मंसिर १४, २०८०
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
काठमाडौं - शिरीष देवकोटालाई धेरैले 'रोइला गायक' भनेर चिन्छन् । उनका गीत हिटहरूको सूचीमा अधिकांश रोइला नै पर्छन् । तर उनको परिचय रोइलामा मात्रै सीमित छैन । उनी लोकदोहोरीमा पनि अब्बल छन् ।
उनलाई केहीले 'रोइला मास्टर', 'रोइला किङ'समेत भन्ने गर्छन् । तर यस्ता उपाधिले आफूलाई अझै जिम्मेवार बनाउने गरेको उनी बताउँछन् ।
उनी भन्छन्, 'मलाई यो उपाधि दिने बेला भएको छैन । तर यसो भन्दिँदा मलाई रोइलामा अझ धेरै गर्नु छ भन्ने लाग्छ ।'
बानेश्वरस्थित एक रेस्टुरेन्टमा लोकान्तरसँग गफिएका देवकोटाले रोइलाबारे धेरै कुरा खोले । रोइलाका विभिन्न पक्षहरू केलाए ।
उनका अनुसार रोइलाको वास्तविक नाम 'खेली' हो । रोइलालाई गाउँघरमा खेली भनिने रहेछ ।
'खेली' कसरी भयो रोइला ?
उनले २०६० सालमा पहिलोपटक 'रोइला' गीत गाए । गीत थियो- खरबारीमा जान्छु मुठ्ठी लिन्छु टोलाउँछु …
आफूले गाउँमा खेली भन्दै आएको शब्दको कुनै राष्ट्रिय नाम छ कि भन्ने उनलाई लाग्यो । त्यो गीतलाई खेली भन्ने कि रोइला भन्नेमा उनी दोधारमा परे । अनि खोज्न थाले- लोकसंस्कृति, लोकगीतसम्बन्धी पुस्तक तथा लेखहरू । उनले त्यहाँ खेलीलाई रोइला लेखेको पाए । त्यसपछि एल्बममा रोइला नै लेखे ।
रोइलाबारे उनी थप खुलाउँछन्, 'मास्टर डिग्रीको किताबमा हेर्नुभयो भने पनि नेपाल परिचय भन्नेमा हामीले गाउने खेलीलाई रोइला भनेर लेखिएको छ ।'
रोइलाबारे बुझाउन उनले केही उदाहरण पनि दिन भ्याए । उनका अनुसार रोइला भजनसँग अन्तरसम्बन्धित हुन्छ ।
भने, 'यो भजनसँग अन्तरसम्बन्धित हुन्छ । यही लय यही बाजागाजा यही तालमा शब्दमात्रै भगवानको गाइदिने हो भने त्यो भजन भयो । त्यसमा मायापिरती जोडिदिने हो भने रोइला हुन्छ ।'
शिरीषको उदाहरण हेर्नुहोस् :
जस्तै : रामलाई वनिबास भरतलाई रजाइँ - भजन
अलि वर सर, त्यता चिसो भुँइ भयो माया मारे झैं भयो - रोइला 'खेली'
उनले रोइला गाउँदैनन् मात्रै, अध्ययन पनि गर्छन् । उनको अध्ययनले के देखाएको रहेछ भने मुक्तिनाथदेखि कालीगण्डकी नदीले देवघाटसम्म पुग्दा जुनजुन जिल्लाहरूमा फेरो हान्छ त्यो आसपासमा यसको उर्वर थलो हो । अहिले रोइला नेपालभर गाइएपनि विशेषगरी म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, पाल्पा, कास्की, तनहुँमा गाइन्छ ।
अहिले देवकोटा रोइलाबारे मानिसहरूलाई बुझाउन थालेका छन् । उनी सिकिरहेका छन् र आफूलाई रोइलाको विद्यार्थी पनि भन्दैछन् ।
भन्छन्, 'रोइला भनेको खेली भनेर बुझाउन थालेको छु । यो दुई किसिमका हुन्छन् । एउटा अगाडि अन्तरासहित आउनेलाई चुट्का भनिन्छ । गीतको अन्तिममा उस्तै शब्द सुनिनेलाई चाहिँ खेली भनिन्छ ।'
आफूले गाएका गीतमध्ये रोइला गीत बढी व्यावसायिक भएका कारण मानिसहरूले शिरीषले रोइला मात्रै गाउँछ भन्ने भान पर्न गएको उनको बुझाइ छ ।
उनले लोकदोहोरी गीत पनि थुप्रै गाएका छन् । जसमध्ये 'करुवामा पानी', 'अन्तिम भेट', 'चाँचर', 'मालचरी', 'छोरो अमेरिका छ' लगायत हिट छन् ।
उनले राष्ट्रिय भावना बोकेका गीत पनि गाएका छन् ।
०६४ सालमा सुस्तासम्बन्धी शहीदको रगत भन्ने गीतमा देवकोटाले स्वर दिएका छन् ।
पाल्पा दर्मलडाँडाका शिरिष देवकोटा गाउँमा भजन, खेली हुँदा आमासँगै जान्थे । शिरीषका अनुसार आमाले निकै मीठो गीत गाउनुहुन्थ्यो ।
उनमा आमाको प्रभाव पर्यो । आमाले जस्तै गरी भाका हाल्न मन लाग्यो । बाल्यकालमा उनीसँग एउटा सुरिलो बाँसुरी थियो । जता जाँदा पनि उनी त्यही बाँसुरी बोकेर हिँड्थे । गोठालोमा होस् या घाँस काट्न जाँदा, त्यही बाँसुरी बजाउँथे । त्यसमै भाका हाल्थे । तर ती भाका मिल्थे या मिल्थेनन् उनले पत्तो पाउँदैनथे । मनमनै गुनगुनाइरहन्थे ।
उनले गाउँमा हुने पूजादेखि अन्य कार्यक्रममा खैंजडी लिएर गीत गाउन पुगेपनि स्कूल तथा बाहिरी प्रतियोगितामा आफूले एकपटक भाग लिएनन् रे !
१७ वर्षमै पहिलो एल्बम
विसं २०५६ सालतिर एसएलसी सकेर उनी पाल्पाबाट काठमाडौं आए । डाक्टर बन्ने धोकोसहित अस्कल क्याम्पसमा भर्ना भए तर उनको भित्री मनले भने गीतसंगीतलाई रोजिरहेको थियो । उनको मावली पनि संगीत क्षेत्रमै थिए । गायिका लक्ष्मी न्यौपाने शिरिषको मामाकी छोरी । लक्ष्मीमार्फत नै उनले गायन क्षेत्रका हस्तीहरूसँग चिनजान बाक्लियो । लक्ष्मी दिदीमार्फत नै गायक भगवान भण्डारीसँग नजिकिए । उनी भगवान भण्डारीलाई गुरु मान्छन् । कारण - काठमाडौं आउनेबित्तिकै पहिलोपटक उनलाई स्वर सुनाए ।
भगवानले शिरीषको स्वर मन पराए ।
पहिलो गीत रेकर्डिङको अनुभव सुनाउँदै भन्छन्, ' भगवान दाइले मेरो स्वर सुनेपछि तपाईं गाउन सक्नुहुँदो रहेछ पढ्न चाहिँ नछोड्नुस् तर गीतमा बल गर्दा हुन्छ भन्नुभयो ।'
त्यसपछि भगवानको दाइ सन्नी र उनको टीम मिलेर खोलिएको कान्तिपुर म्युजिकको लगानीमा शिरिषले ०५९ सालमा १७ वर्षको उमेरमै 'क्याम्पस बन्दमा' भन्ने पहिलो एल्बम निकाले । त्यसमा उनको एउटा एकल गीत थियो- मनको कुरा । अरू दुई गीत भने संयुक्त थियो ।
*****
उनी सानै छँदा शिरिषको आमाले एकदमै राम्रो गीत गाउनुहुन्थ्यो रे तर नियतिले उनलाई गायिका बनाएन । असल गायकको आमा बनाइदियो । भन्छन्, 'स्वर अत्यन्तै मीठो भएपनि उहाँले रेकर्ड त गर्नुभएन तर चाहना भने थ्यो होला । समयले साथ दिएन ।' त्यसैले आमाको इच्छा पूरा गर्न आफूलाई भगवानले यो स्थानमा पुर्याइदिएको उनलाई लाग्छ रे !
आमासँग गाउने मात्रै होइन, गीतका टुक्का मिलाउने शिल्प पनि रहेछ । आफूले गाएको अधिकांश रोइला गीतको पहिलो टुक्का आमाले लेख्नुभएको उनले स्वीकारे । भन्छन्, 'अहिले पनि आमाले दिनुभएको शब्दहरू सेलेक्सन गरेर मैले गीत लेख्ने गर्छु ।'
लोकप्रिय गीत 'यही चाल होला भन्या भा'को पहिलो टुक्का आमाले नै लेखेको उनले सुनाए । अझ उनले आफ्नो रोइला गीतका शब्दहरू संकलित हुने बताए ।
दोस्रो गीत 'धर्म कर्म छोडी' राम्रै चल्यो । एफएमहरूमा पनि बजिरहे । पश्चिमी भेगमा रुचाइयो । 'सांगीतिक जीवनमा पहिलो पाइला : रामपुर यात्रा' भनेर डायरी पनि लेखे उनले । गीत चलेपछि उनले पहिलोपटक स्टेजमा प्रस्तुति दिए रामपुरमा ।
पहिलो एल्बम निस्किँदा उनी मात्रै होइन, परिवार र गाउँनै झुम्यो । गाउँमा दिपावली मनाइयो रे ! सम्झिन्छन्, 'गीत निस्किएपछि जुनजुन घरमा क्यासेट थिएन, प्राय:ले किने । स्कूलमा पढाइ नै भएन । सबै गीत सुनेर बसे । अबिर जात्रा भयो ।'
त्यो बेलामा गीत निकाल्नु, चल्नु भनेको निकै ठूलो कुरा हुने र दर्शक तथा स्रोताबाट अत्यधिक सम्मान पाइएको उनको अनुभव छ ।
यही चाल होला भन्या भा…
०६५ सालमा शिरीषले गायिका विष्णु माझीसँग रोइला गीतमा काम गर्ने कुरा सोचेका थिए । उनी राजी पनि थिइन् तर लफडा आइदियो । गीत रेकर्डिङ गर्दाको क्षण सम्झँदै उनी भन्छन्, 'विन्द्याबासिनी र विष्णु माझीबीच केही विवाद भएका कारण उनले त्यहाँबाट निस्कने गीत नगाउने भइन् अनि तुरुन्तै फोन गरेर देवी घर्तीलाई बोलाएर गाइएको गीत हो ।'
उनले उक्त गीतले यति धेरै लोकप्रियता हासिल गर्छ भन्ने सोचेकै थिएनन् । त्यसपछि उनले पपुलारिटीको मज्जा राम्रैसँग लिए ।
गीत यति चल्यो कि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म गुञ्जिरह्यो ।
भन्छन्, 'यही चाल होला भन्या भा पछि मैले पछाडि फर्केर हेर्नुपरेन । त्यो गीत नै मेरो सांगीतिक जीवनको टर्निङ प्वोइन्ट बन्न पुग्यो ।'
सम्झन्छन्, 'निकै यति चल्छ भन्ने मेरो कल्पनै थिएन । ०६५ सालमा यो गीत निस्किएपछि पपुलारिटी पाउनुको मजा चाहिँ मैले लिएँ ।'
शिरिषले ०७६ सालमा नयाँ गीत 'छोरो अमेरिका छ' बजारमा ल्याए । सामाजिक विषयमा आधारित उक्त गीतमा अभिनेता नीर शाहले अभिनय गरेका छन् । गीतलाई श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले एक समारोहका बीच विमोचन गरेका थिए ।
भन्छन्, 'घाँटीको समस्या निको भएपछि चाँचर गीत बजारमा आयो । दिलीप रायमाझीले दोहोरी गीतमा नृत्य गरेको उक्त गीत मौलिक झ्याउरेमा आधारित थियो । दर्शकहरूले मन पराइदिनुभयो ।'
उनको 'यही चाल होला भन्या भा', 'दुर्गा हौ कि भवानी', 'नजरैको भर', 'माया लाउन मिल्छ र', 'तिर्खा लाए पानी' र 'यो दाइ फेरि आउँदैन' अत्याधिक रुचाइएका रोइला गीत हुन् ।
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...