मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडाैं | मंसिर ६, २०८०
यसअघि पनि दल वा समूहका नाममा जनप्रदर्शनका थुप्रै कार्यक्रम भएका छन् । तर, कार्यक्रमपूर्व त्यस्ता प्रयासले धेरै चर्चा पाउँदैनथे । तर, विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बिहीबार काठमाडौंमा गर्न लागेको कार्यक्रमले भने सरकार, सुरक्षा संयन्त्रदेखि जनमानसलाई नै तरंगित बनाइदिएको छ ।
घर–घर र नागरिक तहसम्म सदस्यता र सञ्जालले जोडिएका दलको कार्यक्रमभन्दा यतिखेर धेरैको मुखमा प्रसाईंले गर्ने भनेको प्रदर्शन कस्तो होला भन्नेमा छ । उनले मंसिर ७ गते के गर्लान् भन्ने कौतूहलता पनि छ । यसअघि आफ्नो कुनै स्वतन्त्र संगठित शक्ति र समूह नभएका प्रसाईंले यतिखेर देशलाई नै तरंगित बनाएका छन् ।
उनले कार्यक्रम घोषणा गरेकै दिन अर्थात ७ मंसिरमै एमालेको युवा संघ र अनेरास्ववियुले काउन्टर प्रदर्शन गर्न लागेका छन् । प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ’ महाअभियान नेपालको नाममा प्रदर्शन गर्न लागेका हुन् ।
प्रसाईंको कार्यक्रम तय भएपछि उनलाई काउन्टर दिन एमालेका युवा तथा विद्यार्थी संगठन अघि बढेका छन्, जसका कारण प्रसाईंको कार्यक्रमले झन् बढी भाउ पाएको छ । यो कार्यक्रम दुर्गा प्रसाईं भर्सेस महेश बस्नेतजस्तो देखिएको छ ।
प्रसाईंले संविधान, गणतन्त्र र संघीयताविरोधी अभियान अगाडि सारेको आरोप युवा संघ र अनेरास्ववियुको छ । यसैले पार्टीको निर्देशनानुसार नै यी दुवै संगठनले संविधान, गणतन्त्र र राष्ट्रिय सुरक्षा भन्दै प्रदर्शन गर्न लागेका हुन् ।
अध्यक्ष केपी ओलीले देशमा बढ्दो बेथिति, भ्रष्टाचार र कुशासन हेरेर बस्न नसक्ने भन्दै देशको अप्ठ्यारो परिस्थिति देखाउन लागेको बताएका थिए ।
‘मंसिर ७ गत एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोडतोडले लागेका छन् भन्ने सुनेको छु । व्यक्ति वा मानिसहरू काठमाडौंमा उतार्नका लागि उनीहरू लागेका छन् । ती मानिसहरू आएर काठमाडौंमा केही हुने होइन, तिनले काठमाडौंमा फोहोर मात्रै गर्ने हुन्,’ पार्टी जनसंगठन संयन्त्रले गत शनिबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले भनेका थिए, ‘७ गते हामी अलिकति थोरै के देखाउन चाहन्छौं भने देशको परिस्थिति अप्ठ्यारो छ । बिग्रँदो छ । त्यसलाई रोक्ने दिशामा नेकपा एमाले अगाडि बढ्छ । हामी बेथिति, कुशासन, भ्रष्टाचार र तस्करी चुपचाप हेरेर बसिरहन सक्दैनौं ।’
उनकै भनाइले पनि प्रसाईंविरुद्ध कार्यक्रम गर्न पार्टीले नै युवा संघ र अनेरास्ववियुलाई खटाएको बुझ्न गाह्रो छैन । ओलीले प्रतिक्रियावादी शक्तिले प्रसाईंलाई उचालेको बताएका थिए ।
एमाले सचिव योगेश भट्टराई बैंकको ब्याज नतिर्ने र व्यवस्थाविरोधी कुरा गर्ने व्यक्तिसँग एमालेको तुलना नहुने बताउँछन् । ‘हामीसँग प्रसाईंको विषय, एजेन्डा, बाटो, विचार केही पनि मिल्दैन । हामी पार्टी हौं, तर उनी व्यक्ति हुन्,’ भट्टराई भन्छन्, ‘हामी देशमा गणतन्त्र, संघीयताजस्ता परिवर्तन ल्याउन लड्यौं । तर, उनी बैंकको ब्याज नतिर्न आन्दोलनमा छन् । गणतन्त्र र संघीयता फाल्ने, नेतालाई जेल कोच्नुपर्नेजस्ता अराजक मागसँग हाम्रो कुनै प्रतिस्पर्धा छैन ।’
व्यवस्थाविरुद्ध प्रसाईंले गर्न लागेको अनर्गल प्रचारविरुद्ध, सरकारको कमजोरीविरुद्ध जनतालाई बुझाउन आफूहरूले कार्यक्रम गर्न लागेको उनी बताउँछन् ।
‘व्यवस्था आफैंमा गलत होइन, तर प्रसाईंजस्ता व्यक्तिले व्यवस्थालाई दोष दिँदै अराजकता मच्चाउन खोजेका छन् । त्यसैले सरकारलाई ध्यानाकर्षण गराउन र नागरिकप्रति उत्तरदायी बन्न ७ गते कार्यक्रम गर्न लागेका हौं,’ भट्टराई भन्छन्, ‘यतिखेर सरकार, राजावादी, अराजक भीड र मिडियाको निशानामा प्रतिपक्षी एमाले परेको छ । यसविरुद्ध हामीले सन्देश दिन खोजेका हौं ।’
अर्का युवा नेता एवं सांसद ठाकुर गैरे पनि निराश जनतालाई आशावादी बनाउन एमालेका युवा र विद्यार्थी संगठनले कार्यक्रम गर्न लागेको बताउँछन् । यसैले दुर्गा प्रसाईंको आचरण र व्यवहारलाई हेरेर टिप्पणी गर्न आवश्यक नहुने उनको भनाइ छ ।
युवा संघ र अनेरास्ववियुले तस्करी, महंगी, भ्रष्टाचार र समाजमा अराजकता फैलाउन खोज्नेहरू एवं सरकारको लाचारीविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्न लागेको हो । उपत्यकाभित्र सधैं दर्जनौं कार्यक्रम हुन्छन् । कहाँ कसले के गरेको छ भन्नेमा हाम्रो चासो छैन,’ गैरे भन्छन्, ‘हामीले जनताको निराशालाई आशामा बदल्ने अभियानसहित कार्यक्रम गर्न लागेका हौं । त्यसैले उनीसँग जोडेर कार्यक्रम गरेको भन्ने बुझ्नु नै गलत छ । प्रसाईंको आचरण र व्यवहार हेर्दा उनी कस्ता हुन् भन्ने धेरैले बुझेका छन् । यसैले प्रसाईंबारे टिप्पणी गर्नु नै बेक्कार छ ।’
राजनीतिक विश्लेषक कृष्ण पोखरेल अराजक प्रवृत्तिका प्रसाईंलाई बेवास्ता गर्नुपर्नेमा एमालेले बढी भाउ दिएको बताउँछन् ।
‘व्यवहार र शैली हेर्दा प्रसाईंलाई एमालेले आयो/गयो भनेर हेर्नुपर्थ्यो । तर, गम्भीरतापूर्वक लिएर उसको महत्त्व झन् बढाइदिने काम गरेको जस्तो मलाई लाग्छ । उनको क्षमताभन्दा बढी मौका दिने पार्टी पनि एमाले नै हो,’ पोखरेल भन्छन्, ‘उनी महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न चाहन्थे, तर पछि मनोनीत गरे । माओवादीको मेख मार्न ओलीले आफूतिर च्यापे तर, अचेट्न सकेनन् । एमालेले केटाकेटी खेलेकोजस्तो गरिरहेको छ । उनको महत्त्वाकांक्षा बढेर जाँदा एमालेले बढी नै भाउ दिएको परिणाम अहिले देखिँदैछ ।’
को हुन् दुर्गां प्रसाईं ?
झापाका प्रसाईंको विगत एकनासको छैन । माओवादी जनयुद्धमा होमिएको बताउने उनी प्रचण्डदेखि केपी ओलीसम्मको विश्वास पात्र बन्न सबैखाले हर्कत गरेर चर्चामा आए । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई २०७४ फागुन ६ गते मार्सी चामलको भात खुवाए । त्यसपछि उनी दुर्गा प्रसाईं होइन मार्सी नामले चर्चित बने । त्यसपछि आफ्नो व्यवसाय र मेडिकल कलेजको सम्बन्धनका लागि दुवै दलसँग नजिक भएर स्वार्थ पूरा गर्न लागे ।
बैंकसँग अर्बौं रुपैयाँ ऋण लिएर संरचना बनाएको मेडिकल कलेजलाई सम्बन्धन दिलाउन उनले प्रचण्डदेखि ओलीसम्मलाई खुशी बनाउन खोजेका थिए । तर, उनको मनोकांक्षा पूरा भएन । ओलीको विश्वास जित्न उनले कुनै कसर बाँकी राखेनन् । हजुरबा भनेर पुकारिरहे ।
माओवादीको मेख मार्न ओलीले प्रसाईंलाई आफूतिर ल्याएका थिए । २०७८ असोजमा ललितपुरको गोदावरीमा भएको विधान सम्मेलनमा प्रसाईंलाई पार्टी सदस्य नै नभइन प्रतिनिधि बनाइएको थियो । उनी २०७८ मंसिर २६ गते एमालेले उनलाई केन्द्रीय सदस्य मनोनीत गर्यो । एमाले केन्द्रीय सदस्य भए पनि प्रसाईंले न मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सके, न पार्टीसँग सम्बन्ध राम्रो बनाउन सके ।
माओवादी र एमालेबाट कुनै पार नलाग्ने भएपछि पूर्वराजा उनको रोजाइमा पर्न पुगे । अब कहिल्यै कम्युनिस्ट पार्टीमा नलाग्ने भन्दै उनले पूर्व राजालाई बोक्ने, गणतन्त्र र संघीयताविरुद्ध आक्रामक हुने नीति लिए । पूर्व राजालाई अतिथि बनाएर झापामा कार्यक्रम गरेपछि एमालेले उनलाई कारबाही गर्ने तयारी गर्यो । यो बुझेरै उनले अब कुनै पार्टीमा नलाग्ने भन्दै राजीनामा दिए । एमालेले पनि २०७९ फागुन १३ गते उनलाई केन्द्रीय सदस्यबाट निष्कासित गर्यो । त्यसयता एमालेसँग उनको सम्बन्ध दुस्मनीमा परिणत हुन पुग्यो ।
गणतन्त्र, संघीयताजस्ता मुद्दाले पनि नागरिकको जीवन परिवर्तन नगरेको भन्दै उनले आफू राजावादी हुनुपरेको बताउँदै आएका छन् । उत्तेजक र अराजक कुरा गर्दा पाएको वाहवाहीबाट उत्साही हुँदै उनले परम्परागत दलविरुद्ध भीड जम्मा गर्न खोजेका हुन् ।
राजालाई मञ्चमा उभ्याएर उनले वैदिक सनातन नेपालको स्थपना भन्दै हिन्दू धर्मको एजेन्डालाई बोकेका थिए । साथै, संघीयता खारेजी, बैंकको ऋण मिनाहाको माग पनि गर्दै आएका छन् । नागरिकलाई भड्काउन उत्तेजक भाषण गर्ने, भीड जम्मा गर्ने र जनताको पक्षमा बोलेका आफू निकटका युट्युबाट सन्देश दिने काम उनले गर्दै आएका छन् । नेताविरुद्ध भ्रष्टाचार, अनियमितता, बेथितिका विषय चर्को र आपत्तिजनक रूपमा उठाउने मात्रै होइन, नभएका विषयलाई पनि सनसनी बनाउन प्रसाईं खप्पिस छन् । यसमा उनलाई ताली दिने उत्तिकै छन् ।
भ्रष्टाचारीलाई कारबाही गर्ने, नेताले विदेशमा थुपारेको अर्बौं रुपैयाँ फिर्ता ल्याउने, विदेशमा अलपत्र परेका र जेलमा परेकालाई समेत छुटाउन पहल गर्ने, रोजगारी दिलाउने जस्ता लोकप्रिय नारा अगाडि सारेर उनले भीड जम्मा गर्ने प्रयत्न गरिरहेका छन् ।
क्षमताभन्दा ठूलो आँट गरेर मेडिकल कलेज सञ्चालन गर्ने र राजनीतिक पहुँचका आधारमा सम्बन्धन दिलाउने उनको प्रयास विफल भएको विश्लेषक पोखरेल बताउँछन् ।
‘क्षमताभन्दा ठूलो आँट गरेर मेडिकल कलेज सञ्चालन गर्न खोजे । यतिखेर बैंकको ऋणले डुबेका छन् । कलेजलाई सम्बन्धन दिलाउन सक्छु भनेर ओली र प्रचण्डको शरणमा पुगे । तर, ओली प्रधानमन्त्री हुँदा चाहेर पनि सम्बन्धन दिलाउन सकेनन्,’ पोखरेल भन्छन्, ‘बैंकले निरन्तर ताकेता गरेपछि उनी अत्तालिँदै अहिले राजाको शरणमा पुगेका हुन् । एमालेले समयमै नचिन्दा उनी झन् अराजक बन्दैछन् ।’
कालोमोसो र ओलीमाथिको आरोपले झन् तनाव
गत असोजको तेस्रो साता काठमाडौंको जमलस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर फर्किंदै गर्दा प्रसाईंलाई एमाले नेता महेश बस्नेतनिकट युवाहरूले कालोमोसो दलेका थिए । त्यसयता प्रसाईं एमाले र बस्नेतविरुद्ध आक्रामक बन्दै आएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा ३ हजार करोड रुपैयाँ लगानी गरेको दाबी प्रसाईंले गरेपछि उनी झन् तारो बन्न पुगेका छन् । ओलीले यस्तो पत्ता लगाए तीन हजार करोडमा एक हजार थपेर दिने चुनौती दिएका थिए ।
अनर्गल प्रचार गरेको भन्दै एमालेले प्रसाईंविरुद्ध झन् आक्रामक रबैया लिएको छ । जिम्मेवार नेताविरुद्ध सतही अभिव्यक्ति दिएपछि प्रहरीले यो विषयलाई पुष्टि गर्न वा कारबाही भोग्न चेतावनी दिएको बताइन्छ । त्यसपछि उनले प्रहरीकोमा पुगेर माफी मागेको प्रहरी स्रोत बताउँछ ।
दुवै पक्षले एकैदिन कार्यक्रम राखेपछि गृह प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको छ । दुवै पक्ष आक्रामक हुन सक्ने भएपछि एमालेको कार्यक्रम तीनकुने र प्रसाईंको कार्यक्रम बल्खुमा गर्ने गरी प्रशासनले ठाउँ तोकिदिएको छ ।
सामान्यतया आक्रोश र माग राज्यसत्तासँग हुन्छ, तर प्रसाईंको आक्रोश र तारोमा यतिखेर एमाले छ । एमालेको तारोमा प्रसाईं परेका देखिन्छन् ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...