खुला प्रतिस्पर्धाबाट रजिस्ट्रार छानेर मध्यपश्चिम विश्वविद्यालयले इतिहास रच्यो !

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिस्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् ।

मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिस्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । 


Advertisement

दरखास्त आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो । काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा नेतृत्वको ३ सदस्यीय छनोट समितिले आवेदकको आवश्यक मापदण्डका आधारमा डा. पौडेललाई छनोट गरेको थियो ।

१९ जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सहप्राध्यापक डा. पौडेललाई रजिस्ट्रार नियुक्तिका लागि मप विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको र प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गरेका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए ।


Advertisement

‘यसरी खुला प्रतिस्पर्धाबाट रजिस्ट्रार नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयहरूको इतिहासमा पहिलो घटना हो,’ उनले भने, ‘जुन काम यतिबेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्पन्न गरेको छ ।’

उपकुलपति प्रा.डा. सिंहले यसअघि राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्ति गरिने प्रणाली पूर्णरूपले तोडिएको जिकिर गरे । यसैगरी विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकाय गरी रिक्त ४ वटा डिन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ । आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई डिनमा नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्