
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्यालेस्टाइनी हमास समूहको आक्रमणबाट घाइते भएका ४ जना नेपालीको अवस्थामा सुधार भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
शनिबार भएको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको दूतावासले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
यस्तै हराइरहरेको एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा तीब्र पारिएको दूतावासले जनाएको छ। हमासको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएका थिए ।
००००
इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा कार्यरत सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको दूतावासले जनाएको छ ।
यसैगरी उत्तरी सिमाना आसपासमा उद्दारको पर्खाइमा रहेका थप ७२ जना समेत कुल १२७ नेपाली विद्यार्थीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ ।
००००
परराष्ट्रमन्त्री एनपी साउदले इजरायली समकक्षीसँग टेलिफोन संवाद गरेका छन् । मंगलबार आफ्ना समकक्षीसँग टेलिफोन संवाद गर्दै साउदले हालको कठिन समयमा नेपाल इजरायलको साथमा रहेको जनाएका छन् ।
सो क्रममा उनले निधन भएका नेपालीहरूको शव स्वदेश ल्याउन, नेपालीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरूलाई सहजीकरण गर्ने विषयमा इजरायली समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो क्रममा इजरायली परराष्ट्रमन्त्रीले यस विषयमा नेपाललाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
००००
मन्त्रालयले हालसम्म उद्धार हुन तथा नेपाल फर्कन चाहने ३२४ जना नेपाली नागरिकहरूले राजदूतावासको अनलाइन रजिस्ट्रेसन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । विवरण दिने मध्ये २८८ जनाले नेपाल फर्कन र ३६ जनाले मात्रै स्थानान्तरण हुन चाहेको बताएको मन्त्रालयले जनाएको छ । यसआधारमा प्रभावित क्षेत्रबाट स्थानान्तरण भन्दा स्वदेश नै फर्किन चाहने नेपालीको संख्या अधिक देखिएको छ ।
शनिवारको आक्रमणमा निधन भएका १० जना नेपालीहरूको शव नेपाल ल्याउनका लागि इजरायल सरकारका विधि विज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउने गरी कार्य प्रक्रिया सुरु भइसकेको पनि मन्त्रालयले जनाएको छ ।
००००
मधेस प्रदेश सरकारले इजरायलमा प्यालेस्टाइनी हमास समूहले गरेको आक्रमणमा निधन भएका मधेस प्रदेशका आनन्द साहको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने भएको छ ।
मधेस प्रदेशम मुख्यमन्त्री सरोज कुमार यादवले एक वक्तव्यमार्फत यसबारे जानकारी गराएका हुन् ।
००००
सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो ।
००००
भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि झापाको हल्दिबारीमा खटिएका राष्ट्रिय भूमि आयोगमा कार्यरत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
००००
डेंगु भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म)मा घटेको पाइएको हो ।
००००
संसद् मातहत गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेल मिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिका सदस्य एवं उपसमितिका संयोजक रमेश लेखकले समितिका सभापति विमला सुवेदीसमक्ष उक्त प्रतिवेदन बुझाएका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ०६ अङ्कले घटेर १ हजार ८ सय ८९ दशमलव ५९ को विन्दुमा कायम भएको छ।
००००
बाँकेको नेपालगञ्जमा विगत एक सातादेखि जारी कफ्र्यु र निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार सूचना जारी गर्दै कफ्र्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जनाएको छ ।
००००
१९औं एसियाली खेलकुद (एसियाड)मा पदक विजेता नेपाली खेलाडी, प्रशिक्षक र अफिसियल टोली स्वदेश फर्किएका छन् । उनीहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।
००००
परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।
इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन् ।