काठमाडौं, २७ माघ — सिराहा गोलबजारका ४८ वर्षीय अर्जुन थपलिया पहाडी मूलका तराईवासी नागरिक हुन् । दशौं पुस्ताको रूपमा अहिले उनी मधेसमा बसिरहेका छन् । लवाइखवाइ चाहिँ मधेसी नागरिकको जस्तो देखिँदैन । तर बोलीचाली चाहिँ ठ्याक्कै उस्तै छ ।
नहोस् पनि कसरी ? पहाडी मूलका थपलियाले वर्षौंदेखि मधेसीको उत्थानको लागि काम गरिरहेका छन् । २०४६ सालको जनआन्दोलन सफल भएपछि नेपालमा गैरसरकारी संस्था खुल्ने र फैलाउने लहर चल्यो ।
त्यही लहरमा मिसिएका थपलियाले ५/७ वर्ष गैरसरकारी संस्था (एनजीओ)मै काम गरे । तर उनलाई बिस्तारै लाग्यो, गैरसरकारी संस्थाले जुन उद्देश्य राखेर गाउँमा आउँछन्, त्यो काम चाहिँ गर्दा रहेनछन् ।
‘परिवर्तनका लागि एनजीओहरूको भूमिका खासै गतिलो हुँदो रहेनछ, राजनीतिक रूपमै परिवर्तन हुनुपर्दो रहेछ,’ थपलिया भन्छन्, ‘यो थाहा पाएपछि चाहिँ मैले स्वतन्त्र तरिकाले मधेसी नागरिकलाई एकताबद्ध बनाउँदै अघि बढ्ने निर्णय गरें ।’
सिराहा र सप्तरीका डोम र चमारलाई कथित दलितको रूपमा हेरिन्थ्यो । अहिले पनि हेरिन्छ, भलै अवस्था केही बदलिएको होस् । कसैको घरमा रहेको पशु मरेमा उनीहरूले नै त्यसलाई फाल्नुपर्ने वा काटेर खानुपर्ने परम्परा रहिआएको थियो ।
‘मधेसको विकृतिको रूपमा सिनो फाल्ने परम्परा नै रहेको थियो,’ उनले लोकान्तरसँग भने, ‘२०५५ सालदेखि त्यही परम्परालाई हटाउनुपर्छ भन्ने सोचेर हामीले काम गरेका थियौं ।’ सिराहा र सप्तरीका चमार र डोमले सिनो फाल्नुपर्ने बाध्यता मात्रै थिएन, सोही कारणले उनीहरू अपमानित समेत हुनुपरेको थियो ।
‘सप्तरीको मधुपटीमा दलित महिलाहरूलाई राखेर छुवाछुत कसरी हटाउने भनेर छलफल गरेका थियौं,’ उनले भने, ‘सो अभियानका लागि सिनोको विषय निकै उपयुक्त हुनसक्छ भन्ने हामीले निर्णय गर्यौं ।’
थपलियाकै पहलमा त्यहाँका दलित समुदायलाई जम्मा गरिएको थियो । थपलिया योजना बनाउँथे । कूटनीति लगाउँथे तर अग्रभागमा चाहिँ सोही समुदायकै मान्छेलाई राखेर काम गर्थे ।
‘चमार समूहकै बलदेव रामलाई हामीले सिनो बहिष्कार आन्दोलनको नेतृत्व दिने निर्णय गर्यौं,’ उनी भन्छन्, ‘त्यसपछि चाहिँ सानो जुलुस पनि बजारमा निकालेका थियौं ।’
अवस्था अत्यन्तै दयनीय थियो । चमारहरूले ‘अमर रहून्’ बाहेक अरू नारा लगाउनै जानेनन् । कारण थियो, उनीहरूले कहिल्यै पनि आफ्नो लागि जुलुस निकालेका थिएनन् ।
जे होस्, चमारहरू एकीकृत भए । सिनो बहिष्कार गर्ने निर्णय गरियो । अर्थात्, जसको घरमा पशु मर्छ सोही घरकै मान्छले त्यसको व्यस्थापन गर्नुपर्ने निर्णय भयो । चमार र डोमहरू सबै एकैठाउँमा जम्मा भए ।
सैद्धान्तिक रूपमा गरिने निर्णय र व्यावहारिक रूपमा गरिने कामका बीचमा ठूलो फरक थियो । चमारहरू एकीकृत भएको एक हप्तामै मधुपटी गाविसमा नै कृष्णलाल कलवारको घरमा गाईको बाच्छा मर्यो ।
उनले ढोडाई रामलाई सो बाच्छोको सिनो फाल्न अह्राए । ढोडाई संकटमा परे किनकि उनीआबद्ध संगठनले सिनो नफाल्ने निर्णय गरेको थियो । ‘उनी निकै तनावमा आए तर साहस जुटाएर कलवारलाई आफूले सिनो फाल्न नसक्ने जानकारी गराए,’ थपलियाले भने, ‘हो, त्यही घटनाबाट पहिलोपटक सिनो बहिष्कार गरिएको थियो ।’
सिनो बहिष्कार त गरियो तर परिस्थिति निकै कडा बनेको थियो । सिनो नफाल्ने ढोडाइलाई गाविसमै निर्णय गरेर सिनो नफालेको सजायबापत बहिष्कार गर्ने निर्णय गरियो ।
‘त्यसबेला ढोडाई आत्तिएको थियो,’ थपलिया भन्छन्, ‘गाविसले केही सीप नगालेपछि आधाआधा सिनो फाल्नुपर्ने प्रस्ताव लिएको थियो ।’ तर चमारहरूले मानेनन् ।
चमारहरूका नाइके बलदेव रामले कलवारलाई भने, ‘त्यसोभए तिम्रो आमा मर्दा पनि मैले आधा हात लगाउन पाउनुपर्छ, मेरो आमा मर्दा पनि तिमीले आधा हात लगाउनुपर्छ ।’
यसरी दलितहरू आन्दोलित भएपछि गाविसका ठूलाबडा मानिएकाहरू हच्किए । कलवार आफैंले सिनो फाले । हो, त्यही दिन चमारहरूले आफ्नो लागि जुलुस निकालेका थिए, हाम्रो जीत भयो भनेर । त्यसभन्दा अघि त उनीहरू जुलुसमा आउनै डराउँथे ।
पहिलोपटकको अमर रहून् वाला जुलुसमा प्रत्येक पाँचजना चमारको बीचमा एकजना पत्रकारलाई राखेर जुलुस निकालिएको थियो । कारण, पत्रकार भएपछि पुलिसले पिट्दैन भनेर उनीहरू जुलुसमा लागेका थिए । चमार तथा डोमहरूले बाहुनहरूलाई सिनो फालेपछि ‘तिमीहरू अछुत भयौ कि नाइँ’ भनेर घोचपेच गरे । बिस्तारै गाउँमा दलित समुदायबाट सिनो उठ्न छोड्यो ।
तर दलित समुदायमाथिको घेराबन्दी चाहिँ भइरह्यो । त्यसपछि मधेसको ठालू परिवार मानिने कांग्रेस नेता पदमनारायण चौधरीको घरमा भैंसीको पाडो मर्यो । दलितले सिनो फाल्न मानेनन् । फेरि पनि घेराबन्दी भयो । सभासद्कै घरमा पाडो मरेको विषय निकै तातिरह्यो ।
बीस हजार दलित उठे । संसदीय समिति बन्यो । मानवअधिकारकर्मीहरू स्थलगत निरीक्षण गर्न पुगे । दलितकै पक्षमा निर्णय भयो । ‘यो घटनापछि चाहिँ बिस्तारै मधेसमा सिनो उठाउने चलन हरायो,’ थपलियाले पुरानो दिन सम्झँदै भने, ‘अब आर्थिक रूपमा मधेसका नागरिकको स्तर बढ्नुपर्छ ।’
सिनो बहिष्कार आन्दोलन कुनै एनजीओ वा आइएनजीओ गएर सफल बनाएका थिएनन् । थपलियाहरूको सहयोगमा चमारहरूले नै सफल बनाएका थिए । ‘व्यक्तिगत रूपमा केही मानिसहरूले अहिले पनि छुवाछुत गर्ने भएपनि सामाजिक रूपमै गरिएको अपमानजनक काम चाहिँ हामीले हटाएका छौं,’ उनले भने ।
पछि यही सिनो बहिष्कार गर्ने आन्दोलन अन्य गतिविधिमा परिणत हुँदै गयो । मधेसमा भूमि आन्दोलन चर्कियो ।
सिनो फाल्ने अभियान त निकै मेहनत गरिएकाले एकदुई वर्षमै सफल भयो । तर त्यसका लागि निकै रगत पसिना बगाएको थपलिया बताउँछन् । ‘कैयौंपटक भौतिक आक्रमण भयो,’ पुराना दिन स्मरण गर्दै उनी भन्छन्, ‘सिनो बहिष्कार आन्दोलनका लागि थुप्रै रगत पसिना बगाएको छु ।’
पहिलेपहिले मधेसमा जुलुस तथा कार्यक्रमहरू गर्न निकै गाह्रो थियो । तर सिनो बहिष्कार आन्दोलन सफल भएपछि बिस्तारै अरू जुलुसहरू पनि भए । यसमा तत्कालीन नेताहरू पनि हौसिएका थिए । जमीनको माग गर्दै एक हजारजनाले पहिलोपटक राजविराजमा अनशन गरेका थिए ।
‘हामीले मधेसमा जागरण आन्दोलन चलाउँदै गर्दा माओवादी र सेना दुवैको दबदबा थियो,’ उनले भने, ‘मैले दुवैतर्फबाट यातना पाएँ, सेनाले माओवादी भनेर कट्थ्यो, माओवादीहरू चाहिँ सेनाको मान्छे भनेर कुट्थे,’ उनले भने, ‘तर उनीहरूले पछि हामीलाई राम्रै तरिकाले हेर्न थाले, किनकि हाम्रो गतिविधि जागरणका लागि मात्रै थियो ।’
केही वर्षपछि अवस्था सुध्रियो । चमार, मुसहर र डोम समुदायका मानिसहरू अघि आए । उनीहरूको प्रतिनिधित्व पनि बढ्यो । ‘अब उनीहरूको आर्थिक अवस्था सुधार्नुपर्छ भनेर काम गर्न खोजेको छु,’ थपलिया भन्छन्, ‘त्यसको लागि तरकारी खेतीलाई रोजेको छु ।’
थपलिया मधेसमा कसैको तलब खाएर आन्दोलन गराउँदैनन् । उनी जागरणका लागि मात्रै आन्दोलन गराउँछन्, त्यो पनि आफ्नै समुदायको हितमा । तर उनलाई आजभोलि खुब चित्त दुख्छ किनकि नेपालमा अहिले पैसा नलिई कोही पनि कुनै अभियानमा सहभागी हुँदैन ।
‘मधेसका लागि थुप्रै प्रोजेक्टहरू गएका छन्, तर प्रोजेक्टहरूले केही पनि काम गरेका छैनन,’ उनले भने, ‘२५ वर्षसम्म सेभ द चिल्ड्नले काम गर्यो, पछि अरू एनजीओहरूले काम गरे । तर उनीहरूको काम कागजमै सीमित भयो ।’
गाउँमा काम गर्छौं भनेर जाने एनजीओले आफैंले आफ्नो कामको विवरण तोकेका हुन्छन् । आफैंले तोकेको काम पनि पूरा नगर्ने एनजीओहरूलाई कारवाही हुनुपर्ने र उनीहरूले खर्च गरेको तलबभत्ताको रकम फिर्ता माग्नुपर्ने बेला आएको उनले बताए ।
मधेसमा डोम समुदाय सानो संख्यामा छ । तराईमा चलेको भूमि आन्दोलनमा चमारले अलिअलि जग्गा पाए । तर तराईमा रहेका मुसहरहरूले अहिलेसम्म पनि जग्गा पाएका छैनन् । उनीहरू मालिकको लागि मालिककै जग्गामा बसेर काम गर्छन् । मालिकले लखेटेको दिन त्यहाँबाट जानुपर्ने बाध्यता छ ।
‘मुसहर समुदायका लागि तरकारी खेतीमा अलिकति काम गरौं कि भन्ने सोचेको छु,’ उनी भन्छन्, ‘आफैंले काम गरेर एनजीओवालाहरूलाई देखाइदिने कोशिश गर्दैछौं ।’
त्यसका लागि ६० जना मुसहर परिवारका लागि ६० कठ्ठा नै जग्गा भाडामा लिएर तरकारी खेती गराउने कोशिश हुँदैछ,’ उनले भने, ‘तराईमा निकै राम्रो तरकारी खेती हुन्छ, त्यसबाट मुसहरको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुग्नेछ ।’
आफूले व्यक्तिगत रूपमा गरेको तरकारी खेतीबाट अघिल्लो वर्षमात्रै १५ लाख कमाइ भएको बताउँदै उनले मुसहरलाई पनि तरकारी खेतीमा लगाउन खोजेको बताए ।
‘कुनै संस्था वा व्यक्तिसँग आफै जमानी बसेर भएपनि जग्गा लिजको लागि पैसा लिन्छौं,’ उनले भने, ‘अरू सबै काम खेती गर्नेहरूले नै गर्छन् ।’ त्यसपछि चाहिँ आयआर्जनका काममा पनि दलितहरू लाग्ने उनी बताउँछन् ।
आफूहरूले गरेको आन्दोलनले मधेसमा रहेका विपन्नहरूको गरिमा र आत्मसम्मान बढेकोले अब आर्थिक गतिविधिमा जोड्न खोजेको उनी बताउँछन् । राजनीतिक रूपमा त सिनो बहिष्कार तथा भूमि आन्दोलनले जन्माएका नेताहरू सभासद नै बनिसकेको उनी बताउँछन् ।
उनका अनुसार सिराहा र सप्तरीमा मात्रै ७० हजारभन्दा बढी मुसहर छन् । ७० हजारकै हाराहारीमा चमार छन् भने दुई/चार हजारको संख्यामा डोमहरू रहेका छन् । मधेमा पिछडिएको जातिका रूपमा रहेका उनीहरूको जीवनस्तरमा भने खासै सुधार आउन सकेको छैन ।
Advertisment
Advertisment