुर बुढाले राजधानी आउँदा जनता दण्डित हुनुपरेको बताए । पारिवारिक रूपमा अहिले आर्थिक संकट झेल्नुपरेको उनको गुनासो छ ।

‘वर्षौंदेखिको यस्तो कुनै आर्थिक गतिविधि गर्नबाट टाढा बस्दा बेहोरेको दुःख बयान गरेर साध्य छैन,’ साना व्यवसायी समेत रहेका उनी भन्छन्, ‘अझ गरीब परिवारका केटाकेटीको संकटको पहाड थपिएको छ । आमनागरिकको दैनिक जीवनमा ठूलो मर्का परेको छ ।’ 

२० असोज २०७७ मा प्रदेशसभाले भालुवाङमा राजधानी रहने घोषणा गरेको थियो भने २८ मंसिर २०७९ देखि औपचारिक रूपमा कार्यान्वयनमा आएको थियो । प्रदेश सरकारले ल्यान्डपुलिङ गर्ने भनेर तीन वर्षभन्दा बढीदेखि राजधानी पर्ने क्षेत्रहरू राप्ती गाउँपालिकाका ९ वटै वडाहरू, गडवा गाउँपालिकाका वडा नम्बर १, २, ३ र अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नम्बर ८ र ९ लाई रोक्का गरेर राखेको छ ।

‘कि उचित मुआब्जा दिनुपर्छ, कि त जग्गा फुकुवा गर्नुपर्छ । कति दिन हामीलाई यसरी झुलाएर राख्ने हो ?’ भालुवाङकी स्थानीय सुमिता थारूले भनिन्, ‘धितो राखेर विदेश जान खोजेको दुई वर्ष भयो । तर, न जग्गा धितो राख्न पाएका छौं, न त बिक्री गर्न नै, अझै पनि प्रदेश सरकारले हाम्रो समस्या सुनुवाइ गरेको छैन । कहिलेसम्म सहनु ?’ मुख्यमन्त्रीसहित दाङबाटै तीनजना मन्त्रीले सरकारमा प्रतिनिधित्व गरे पनि जनताका गुनासोप्रति कुनै चासो नदिएको स्थानीयले बताए ।

किन रोक लगाइएको थियो जग्गा ?

राजधानीका नाममा जग्गा कारोबारीहरू सलबलाउने र भू–माफियाले चलखेल गर्न सक्ने भन्दै तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा जग्गा किनबेच तथा कित्ताकाटमा रोक लगाइएको थियो । स्थानीय जनतालाई जग्गा किनबेच गर्न पनि रोक लगाइँदा आफूहरूलाई समस्या भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । लामो समयदेखि जग्गा रोक्का हुँदा दैनिक जीवनयापनसहित उद्योग, व्यापार सञ्चालनमा समस्या भएको छ । 

त्यस्तै अंशबण्डा तथा बैंक एवं वित्तीय संस्थाबाट कुनै पनि प्रकारको ऋण लिन समस्या भएको छ । आर्थिक गतिविधि ठप्प भएपछि घरव्यवहार समेत लथालिङ्ग भएको छ । राजधानी घोषणापछि त्यस क्षेत्रलाई सरकारले स्मार्ट सिटी बनाउने, ल्यान्ड पुलिङ गर्ने भने पनि कुनै पनि काम अघि बढेका छैनन्, जसले गर्दा राप्तीबासी जनता अहिले खुशीभन्दा दुःखी देखिन्छन् । जग्गा रोक्काले राप्ती गाउँपालिकामा ५२ हजार, शीतगंगगाका १ हजार २०० सय र गडवाका १ हजार ५०० नागरिक समस्यामा परेको छन् । 

null

जग्गा खुला गरिए पनि कित्ताकाँट खुलाउँदैनौंः सरकारका प्रवक्ता पाण्डेय

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयले अब बस्ने मन्त्रिपरिषद् बैठकले कित्ताकाट गर्न नपाउने गरी जग्गा फुकुवा गर्ने तयारी गरेको बताए ।

‘यति लामो समयसम्म जग्गा रोक्का हाम्रो लागि गरिएको होइन,’ प्रवक्ता पाण्डेयले भने, ‘भालुवाङलाई स्मार्ट सिटी बनाउनका लागि हो । जग्गा फुकुवा गरेपछि यहाँ चलखेल हुन्छ । स्मार्ट सिटी बनाउने कामलाई त्यसले अवरोध गर्छ भनेर ढिला गरिएको हो । राम्रो कामका लागि ढिलाइ हुँदै सरकारलाई गाली गर्ने होइन ।’

स्मार्ट सिटी बनाउने कामका लागि यो वर्ष प्रदेश सरकारले झण्डै १ अर्ब रूपैयाँ बजेट राखेको छ । भालुवाङ जैविक विविधता रहेका क्षेत्र हो । ‘हामीले विकास रोक्न खोजेका होइनौं, जनतालाई फाइदा पुग्ने गरी सन्तुलित र दीर्घकालीन विकास हुनुपर्छ भनेका हौं,’ प्रवक्ता पाण्डेयले थपे, ‘पर्यावरणलाई ध्वस्त पारेर गरिने विकासले हित गर्दैन ।’

null

राजधानीले चहलपहल र बस्ती बाक्लिन थाले 

राजधानी भएको क्षेत्र पूर्वपश्चिम राजमार्गको काखैमा छ । भौगोलिक हिसाबले समथर भूभाग भएकाले भविष्यमा विस्तार गर्न सकिने पर्याप्त क्षेत्र र पूर्व तथा पश्चिम दुवैतिरका मुलुकको उपयुक्त देखिएपछि यहाँ बसाइँसराइँ पनि बढ्दो छ ।

‘यो ठाउँ त हामीले लक्कीली पाएका हौं, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भने, ‘अहिले राजधानी क्षेत्रमा भविष्यमा ठूलो शहर बन्नेछ । तर, प्रदेश सरकारले जग्गाको रोक्का गर्दा समस्या धेरै देखिएको छ ।’ 

देउखुरीलाई भरपर्दो बनाउने हो भने पर्यटन उद्योगले नै मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने छ । साथै थप टेवा दिने तर्क सरकारी अधिकारीहरूको छ । यति महत्त्वपूर्ण ठानिएको मुलुकमध्ये भागमा रहेको राजधानी सँगै अब स्मार्ट सिटी निर्माण शुरू निर्माणको कामलाई पनि सरकारले अघि बढाउनुपर्ने अध्यक्ष विष्टको तर्क छ । सरकारले राजधानी घोषणाअघि यो क्षेत्रमा जग्गा रोक्का हुन्छ भन्ने कुरा घोषणा गर्न चाहेन, जसले गर्दा पालिकाहरूको राजस्व संकलनमा पनि असर गरेको छ । 

null

ल्यान्डपुलिङ गर्ने योजना

देउखुरी क्षेत्रको विकासमा चासो रहेको दाबी सबैले गरे पनि यसलाई सतही ढंगले बुझ्न र व्याख्या गर्न खोज्ने प्रवृत्ति देखिन्छ । सरकारले पनि अहिलेसम्म ल्यान्डपुलिङदेखि राजधानी विकासको कामबारे स्थानीय बासिन्दालाई लाभ र क्षतिका विभिन्न आयामका कुरा बुझउने प्रयास गरेको छैन ।

जग्गा फुकुवा गर्न पटक–पटक दबाबमूलक कार्यक्रम भएका थिए । राप्ती उपत्यकाभित्र ककरीब दश हजार विगाह जग्गा रहेको छ । प्रदेश राजधानी जग्गा एकीकरण आयोजनाका प्रमुख शंकर सुवेदीले अहिले एक हजार विगाहा जग्गामा मात्रै ल्यान्ड पुलिङ अर्थात् जग्गा विकास कार्यक्रम लागू गरिएको जानकारी दिए ।

नदी सभ्यतामा आधारित विकसित राजधानी शहर निर्माणका लागि गुरुयोजना निर्माण गरी मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । गरूयोजनाअनुसार काम गर्न जग्गा एकीकरणसम्बन्धी नियमावली– २०७९ स्वीकृत गरी कार्यान्वयन भएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्