कोरोना संक्रमणको दर बढेपछि अप्ठेरो परिस्थिति सिर्जना भयो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर बढेकाले देशैभर अप्ठेरो परिस्थिति सिर्जना भएको जनाएको छ ।

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको दर देशैभर फैलिएकाले सबैलाई सावधानी अपनाउन अपील गरे । 


Advertisement

उनले कुनै पनि सरकारी वा निजी कार्यालयमा बैठक, गोष्ठी र सेमिनार नगर्न अपील गरेका छन् । 

'सरकारी तथा निजी कार्यालयमा बैठक, गोष्ठी र सेमिनार बन्द गर्न र यदि बैठक गर्नैपरेमा भर्चुअल्ली गर्न अपील गर्दछौं,' डा. गौतमले भने, 'भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले स्थानीय पालिका, प्रदेश सरकारले जनस्वास्थ्यका मापदण्ड अपनाउन र अनुगमन गर्न अपील गरेका छौं ।'


Advertisement

उनले स्वाब संकलन गरेपछि रिपोर्ट नआउनेबेलासम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताए । 

डा. गौतमले कोरोना संक्रमण वृद्धि भएकाले अस्पतालका बेड र चिकित्सकहरू कम हुने भएकाले त्यसको उचित व्यवस्थापन गर्न सरकारी तथा निजी अस्पतालहरूलाई आग्रहसमेत गरे । 

उनले अस्पतालका कर्मचारीले सिफ्टमा काम गर्ने व्यवस्था मिलाउने र अनिवार्य रूपमा जनस्वास्थ्य मापदण्ड अपनाउनुपर्ने समेत बताए । 

पछिल्लो २४ घण्टामा उपत्याकामा मात्र ८७ जनामा संक्रमण देखिएको छ भने देशैभर ३ सय ६० मा संक्रमण देखिएको हो ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्