महालोक गायक मनिरामको संगीत महायात्रा : शिक्षालय होइन, चहार्छन् बुढापाका

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

आधुनिक संगीत शिक्षालयलाई खुला चुनौती दिएका थारु महालोक गायक मनिराम चौधरीको २ दशकको लोक संगीतको यात्रा अनबरत जारी छ ।

‘कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको’ भन्ने नेपाली लोकउक्तिलाई मूल मन्त्र ठान्ने उनी आजसम्म सरेगामा......, पढाइने संगीत शिक्षालयको मुख देखेका छैनन् । यद्यपी सदियौंदेखि एक पुस्ताबाट अर्को पुस्तामा मौखिक पुस्तान्तरण हुने लोक संस्कृतिलाई क्रमभंग गरी आज नयाँ उचाईमा पुर्‍याएको श्रय उनलाई पनि जान्छ । मौखिक हस्तान्तरित लोक संगीत प्रविधिको लय संगै दस्तावेजीकरण हुँदै आएको हो ।


Advertisement

कैलाली जिल्लाको कैलारी गाउँपालिका–८ पृथ्वीपुर घर भएका मनिराम (४०) जब २०५८ ताका लोक संगीतको दैलो उघारे । त्यसयता थारु लोक संगीतले नयाँ उचाई चुमेको हो । मौखिक रुपमा प्रचलनमा रहेका ढमार, सजना, मागर, झुम्रा, मैना, समह्रौतीलगायत थारु लोक संगीतका धमाधम गीति क्यासेट, एल्बम, सिडी निस्किन थालेका हुन् । उनले शब्द संगीत भरेका लोक गीतहरू जनजिब्रोमा बस्न सफल छन् । दशकौं पहिले आएका गीतहरू आजको आधुनिक युट्युबलगायत सामाजिक सञ्जालमा पनि व्यप्त छन् ।

छैला टु ककरला हे अलफा मोर बैहिया हे
छैली टु पकरला हे अलफा मोर बाहिया हे
छैला टो दर्द दर्द नहि जाने
लिहुरु बैठी नही जाने......२ (मोर चम्फा फुलुवार एम्बम (२०६०)


Advertisement

विपन्न परिवारमा जन्मेका उनका बुवा पारिवारिक गर्ज टार्न कमैया बसेका थिए । उनका बुवा गोकरन प्रसाद चौधरी पनि कला संस्कृतिप्रति नै शौकिन हुन् । गोकरन एकताका ग्रामीण परिवेशमा मञ्चन गरिने ‘बैठक्की नाच’मा महिलाको पहिरनमा सजिएर रानीको भूमिका निर्वाह गर्थे । आफ्नै बुवाबाटै प्रभावित भएका मनिराम बैठक्की नाचमा गाइने लोक लयको भाका गुनगुनाउँदै आज प्रखर लोक गायकको रुपमा उदाउन सफल भएका हुन् ।

विछोड (२०५९) नामक गीति एल्बमबाट गायन क्षेत्रमा प्रवेश गरेका उनले ‘मोर चम्फा फुलुवारे’ (२०६०), ‘ज्यानकी कुवारी’ (२०६०), ‘सुन्दरिक बिलाप’ (२०६२), रोजल दुलहनिया, गोट्यार, हमार बगिया गरी हालसम्म डेढ दर्जन एल्बममा गरी ६९ वटा सांस्कृतिक र केही आधुनिक गीतमा स्वर भरेका छन् । केहि सांस्कृतिक र आधुनिक गीत बजारमा ल्याउने तयारी गरेको पनि उनी सुनाउँछन् ।

आफ्नो साहित्यिक र गायन यात्रावारे जानकारी दिदै उनले आफुलाई सह्रै मन पर्ने मध्येका झुम्रा लयको गीत गुनगुनाउँछन्–
सोहटीमै रहनु एक संग सेजियापे 
कब उठी गैलो बलमुवा हो हो रामा माया मोर कहिके लगैलो....।

अधिवक्ता समेत रहेका थारु लोक गीतका एक पूराना स्रस्ता देवीलाल चौधरीले गायक मनिरामको चर्चा गर्दै भन्छन्–‘२०५८ तिर गीति क्यासेटहरू हिन्दी र नेपाली भाषामा मात्रै भेटिन्थे । रेशमलाल चौधरी र स्वर्गिय गायक पतिराम चौधरीले गाएका फट्टफुट्ट केही मात्रामा थारु भाषाका गीत सुनिन्थे । क्याम्पस पढ्दा हामी विभिन्न कार्यक्रममा स्वागत गीत गाउँदा मनिराम निकै प्रभावित हुुन्थे । पछि मनिराम संग मिलेर ‘विछोड’ एल्बम निकाल्यौं ।’
त्यहाँदेखि नै लोक संगीतहरूको दस्तावेजीकरण धमाधम हुन थालेको बताउँदै देवीलालले मनिरामलाई थारु लोक गीत दस्तावेजीकरणका अभियान्ता भएको दाबी गर्छन् ।

मनिराम आज थारु लोक गायन क्षेत्रका स्वर सम्राट मात्रै होइनन् लोक संस्कृतिको एक अभिन्न अंग बन्न पुगेका छन् । उनी विना सांस्कृतिक कार्यक्रमको माहोल नै फिक्का हुने धेरैको अनुुभुती छ । भनिन्छ, जहाँ साँस्कृतिक कार्यक्रम त्यही मनिराम ।
उनी आफै भन्छन्–‘म आफै पनि लोक संस्कृति र वन संरक्षणकर्मी हुँ । मायाले बोलाउँछन् । कोठे कार्यक्रमदेखि मेला, महोत्सवमै प्रायः पुगेकै हुन्छु ।’

हालका आधुनिक गायक/गायिकालाई आफ्नो प्रस्तुती देखाउन आधुनिक प्रविधिको साहारा लिनुपर्ने हुन्छ । म्युजिक ट्र्‍याक विना उनीहरूको स्वरै फुट्दैन । तर मनिरामलाई एक थान नाम्लो भए पुग्छ । थाली भए पुग्छ । मादल र दफ भए सबथोक हुन्छ । उनको प्रस्तुतीले माहोल सिर्जना हुुन्छ । रोमाञ्चित हुन्छ । बालकदेखि बृद्धाबृद्धा झुम्न थाल्छन् । देशप्रेम, राजनीतिमाथि व्यंग्य, मायाप्रिति, क्रान्तिकारी, दुःखान्त, प्रकृति प्रेमलगायत विषयवस्तुलाई ठाउँको ठाउँमै लोक लयमा ढाल्न सक्नु नै उनको विशेषता हो । 

उठो होे दाजुभाइ
उठो उठो हो दादा भैया
थारुन्के अन्तिम लराई अभिन बाँकी बवै.....।

अधिकांशले गाएका गीतहरू हप्ता, महिना वर्षदिनपछि बिलाएर जान्छन् । तर उनको गायकी र शब्द चयनमा यस्तो जादुपन र मिठासपन छ कि, बालकदेखि जवान, बृद्धसमेतको जनजिब्रोमा एक पटक बस्यो त, बस्यो । दशकौं पहिले गाएका गीतहरू आज पनि उत्तिकै कणप्रिय र हृदय स्पर्षि लाग्छन् । सदाबहार छन् । उनले गाएको मध्ये ढमार लयको थारु लोक गीत कालजयी बन्न सफल छ ।

मनमे सोचु करममे लागल आग
किहिरे लगाउ बडनामे हो
दुखके डहल गैनु मै लैहर
लैहरमै भौजी रिसानी हो....। (एल्बम : मोर चम्फा फुलुवार २०६० बाट)

‘लोक महागायक’को उपाधी

गायन क्षेत्रको २ दशकमा रहेका मनिरामले थुप्रै कालाकारका लागि प्रेरणाका स्रोत पनि हुन् । हाल सांगीतिक जगत तताइरहेका दर्जनौ कलाकारहरू आफूले जन्माएको र आफ्नै सहकार्यमा उदाएको बताउँदै उनले केही गायक गायिकाको नाम पनि उल्लेख गर्छन् ।

‘गायिका स्वास्तिका चौधरी, सोमती चौधरी, समीक्षा चौधरी, अनु चौधरी, गायक रामकुमार कठरिया, सन्तराम चौधरी, नवगायिका अनुपा चौधरीलाई सम्झिन चाहान्छु । उहाँहरूले मबाटै आफ्नो करियरलाई अगाडी बढाएका हुन् ।' छोटो अवधीमा गायिका अनु चौधरी र समीक्षा चौधरी आफुभन्दा बढी व्यावसायिक भैसकेकोमा उनी गर्व पनि गर्छन् ।

गायन र लेखनमार्फत दिएको योगदान स्वरुप नै उनी थारु महालोक गायकको उपाधी पाएका छन् ।

२०६१ ताका कैलालीको बौनिया क्षेत्रमा बरघरहरूको सम्मेलन चलिरहेको घटना स्मरण गर्दै मनिराम भन्छन्–“सम्मेलनमा मलाई पनि निमन्त्रणा थियो । सम्मेलनको क्रममा बरघरहरूले भने–‘मनिराम जी तपाई जुन ठाउँमा जानुहुन्छ, माहोल अनुसारको लोक गीत बनाउन र गाउन सक्नु हुन्छ । सिर्जनशिलता छ । तपाई गायक मात्रै होइन गायकको पनि महागायक हो । तपाई महालोकलगायक हो भनेर आज निर्णय गर्‍र्यौ’ भनेर सम्मान गरे ।”
सम्मेलनको प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट समाजले दिएको महालोक गायकको उपाधीसहित सम्मान ग्रहण गरेको उनी सम्झिन्छन् ।

तर जब श्रम नाप्ने विभेदको तराजुमा आफुलाई जोखेको देख्छन्, तब उनको मुटु चसक्क दुख्छ । तर आफु कम मूल्यवान भन्दा पनि समाजको लागि अमूल्य छु भनेर चित्त बुझाउँछन् । लुखुरलुखुर घर फर्किन्छन् ।

‘म एकचोटी प्रस्तुती गरेबाफत ५ देखि २० हजारसम्म लिएको छु । तर म जिरो व्यालेन्समा पनि गाउँछु । मेरो कुुनै फिक्स रेट पनि छैन । संस्कृति प्रेमीहरू बोलाउँछन्, गरिब गुरुवाहरू मेरो माग गर्छन् । म जान्छु । सम्मान पाउँछु । मोल खोज्दैन’, गायक/गायिकाहरूको पारिश्रमिकवारे उठेको सवालमा निकै भावुक हुुँदै उनी अगाडी थप्छन््–‘तर एकै मञ्चमा जब म भन्दा जुनियरले म भन्दा बढी पारिश्रमिक लिन्छन् । नपाए जादैनन् अनि मलाई साह्रै दुःख लाग्छ । उसो त मेरो प्रस्तुती कुनै मानेमा कमजोर हुन्दैन, भन्ने कुरा दर्शकबाटै मूल्यांकन हुुन्छ । विडम्वना लोक संस्कृति पस्कने र अंग प्रदर्शन गर्नेबीच तुलना गरिन्छ र श्रममा विभेद हुन्छ ।’ 

त्यही समाजले दिएको सम्मान र त्यही समाजले नै दिएको विभेदपूर्ण मूल्यलाई काँखी च्यापी सदाबहार यात्रामा रहेका उनी अझै धेरै गर्न बाँकी देख्छन् । हालसम्म समाजको लागि २५ प्रतिशत मात्रै योगदान दिएको महसुस गर्ने उनी धेरै काम गर्न बाँकी नै देख्छन् । वर्षमा एक एल्बम जसरी भएपनि निकाल्ने लक्ष्य सुनाउँछन् । संस्कति बचाऊ आफ्नो अभियान बताउँछन् । बजारमा आउन लागेको संरक्षण सम्बन्धी गीतको मुखरा अगाडी प्रस्तुत गर्छन्–

ऐ है हरि डाडु चलो जाई रुखुवा लगाई....२
रुखुवा लगैबी हो डाडु बनी रे सुन्दर बनुवा....२

गायनभन्दा पहिले लेखनतिरै

गायक मनिराम लोक गायक मात्रै होइन्, उनी अब्बल दर्जाका साहित्यकार मध्ये पर्छन् । उनी गायन भन्दा पहिले लेखन कार्य शुरू गरिसकेका थिए । थारु भाषाको ‘विधुुवा’ उपन्यास (२०५७) बाट लेखनी सुरुका उनले ‘हिमालके मुस्कान’ (२०५८) कविता संग्रह, ‘रसाइल करम’ (२०५९) कथा संग्रह, ‘चम्फा फुलुवार’ खण्ड काव्य (२०५९), ‘दुखियारी बगिया’ उपन्यास (२०६१), ‘बापसे पुत ज्ञानी फाँदाले बझाई पानी’ कविता संग्रह, हरबड्डा निबन्धलगायत कृति प्रकाशित गरिसकेका छन् भने केही प्रकाशोन्मुख छन् ।

लेखन र गायन आफ्नो प्राण ठान्ने उनी गायन कलामार्फत वर्षमा साढे २ लाखदेखि ३ लाखसम्म कमाउँदै आएको बताउँछन् । तर पारिवारिक खर्च त्यातिले जोहो नहुने बताउने उनी वन संरक्षण सम्बन्धी कार्यमा संलग्न छन् । उनी वसन्ता संरक्षिण वनको ग्रामीण सहजकर्ताको रुपमा कार्यरत छन् । त्यहाँ कार्यरत रहँदा उनले वन तथा वन्यजस्तु संरक्षण सम्बन्धी विषयवस्तुलाई लोकलयमा ढाल्दै आएका छन् ।

बनुवामे बाटै बाघ बघुनी
बनुवामे बाटै गिड्रा हठुनी
बनुुवामे बाटै ढुक्कुर पक्षी
टाई टाइृ बोल्लै बनके सुगिना...।
‘२ बोतल डारु खुवाएर पनि सिक्छु’

उनी नयाँ गायकमा छाडापन देख्छन् । संस्कृतिमाथि प्रहार भएको महसुस गर्छन् । चित्ता नबुुझेर बेलाबखत नयाँ गायकहरूलाई सल्लाह सुुझाव दिएको सुनाउँछन्,–‘नयाँ गायक गायिकाहरूलाई भन्ने गरेको छु तपाईहरू १० वटा गीत गाउँनु हुन्छ भने २ वटा साँस्कृतिक गीत गाउँनुस् । शब्द चयनमा संवेदनशिल हुनुस् ।’

आजभोलि संगीत शिक्षा पढाउने अगिन्ती शिक्षालयहरू खुलेका छन् । संगीतमा भाविष्य देखेकाहरू ती शिक्षालय चहार्छन् । तर मनिराम आधुनिक संगीत शिक्षालय ढोका होइन संगीत सिख्न बुढापाका चहार्छन् ।

उनी भन्छन्–‘पुर्खाहरूको मुखारबिन्दुबाट निस्केको धुुन र लय नै मेरो संगीत विद्या हो । बुढापाकाले गाएको संगीतलाई अलिकति पनि तोडमरोड नगरी प्रस्तुत गर्न खोज्नु मेरो प्रयास रहन्छ । म त बुढापाखाहरूलाई २ बोतल डारु खुवाएर पनि सिक्छु, हाहा...(हाँस्दै) ।’

कमेन्ट गर्नुहोस्