२६ जेठ २०८३, मंगलबार

सिएमसीलाई तीन पटक पठाएको पत्रको उत्तर आएन– मेलम्चीमा २ अर्बको काम बाँकी हुँदा ३ अर्ब भुक्तानी

माघ ७, २०७५
सिएमसीलाई तीन पटक पठाएको पत्रको उत्तर आएन– मेलम्चीमा २ अर्बको काम बाँकी हुँदा ३ अर्ब भुक्तानी

काठमाडौं– मेलम्ची खानेपानी आयोजनासँगको सहमति अनुसार काम नगरेको इटालियन ठेकेदार कम्पनी सिएमसीलाई सम्झौता गरिएको रकम भन्दा बढी भुक्तानी दिइएको छ ।

आयोजना र सिएमसीबीच ३१ असार २०७० मा ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर आयोजनाले भूकम्प र नाकाबन्दीका समयमा कम्पनीको क्षतिपूर्तिको नाममा १० अर्ब ५३ करोड रुपैयाँ भुक्तानी गरिसकेको जानकारी दिएको छ ।

यसरी मेलम्ची खानेपानी आयोजनाले सम्झौता रकम भन्दा २ अर्ब ८१ करोड रुपैयाँ बढी भुक्तानी सिएमसीलाई दिएको छ । 

२२ प्रतिशत काम बाँकी

इटालियन ठेकेदार सिएमसी कम्पनीले ठेक्का लिएको कुल कामको २२ प्रतिशत काम अझै बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । सिएमसीसँग सम्झौता हुँदा २७ किलोमिटर सुरुङ खन्ने, मुहानमा मुख्य बाँध र सहायक बाँध निर्माण गर्ने, सुरुङ भित्र ढलान गर्ने लगायतका काम गर्नु पर्ने सहमति भएको थियो । त्यस्तै सुरुङ भित्रको हावा पास गर्नका लागि तीन ठाउँमा भेन्टिलेसन साफ्ट बनाउने र सुरुङ भित्र सटकिट राख्ने लगायतका सम्झौता भएका मेलम्ची खानेपानी आयोजनाका आधिकारीहरु बताउँछन् ।

त्यस्तै सुरुङबाट पानी झर्ने स्थान सुन्दरी जलमा भल्भ गेट राख्ने, र प्रशोधन केन्द्रसम्म पानी पुर्‍याउनेका लागि आवश्यक पाइप फिट गर्ने लगायतका काम ठेक्का सम्झौताका क्रममा भएका थिए । ती मध्ये सुरुङ खन्ने, सुरुङ भित्र सटकिट राख्ने र ढलानको काम मात्रै सम्पन्न गरिएको मेलम्ची आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार सिएमसीले करिब ७८ प्रतिशत काम सम्पन्न गरेको छ । अन्य पाइप फिटिङ तथा सुन्दरीजलमा सुरुङ भित्रको सफाइका लागि फ्लस आउटको काम चलिरहेकै बेला सिएमसीले गत पुस अन्तिम साता काम छाडेको थियो ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका एक अधिकारीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न अझै करिब २ अर्ब रुपैयाँ लागत लाग्ने बताए । यद्यपि आयोजनाले बाँकी कामको बारेमा अध्यन गरिरहेको ती अधिकारीको भनाइ थियो ।

तीन पटकको पत्रको प्रतिक्रिया नै आएन

मेलम्ची खानेपानी आयोजनाको काम छाडेर इटाली गएको सिएमसी कम्पनीलाई यसबीचमा तीन पटक पत्र पठाइसकेको खानेपानी तथा सरसफाइ मन्त्रालयका अधिकारीहरु बताउँछन् । मन्त्रालयका एक अधिकारीले यसबीचमा मेलम्ची आयोजनाले तीन पटक पत्राचार गरेको तर सिएमसीका प्रतिनिधि सम्पर्कमा नै नआएका बताए । ‘यसबीचमा आफ्नो तर्फबाट तीन पटक सम्म पत्राचार गरियो’ मन्त्रालयका ती अधिकारीले भने, ‘हिजो अन्तिम पटक १४ दिनको समय दिएर पत्र पठाइएको छ ।’

मेलम्ची खानेपानी आयोजनाका सुचना अधिकारी राजेन्द्र पन्तले कन्ट्रयाक्टको प्रावधान अनुसार आफूहरुले आइतवार अन्तिम पटक पत्राचार गरेको र दिइएको समय भित्र नआए ठेक्का प्रक्रिया रद्द गरिने जानकारी दिए । ‘हामीले यसअघि पनि बोलाउने प्रयास गरेकै थियौं । हिजो पनि १४ दिनको सयम दिएर पत्राचार गरेका छौं’ पन्तले लोकान्तरसँग भने, ‘१४ दिन भित्र नआएमा ठेक्का रद्द गरिएको अर्को पठाउने छौं, ।’

के हुन्छ भुक्तानी गरिएको रकम ?

मेलम्ची खानेपानी आयोजनाका सुचना अधिकारी पन्तले धरौटी जफत गर्ने लगायतका प्रक्रिया र मुद्दा मामिला गराए भएपनि भुक्तानीको रकम असुल गरिने बताए । ‘भुक्तानी रकम कति गरिएको छ भन्ने विषयमा अध्ययन गर्दै छौं’ पन्तले भने, ‘काम अनुसारको रकम भुक्तानी गरेको नदेखिएमा क्षतिपुर्तिसहित अन्य प्रक्रियाबाट  असुलिन्छ।’

अबको विकल्प

तोकिएको १४ दिन भित्र सिएमसी फर्केन भने अबको प्रक्रिया के हुन्छ ? भन्ने लोकान्तरको प्रश्नमा आयोजनाका सुचना अधिकारी पन्तले छलफल भइरहेको बताए । ‘छलफल गरिरहेका छौं’ उनले भने, ‘अन्य विकल्पहरुका बारेमा पनि छलफल गर्छौं।’

खानेपानी तथा सरसफाई मन्त्रालयका प्रवक्ता शंकर प्रसाद सुवेदीले सिएमसी फर्किएर आएन भने मन्त्रिपरिषदले निर्णय गर्ने बताए । उनले बढी रकम भुक्तानीका बारेमा आफूलाई थाहा नभएको र अबको विकल्पका बारेमा आवश्यक छलफल भइरहेको बताए । सेनालाई दिने वा कसले बनाउने भन्ने विषयमा मन्त्रिपरिषदको निर्णय अन्तिम हुने बताए ।

मेलम्ची खानेपानी आयोजनाको निर्माणको अन्तिम चरणमा रहेको भनिएका बेला इटालीको ठेक्केदार कम्पनी सिएमसी काम छाडेर स्वदेश गएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्