मनसुनी वर्षा केही दिन थप लम्बिने

फाइल फोटो

यस वर्षको मनसुन थप लम्बिने भएको छ ।

केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । बुधवार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो ।


Advertisement

मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको ४–५ दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म मनसुन कायम रहनेछ । गत वर्षझैं यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन गतिविधि बढ्ने प्रारम्भिक अनुमान गरिएको छ तर त्यसको वास्तविक जानकारी भने हरेक ४ वा ५ दिनको अन्तरालमा मात्र दिने गरिएको छ ।

‘नेपालमा पूर्वीय र मध्यक्षेत्र हुँदै पश्चिमतर्फ मनसुनी वायु सक्रिय भइसकेको छ, त्यसैले केही दिन कतै झरी र कतै भारी वर्षा हुने सम्भावना छ,’ अर्यालले भने । उनका अनुसार मनसुन बढी सक्रिय गराउने वायुसहित उत्तरपूर्व बंगालको खाडीमा ठूलो न्यूनचापीय क्षेत्र छ । जुन उत्तरपूर्व हुँदै उत्तरपश्चिम सर्दै गरेको अवस्थामा छ । त्यसको केही भाग उत्तरतिर सर्ने भएकाले बुधवारसम्म देशका समग्र भूभागमा नै मनसुनी प्रभाव कायम हुने सम्भावना छ । २ दिनपछि पश्चिम हुँदै घुमेर मध्य र पूर्वी भूभागमा सक्रिय हुनेछ ।


Advertisement

नेपालभन्दा अलिक पर भारतको मध्यप्रदेशमा न्यूनचापीय क्षेत्रको विकास भएको छ । अरब सागरबाट पनि जलवाष्प सहितको बादल न्यूनचापीय क्षेत्र नजिक आउँदै गरेको छ । यसले नेपालमा मनसुनी वायु चक्रझैं दोहोरिने भएको हो । मनसुन सकिने मिति घर्किंदै गर्दा पश्चिमी वायुसमेत सक्रिय हुने भएकाले त्यसका लागि समेत अहिलेको मनसुनी वायुले भूमिका खेल्ने मौसमविद् अर्याल बताउँछन् ।

पश्चिमी वायु उच्च भएसँगै पूर्वी वायुलाई त्यसले धकेल्दै लगेर आफ्नो प्रभाव जमाएपछि बल्ल मनसुनको अन्त्य हुन्छ । त्यसपछि भने हिउँदे वर्षाको समय शुरू हुन्छ । अघिल्ला केही वर्षयता कहिले मनसुन ढिला शुरू हुने त कहिले ढिला सकिने प्रवृत्ति देखिएको थियो तर यस वर्ष भने मनसुन शुरू भएकै दिन १० जुनबाट नै मनसुन सक्रिय बन्यो । गोरखापत्र दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्