प्रदेश नम्बर १ स्थित प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ ।
नेकपा विभाजनपछि शुरू हुन लागेको प्रदेश सभाको सातौं अधिवेशनलाई निकै महत्त्वका साथ हेरिएको छ ।
नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ ।
ओली पक्षले भने प्रचण्ड नेपाल पक्षका १६ जना सांसदलाई ३ महिनाका लागि निलम्बन गरेको छ ।
आजको बैठकका लागि दुवै पक्षले आ-आफ्नो रणनीति बनाएका छन् ।
निलम्बन गरिएका सांसदहरूलाई प्रदेश सभा बैठकमा सहभागी हुन नदिने ओली पक्षको तयारी छ भने प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्री राईलाई दलको नेताको हैसियतमा प्रदेश सभामा सम्बोधन गर्न नदिने रणनीति अख्तियार गरेको छ ।
दुई पक्षको आ-आफ्नै रणनीतिका बीच मुठभेड हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेश सभामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मर्यादापालकको संख्या थपिएको छ भने कुर्सीहरूलाई निकाल्न नमिल्ने गरी वेल्डिङ गरिएको छ ।
लोकान्तर संवाददाता