चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएको छ । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझदेखि बसेका शाहलाई आज साँझबाट छातीमा समस्या देखिएको हो ।
शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिएको छ । यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए ।
उनका अनुसार शाहको प्रेसर र मुटुको चाल बढी देखिएपछि आत्तिनुपर्ने अवस्था रहेको छैन । इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनको भनाइ छ ।
रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।
लोकान्तर संवाददाता