तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका २ महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ ।
बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरा गर्नका लागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो ।
दूरसञ्चार प्राधिकरणबाट प्राविधिक टोली आएर कालिकास्थित अदलेखमा राखिएको टावर बनाएपछि आइतवार दिउँसोदेखि सेवा नियमित भएको गाउँपालिकाले जानकारी दिएको छ ।
चिनियाँ स्याटलाइट बन्द गरिदिएपछि भदौ अन्तिमसातादेखि सिंगो गाँउपालिकानै सञ्चारविहीन भएको थियो । लामो समयदेखि अवरुद्ध टावर बनेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।
मोबाइल टावर बिग्रिएपछि स्थानीयले ठूलो सञ्चार सास्ती खेप्दै आएको र टावर बनेसँगै शुक्रवारदेखि सूचना आदान प्रदान गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
भरपर्दो टावर नहुँदा पटक–पटक सास्ती खेप्दै आएको बताउँदै गाउँपालिकामा नयाँ टावर निर्माणका लागि ल्याइएको सामान भने बीचबाटोमै अलपत्र परेको स्थानीय दीर्घ शाहीले बताए ।
काइके गाउँपालिकामा भने टेलिफोन सेवा अझै सञ्चालन हुन सकेको छैन ।
लोकान्तर संवाददाता