न्यायाधीशज्यू, बिन्ती छ एक बोत्तल रक्सी पिउने अनुमति पाऊँ !

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

रक्सी नै पिएको छैन भने पनि केही कुरा अपाच्य हुनेगरी लेख्दा, बोल्दा यो मगरले रक्सी पिएर बोल्यो, लेख्यो भनेर आरोप लगाउने धेरै छन्, त्यसैले एकबारको जुनीमा वंशाणुगत गुणकै मान्यताप्राप्त यो मतवालीले घरेलु रक्सीलाई गरिएको हुर्मतजन्य अपमानप्रति दुई चार शब्द कोर्दैछ । कृपया, रक्सी पिएर लेखको नठान्नु होला ।

हाम्रो गाउँमा मगरहरूको बस्ती बाक्लो छ । यसकारण घरेलु रक्सीसँग मेरो परिचय चिया र बिस्कुटको जस्तो भएर आएको छ । एक प्रकारले भन्ने हो भने मेलै गर्भमै रक्सी पिएको हुँ । थाहा छैन मेरो पुर्खाले कहिलेदेखि रक्सी पिउन शुरू गरे तर जसरी रक्सीको आविस्कार गरे त्यो सामाजिक जीवनको एक अभिन्न प्रयोग थियो भन्ने मलाई लाग्छ । भन्न त मानिसहरू रक्सीले मरिन्छ भन्छन् । खान नजान्दा त भात र मासुले पनि सुगर, प्रेसर, कोलेस्टेरोल भएर मरिन्छ ।


Advertisement

चाड पर्व होस्, बिहेबारी होस्, कुलपूजा होस्, जन्म र मृत्युका पवित्र संस्कारहरूमा मैले अगरबत्तीभन्दा धेरै रक्सी देखेँ, भजन-किर्तनभन्दा धेरै रक्सीको नशा देखेँ । किनकी हाम्रो देउताहरू रक्सी पिउँथे । देवता नै रक्सी पिउँछन् भने उनका सन्तानहरूले के गर्छन् होला ? अहिले पनि मैले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्‍यो भने एक बोत्तल रक्सी नभई हुँदैन । यस्तो पवित्र रक्त चन्दन जस्तो धार्मिक चिजलाई प्रहरीले सडकको फोहोरको डंगुरमा मिसाएर फ्याँकिदिएका छन् ।

भनिन्छ, अति गर्नु तर अत्याचार नगर्नु । यो चाहिँ अति नै भएको हो । देशको ढुकुटी जति विदेशी महंगा ब्राण्डका मदिरा र वाइनहरूमा गएको छ । तर गाउँको कोदोको रक्सीसँग राज्यलाई किन रिस उठ्यो मैले अहिलेसम्म बुझ्न सकेको छैन । शहरमा ४ लाखदेखि १०० सम्मका मदिरा छन् । मदिरा नै हटाएर एकदम सभ्य र शान्त लोककल्याणकारी राज्य बनाउने हो भने विदेशी महंगा ब्राण्डका रक्सीको आयात पनि बन्द गर्नुपर्ला । तर साउदी अरबमा जस्तो कट्टर मुस्लिम देशको प्रशासन समेत रक्सीप्रति यो हदको असहिष्णु छैन ।


Advertisement

जनजातिको छोराले कसैको छोरी भगाएर ल्यायो भने पुसाजुको हातमा रक्सी बोकाएर केटीको घरमा जानकारी दिन पठाउने चलन छ। बिहेमा दाइजोको कुराभन्दा धैरै कति बोत्‍तल रक्सी ल्याउने हो त्यो महत्त्वपूर्ण हुन्छ । साँचो अर्थमा मगरहरूको बिहे रक्सीविना खल्लो हुन्छ, अपुरो हुन्छ । बिहेमा रक्सी के कति आवश्यक पर्ने हो, त्यो अदालतले फैसला गरिदिएर हुने कुरा होइन । हाम्रो कुल पूजामा देवताहरूका लागि कति लिटर रक्सी चढाउने हो त्यसको अनुमति किन कुनै प्रशासनबाट लिनु पर्ने ?

जसको देवता नै रक्सी पाएपछि खुसी हुन्छन् भन्ने धार्मिक, सांस्कृतिक मान्यता छ उनीहरूका लागि चाडपर्व, जन्म, मृत्यू, भोजभतेर, पाहुना आउँदा घरेलु रक्सीको कति धेरै महत्त्व छ त्यो भनिरहन परेन । दशैं, तिहार जस्ता पर्व आउँदैछन् । कोरोना भाइरसका कारण विगतमा  जस्तो रमाइलो यसपालि त नहोला, तर विगतका सम्झना ताजा नै छन् । दशैं, तिहार नजिकिँदै गर्दा गाउँमा प्रत्येक घरमा रक्सी बनाउने काम हुन्थ्यो। महिनौंदेखि त्यसको तयारी हुन्थ्यो । लाहुरेहरू सात समुद्र पारिबाट त्यही घरेलु रक्सीको सम्झनामा थुक निल्दै घर आइपुग्छन् । तर अब यो प्रतिबन्धित एक विषजस्तो भएको छ।

घरेलु रक्सी विष हैन । यो कुनै केमिकल त हुँदै हैन । कहीँ कतै लापरवाही भएका छन् भने त्यसको छानबिन र कारवाही हुनुपर्छ, तर घरेलु रक्सी मूलत:, कोदो नै हो । घरेलु रक्सीको महत्त्व ग्रामीण समाजमा औषधिको जस्तै छ किनकी औषधिमा पनि हुने त धेरै मात्रमा अल्कोहल नै हो । गाउँमा स्वास्थ्यचौकीहरू नहुँदा रुघाखोकी लागेमा, टाउको दुखेमा, निद्रा नपरेमा कोदोको लोकल रक्सी घिउमा अलिकलि चामल राखेर झ्वाइँ पारी खट्टे खाने चलन छ । तपाईंहरूलाई खोकी लाग्यो भने एक गिलास जति कोदोको रक्सी तताएर पिउनुभयो भने खोकी चट हुन्छ । भन्थ्यो भन्नुहोला, लेखेर राख्नुहोस् ।

तर पछिल्लो समय गाउँमा यातायातको सुविधा भएसँगै लोकल रक्सीको उत्पादन बिस्तारै कम हुँदै गएको छ । शान, फेसन र रवाफ देखाउनका लागि अनि म कुलीन परिवारको मान्छे हुँ भन्नका लागि गाउँ–गाउँमा विदेशी ब्राण्डका रक्सीहरू पुगेका छन् । भैँसी बेचेर कमाएको पैसाले मानिसहरू भारतीय रम पिइरहेका छन् । अलिक पैसा कमाएका व्यापारीहरू रेड लेबल, ब्ल्याक लेबलजस्ता मदिरा पिइरहेका छन् । र यो पैसा सबै विदेश गइरहेको छ । घरेलु रक्सी केवल गरीबहरूको, भरियाहरूको, पैसा नहुनेहरूको जस्तो भएको छ ।

देशको ढुकुटी जति विदेशी महंगा ब्राण्डका मदिरा र वाइनहरूमा गएको छ । तर गाउँको कोदोको रक्सीसँग राज्यलाई किन रिस उठ्यो मैले अहिलेसम्म बुझ्न सकेको छैन । शहरमा ४ लाखदेखि १०० सम्मका मदिरा छन् । मदिरा नै हटाएर एकदम सभ्य र शान्त लोककल्याणकारी राज्य बनाउने हो भने विदेशी महंगा ब्राण्डका रक्सीको आयात पनि बन्द गर्नुपर्ला ।

यसरी मदिराको बजारीकरण कसले गर्‍यो त ? दुर्गम गाउँको कुनामा कसरी ब्ल्याक लेबल पुग्यो त ? गाउँका पसलहरूमा समेत कसरी रेड लेबल पुग्यो त ? पुग्नुपर्ने त मल थियो, बिउ बिजन थियो, औषधि थियो तर कसरी पुग्यो युरोपको रोजी वाइन ? हो, पक्कै पनि राज्य यहाँ व्यापारी भएको छ । राज्य यहाँ पूँजीपति वर्गको हितमा छ । गिटी बालुवा समेत बेचेर खाने राज्यका प्रतिनिधिहरूको दिमागमा केबल व्यापारको जोडघटाउ हुन्छ ।

शुरू–शुरूमा भारतीय कम्पनी ठेकी जान्थ्यो, प्लास्टिकको पेकामा पनि रक्सी जान्थ्यो । त्यसयता गाउँ शहरमा धेरै किड्नीको बिरामी बढेको मेरो अनुमान छ । मानिसहरूको स्वास्थ्यप्रति कुनै चिन्ता छैन । ठूला होटलमा कस्ता रक्सी छन्, कुन कम्पनीका छन्, के–के केमिकल छन्? कतै चेकजाँच भएको छ? छैन, किनभने त्यो पूँजीपति ठूला व्यापारीहरूको जिनिस हो । त्यस्ता जिनिसहरूको अपमान गर्नु हुँदैन ।

यो राज्यलाई त यस्तो गर्नुपर्छ कि, महिला केटाकेटीहरूलाई गर्नुपर्छ, तिनका घरभित्र छिरेर रक्सी जफत गर्नुपर्छ । र तिनीहरूको सार्वजनिक बदनाम हुने गरी मानिसहरूको भीडमा पत्रकार सम्मेलन नै गरेर रक्सी फ्याँकिदिनुपर्छ । टेलिभिजनमा समाचार देखिनुपर्छ । स्थानीय नेता र प्रहरीका हाकिमहरूले भाषण गर्नुपर्छ । ताकि त्यो रक्सी बनाउनेको शिर कहिल्यै नउठोस्, त्यो लाजले फेरि यस्तो कुकर्म नगरोस्, फेरि यस्तो अपराध नगरोस् ।

व्यापारीहरूलाई राज्यलाई विदेशी रक्सी बेच्दा नाफा भएकै छ । किनकी उनीहरूको करोडौंको व्यापार हुन्छ । राजस्व पनि सोही स्तरमा उठ्छ । तर राजस्व र धेरै पैसाको नाममा स्थानीय उत्पादन, घरेलु उत्पादनलाई नास गर्नु शायद संघीयता र स्थानीय सरकारको मर्मविपरीत होला । नारामा त सुनिन्छ, स्थानीय उत्पादनलाई संस्थागत गर्ने, तिनको प्रवर्द्धन गर्ने, राज्यले लगानी गर्ने तर यस्तो हुँदैन । जतिसुकै तर्क गरेपनि यो राज्य अन्तत: पूँजीपति वर्गहरूकै हितका निम्ति काम गर्छ । घरेलु रक्सी उत्पादनमा रोक लगाउनुको मुख्य कारण पनि यही हो ।

प्रहरीले घर–घरमा छापा मारेर रक्सीलाई फोहोरको नालीमा बगाएको छ । कसैको रितीरिवाज र धर्मकर्ममा समेत प्रयोग हुने घरेलु रक्सी यसरी फोहोरको नालीमा बगाइदिन मिल्छ ? कुन  बहादुरी हो यो ? मलाई लाग्छ यो कायरता हो । घरेलु उत्पादनको रोक हैन, यसलाई वैज्ञानिक ढंगले राज्यकै स्तरबाट सञ्चालन गर्नुपर्छ । यदि समाज नै, देश नै रक्सीविहीन गराउने हो भने सबै खाने विदेशी रक्सीहरूको आयातित रोक लगाउनु पर्छ । रक्सीविनाको लोक कल्याणकारी राज्य साउदी अरबमा पनि छैन, नेपालमा कसरी कल्पना गर्न सकियो ?

विश्वका धेरै देशहरूमा घरेलु मदिरा उत्पादनलाई राज्यले नै सहयोग गरिरहेको छ । युरोपबाट आउने वाइनहरू त्यहाँका आदिवासीहरूको घरेलु उत्पादन हो। स्याउ, अंगुरजस्ता फलफूलहरूको वाइन युरोपमा निकै लोकप्रिय छ । के हामीले नेपालको घरेलु रक्सीलाई उनीहरूले जस्तै विश्वभरी व्यापार गर्न सकिन्न र ? विष हालेर रक्सी त बन्दैन, कोदो, जौ, गहुँ, स्याउबाट नै रक्सी बन्ने गरेको छ। कहीँ कतै केमिकल र गलत अखाद्य वस्तुको प्रयोग गरिएको छ भने त त्यसलाई कारवाही गर्नुपर्‍यो ।

जनजाति महिलाहरूका लागि रक्सी आर्थिक स्रोतको एउटा भरपर्दो माध्यम पनि हो । यदि राज्यलाई कर चाहिएको हो भने मापदण्ड बनाउनु पर्‍यो हैन भने घरेलु रक्सी बेचेर आफ्ना केटाकेटीलाई स्कूल पढाएको, कापीकलम किनिदिएको, घरमा अवश्य नुन, चिनी, चामल किनेको उदाहरण मेरो आफ्नै परिवार नै छ । जनजातिहरूले आफ्ना पुर्खाहरूले गर्दै आएको पेशा सामान्य ढंगले अगाडि बढाउँदा राज्यलाई के चोट पर्छ, कहाँ असर पर्छ थाहा छैन ।

त्यो जेसुकै होस्, घरेलु उत्पादनलाई घृणा हैन, प्रवर्द्धन गर्नु राज्यको कर्तव्य हो ।

धेरै मानिसहरूले आजभोलि 'गाउँको पेओर लोकल रक्सी हो भने अलिकति पिउँछु नत्र म नखाने' भन्न थालेका छन् । अर्ग्यानिकको जमाना आएको भएर होला मानिसहरूलाई हरेक चिज गाउँको मन पर्न थालेको छ । दूध-घ्यू गाउँको, सागपात गाउँको, आलु गाउँको, फर्सी काँक्रो गाउँको, मानिसहरूलाई गाउँको दु:खबाहेक सबैकुरा मन पर्न थालेको छ।

तर दु:खको कुरा हालसालै सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ । सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ ।

न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो । न्यायाधीशज्यू, ५ लिटर रक्सीले के हुन्छ ? त्यसरी कसरी बिहे भोज चल्छ ? कसरी जन्म र मृत्यु संस्कार चल्छ ? कसरी सांस्कृतिक परम्परा जोगाउन सकिन्छ ?

हाम्रा देउताहरूले के पिउँछन् ? केटाकेटीहरूलाई कापीकलम कसरी किन्ने हो ? न्यायाधीशज्यू कृपया दिनमा एक बोतल रक्सी पिउन पाउँ । यो हिसाबले त कहाँ पुग्छ त तपाईंको मापदण्डले ? नाकमा लगेर सुँघ्न पनि पुग्दैन । यसो भाइसाथीसँग भेटघाट हुँदा त झन् त्यो शीतको थोपा जस्तो हुन्छ ।

मदिरासम्बन्धी नियम २०३३ को नियम (७) मा कुनै व्यक्तिले निजी प्रयोजनका लागि एकपटकमा पाँच लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन अनुमति लिन नपर्ने उल्लेख छ । त्यस्तो जाँडरक्सी वर्षको ६ पटकभन्दा बढी बनाउन नपाइने, निजी प्रयोजनका लागि रक्सी वा जाँड बनाउने व्यक्तिले सो जाँड वा रक्सी बनाएको सूचना अन्तशुल्क अधिकारीलाई दिनुपर्ने व्यवस्था छ । उपभोक्ता संरक्षण ऐन, २०७५ ले पनि अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न रोक लगाउँदै नियमको पालन नगरेमा ५ वर्षसम्म कैद र बिगोबमोजिम जरिवानाको व्यवस्था गरेको छ । यस्तो कानून सरासर घरेलु उत्पादनलाई रोक लगाउनेतर्फ उन्मुख छ ।

नेपाल आईएलओ सन्धि १६९ मा हस्ताक्षर गर्ने पक्ष राष्ट्र हो । आदिवासी जनजातिको जीवनशैली र प्राकृतिक स्रोतबारे यो सन्धिमा प्रस्ट कुरा उल्लेख गरिएको छ । ३० वर्ष अगाडि बनाएको मदिरा नियन्त्रण ऐनको फेरि समीक्षा गर्नुपर्ने बेला आएको छ, अन्यथा यो नियम आईएलओ सन्धिको मर्मविपरीत रहेको ठहरिन्छ । राज्यले यस्ता सन्धि सम्झौताहरूको पालना गर्नुपर्छ कि पर्दैन ?

फ्रान्सको कोन्याक कम्पनीले उत्पादन गरेको ‘क्यामुस केभ्यू ५.१५०’ । जसको नेपाली बजारमा ७५० मिलिलिटरको एक बोतलकै ४ लाख ९९ हजार ९ सय ५५ रुपैयाँ पर्छ । त्यो नेपालमा उपलब्ध छ,  तर जनताको घर-घरभित्र छापा मारेर बरामद गरेको १० हजार अवैध घरेलु मदिरा पत्रकार तथा सरकोकारवाला निकायको रोहवरमा नष्ट गरिरहेका छन् ।   पत्रकारहरूले रमाइलो मान्दै फोटो खिचेका छन्।  सरोकारवाला निकाय भनिएकाहरूले प्रहरीको तारिफ गरेका छन्, मानौं प्रहरीले कर छलि गरेर विदेशबाट ल्याइएका ठूला व्यापारीका करोडौं मूल्याका रक्सी बरामद गरेका थिए ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा २ अर्ब २० करोड रुपैयाँ मूल्य बराबरका १ करोड २८ लाख लिटर मदिरा आयात भएको थियो । ठूला व्यापारीका महंगा रक्सी त कर छलेर दैनिक भित्रिएका छन्। ती पूँजीपति वर्गलाई यो राज्य दाहिना भएको छ । सरकार नै पूँजीपति छ । बाहिर खोल कम्युनिस्ट छ, भित्र सामन्ती सोच छ । जनताका स-साना सपनाका यस्ता घरेलु उत्पादनलाई नियन्त्रण गर्दा निम्न आयस्तरका जनताको श्रमको मूल्य र उनीहरूको पुर्ख्यौली पेशाको महत्त्वबारे तिनीहरूले केही बोलेनन् । घरेलु उत्पादनको पक्षमा बोल्ने त कुरै आएन । स्थानीय सरकार आयो भने त स-साना व्यापार गर्नेहरूलाई झन् सहायता हुन्छ भन्ने सुनिएको थियो, नेता पनि बोलेनन्, जनप्रतिनिधि पनि बोलेनन् ।

के घरेलु उत्पादनको रक्सी प्रयोग गर्नै नहुने किसिमको हो त ? के राज्यले नीति बनाउने नसकेर नियन्त्रक मात्रै बन्ने हो त?  अमेरिकी सञ्चार संस्था ‘सीएनएन’ ले संसारका ५० मीठो पेय पदार्थको सूची निकालेको थियो । नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो- घरेलु रक्सी । उक्त रक्सी वर्णन गर्दै सीएनएनले भनेको थियो- ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ । यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि अचम्मको आनन्द दिन्छ ।’ न्यायाधीशज्यू, यस्तो आनन्द दिने रक्सीलाई किन नियन्त्रण ? न्यायाधीशज्यू बिन्ती छ, एक बोत्तल रक्सी पिउने अनुमति पाऊँ ! किनकी मैले मात्र रक्सी खान पाउँ भनेको त हैन नि !

नेपालमा मात्र हैन विदेशमा पनि रक्सी संस्कृति छ। चीनमा रक्सीलाई उच्च प्राथमिकतामा राखिन्छ । चिनियाँ संस्कृतिअनुसार पाहुनाको स्वागतका लागि रक्सी नभई हुँदैन । नोबेल पुरस्कार विजेता विश्व प्रसिद्ध चिनियाँ लेखक मो यानले उपन्यास नै लेखेका छन् रिपब्लिक अफ वाइन अर्थात् रक्सीको गणतन्त्र । चीनमा मात्र हैन विश्वभरी नै घरेलु उत्पादनको धेरै महत्त्व छ । विदेशी नेताहरू प्रधानमन्त्री र राष्ट्रपति नेपाल आउँदा नेपालको ब्राण्ड बनाएर लोकल रक्सी पिउन दिनुपर्छ । नेपालको मदिराको ब्राण्ड घरेलु उत्पादन हुनुपर्छ ।

कि मैले रक्सी पिएको मान्छेले जस्तै गलत कुरा गरें र ?

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्