कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडाैं | पुस १५, २०८०
शुक्रवार (पुस १३ गते) ग्वार्कोमा रहेको ईपीएस कोरिया शाखाको कार्यालय आसपासमा बिहान ६ बजेदेखि नै चहलपहल थियो । कोरियन भाषा परीक्षाका लागि आवेदन दिन युवाहरू आइपुग्न थालिसकेका थिए ।
सुरक्षाका लागि सातदोबाटो प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्सालको नेतृत्वमा १ सय ५० प्रहरी खटिएका थिए । कोटेश्वरतर्फ पनि प्रहरी थिए ।
‘हामीले बिहानैदेखि सुरक्षाका लागि १ सय ५० भन्दा धेरै प्रहरी खटाएका थियौं,’ ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले लोकान्तरसँग भने ।
जहाजमा काम गर्ने गरी लिइएको भाषा परीक्षामा सहभागी भएकाहरूले यस वर्ष आवेदन दिन नपाउने निर्णय ईपीएस कोरिया शाखाको थियो । त्यसविरुद्ध उच्च अदालत पाटनबाट आदेश समेत आइसकेकाले अब आवेदन दिन पाइन्छ भनेर युवाहरू ईपीएस परीक्षा शाखाको कार्यालयमा पुगेका थिए ।
ईपिएस कार्यालयले बिहान ८ बजेदेखि नै परीक्षा आवेदन लिने गरी आह्वान गरेको थियो । त्यसका लागि करिब १५ सय जना जति बिहान ७ बजेदेखि नै लाइनमा थिए ।
तर, बिहान करिब साढे ११ बजे कार्यालयले अदालतमा मुद्दा दायर गरेका १८ जनाको मात्रै आवेदन लिने निर्णय सुनाएपछि लाइनमा बसेका अन्य युवा आक्रोशित बन्न पुगे ।
प्रहरीका अनुसार त्यतिबेलासम्म झन्डै ३५ सयको भीड जम्मा भइसकेको थियो ।
‘पहिला त्यति धेरै लाइनमा थिएनन्, तर पछि भने ३५ सयको हाराहारीमा जम्मा भएका थिए,’ ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले लोकान्तरसँग भने ।
१८ जना बाहेकले आवेदन दिन नपाउने भएपछि युवाहरूले ईपीएस कार्यालय तोडफोड गर्ने भन्दै नाराबाजी शुरू गरे ।
त्यसलगत्तै प्रहरीले भीडलाई नियन्त्रण लिन भनेर अश्रुग्यास प्रहार गर्न थाल्यो । ईपीएस कार्यालयबाट निस्किएको भीड सडकमा आइपुग्यो । प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्यो ।
त्यसपछि अलिअलि तितरबितर भएको भीडबाट २ हजार जति कोटेश्वरतर्फ लागे भने बाँकी सातदोबाटोतर्फ । आन्दोलन चर्काउन भन्दै ग्वार्कोमा फेरि भीड जम्मा भयो ।
प्रहरीले बल प्रयोग गरेपछि तितरबितर हुने र केहीबेरमा फेरि जम्मा हुने क्रम चल्यो । त्यसैक्रममा मन्त्रीको गाडीमा आगजनी भएको खबर आएपछि गोली चलाउनुपरेको दाबी प्रहरीले गरेको छ ।
मन्त्रीलाई भित्रै राखेर आगो लगाएको भन्ने खबर आएपछि भीड छिचोल्न गोली चलाएको पाइएको दाबी एक प्रहरी अधिकारीले गरे । ‘प्रहरी भीड छिचोलेर मन्त्रीज्यूको गाडीमा पुग्दा स्थिति अनियन्त्रित भएको हो,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘पहिला त मन्त्रीलाई भित्रै राखेर आगो लगाएको सूचना आएको थियो, त्यसकारण अगाडि रहेको भीडतर्फ गोली प्रहार गरेर प्रहरी अगाडि बढेको देखिन्छ ।’
ती अधिकारीका अनुसार प्रहरी पुग्दा गाडी धेरै नै जलिसकेको थियो । ललितपुरका प्रहरी प्रवक्ता कार्कीको आसय पनि यस्तै छ । ‘मन्त्रीज्यूको गाडी जलाएको सूचना सेटमा आएपछि भीड छिचोलेर जाँदा ढिला भएको थियो,’ एसपी कार्कीले लोकान्तरसँग भने ।
प्रहरी गाडीसम्म पुग्दा मन्त्री थिएनन्, तर गाडी भने जलिरहेको थियो ।
चेन अफ कमान्डमा नगइकनै गोली प्रहार
आन्दोलन वा भीड नियन्त्रण गर्ने प्रयोजनका लागि गोली चलाउँदा प्रहरीले प्रमुख जिल्ला अधिकारी (सीडीओ)सँग अनुमति लिनुपर्छ । सीडीओले गृहसचिव, गृहसचिवले गृहमन्त्री, गृहमन्त्रीले आवश्यक परेको खण्डमा प्रधानमन्त्रीसँग समेत अनुमति लिने चेन अफ कमान्ड हुन्छ ।
तर, शुक्रवारको घटनामा प्रहरीले अनुमति नै नलिएको देखिन्छ । फिल्डमा खटिएको कमान्डरले अवस्था मूल्यांकन गरेर अश्रुग्याससम्म प्रहार गर्न सक्ने हो, यहाँ त फिल्डको कमान्ड गरिरहेका प्रहरी अधिकृतले माथिल्लो निकायसँग अनुमति नलिइकन गोली प्रहार गरेको देखिन्छ ।
‘माथिल्लो निकायसँग समन्वय नै नगरिकन गोली प्रहार गरेको देखिन्छ, त्यसैले हामीले फिल्ड कमान्डरलाई निलम्बन गरेका छौं,’ प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँरले लोकान्तरसँग भने, ‘माथिल्लो निकायसँग समन्वय नगर्दा समस्या देखिएको हो ।’
प्रहरीले अन्य समयमा पनि पहिले गोली चलाएर पछि सीडीओबाट अनुमोदन गराउने गरेको अर्का एक प्रहरी अधिकारीले जानकारी दिए । शुरूमै अनुमति लिँदा सीडीओ कार्यालयले जिम्मा लिइहाल्छ भनेर थप आक्रामक हुन सक्ने भएकाले पनि आवश्यकताअनुसार गोली चलाएर अनुमोदन गराउने गरेको दाबी ती अधिकारीले लोकान्तरसँग गरे ।
‘पहिला नै अनुमति लियो भने फिल्ड कमान्डर उग्र हुन्छ, विनाकारण गोली चलाउन सक्छ, त्यसैले गोली चलेपछि सीडीओबाट अनुमोदन गराउने चलन छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।
प्रहरीको गोलीबाट अछामको चौरपाटी गाउँपालिका– १ का २१ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । उपचारका लागि पाटन अस्पताल लगिएका शाहको अस्पतालमै मृत्यु भएको हो ।
यस्तै दैलेखको महाबु गाउँपालिका– ६ का २३ वर्षीय सुजन राउतको इमाडोलमा रहेको किस्ट अस्पतालमा मृत्यु भएको थियो । उनको शरीरमा भने गोलीको घाउ नभेटिएको अस्पतालले जनाएको छ ।
प्रहरीको दाबी उनलाई अश्रुग्यासको सेलले छातीमा लागेको भन्ने छ भने प्रत्यक्षदर्शी र आन्दोलनकारीले प्रहरीको कुटपिटबाट मृत्यु भएको दाबी गरिरहेका छन् ।
त्यसक्रममा प्रहरीले ७३ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको थियो । उनीहरू आइतबार छुटेका छन् ।
बालकुमारी घटनामा सुरक्षा कमजोरी गरेको भन्दै प्रहरीका फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गरिएको छ । त्यस्तै ललितपुरका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने र ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई थप अनुसन्धानका लागि गृह मन्त्रालयमा तान्ने निर्णय समेत भएको छ ।
मन्त्रीको गाडी जलेपछि प्रहरी आयोः प्रत्यक्षदर्शी
शुक्रवार मन्त्रीको गाडी जलेपछि मात्रै प्रहरी आइपुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
ग्वार्कोमा सगरमाथा नामको खाजा पसल सञ्चालन गर्दै आएका प्रेम महर्जनका अनुसार मन्त्रीको गाडीमा आगो लागेको धेरै समयपछि मात्र प्रहरी आइपुगेका थिए ।
‘मन्त्रीको गाडी हुर्हुरी बल्न थालेपछि मात्रै प्रहरी आइपुगेको थियो,’ महर्जनले लोकान्तरसँग भने ।
आन्दोलनका क्रममा आफूले गोलीको आवाज समेत सुनेको उनले बताए ।
मन्त्री र पीएसओले गरेको गल्ती
ग्वार्को चोकमा फ्लाइ ओभरको काम भइरहेको छ । त्यसबाट करिब २०० मिटर तल (कोटेश्वरतर्फ) कान्तिपुर गार्डेन नामको पार्टी प्यालेस छ । त्यो पार्टी प्यालेस चक्रपथको सर्भिस लेनसँगै छ ।
त्यहाँबाट करिब ३०० मिटर तल बालकुमारीको पुल नजिकबाट मुख्य लेनमा जान सकिन्छ ।
मन्त्रीको गाडी मुख्य लेनमा गएको भए यस खालको स्थिति आउन्नथ्यो भन्ने अनुमान स्थानीयको छ । मन्त्रीको गाडी सर्भिस लेनबाट फ्लाइ ओभर बनिरहेकोतर्फ विपरीत दिशाबाट आएको प्रत्यक्षदर्शी शक्ति स्याङ्तानले बताए ।
‘मन्त्रीको गाडी पुलमुनिबाट मुख्य लेनमा गएको भए यस्तो अवस्था आउँदैन थियो, विपरीत दिशाबाट सर्भिस लेन हुँदै आउने क्रममा आन्दोलनकारीले रोकेका थिए,’ स्याङ्ताङले लोकान्तरसँग भने ।
उनका अनुसार प्रहरीले बालकुमारी पुलबाटै गाडी आउन नदिएपछि त्यहाँ सडक खाली थियो । त्यही देखेर मन्त्रीको गाडी हुइँकिएको थियो । त्यसैक्रममा आन्दोलनकारीले गाडीलाई नियन्त्रणमा लिएका थिए ।
गाडी भीडको कब्जामा पुगेपछि पीएसओले मन्त्रीलाई सुरक्षित स्थानतर्फ लगेका थिए । त्यसपछि भीडमा रहेका युवाहरूले गाडीको हावा निकालेका थिए ।
अनि गाडीमा आगो लगाइएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...