पश्चिम बंगालमा ममता बनर्जीको तृणमूल कांग्रेसले प्रचण्ड बहुमत ल्याएर तेस्रो कार्यकाल चलाउने भएको छ ।
यस निर्वाचनले भारतीय राजनीतिमा चारवटा पाठ सिकाएको देखिन्छ ।
पहिलो, भारतीय जनता पार्टी रोक्नै नसकिने शक्ति हैन र उसलाई दह्रो जनाधार भएको क्षेत्रीय नेताले हराउन सक्छ । अमित शाहको आक्रामकताले कमजोर विपक्षीलाई मात्र हायलकायल पार्न सक्छ, ममता जस्ती दह्री नेत्रीलाई त्यसले केही फरक पार्दैन । शाहले केन्द्र सरकारका सबै संयन्त्र लगाएर तर्साउँदा पनि हराउन नसकेको उदाहरण उद्धव ठाकरे र ममता बनर्जीले प्रस्तुत गरेका छन् ।
दोस्रो, अब राजनीतिक पेन्डुलम भाजपाबाट टाढिएको छ । कोभिडको दोस्रो लहरको कुव्यवस्थापन तथा अक्सिजनको चरम अभावले मोदीलाई ठूलो मूल्य चुकाउन बाध्य बनाउनेछ । अहिलेसम्म भाजपाले चुनावी जीतलाई शासनबाट टाढा राख्न सफल भएको थियो । तर अब त्यसमा परिवर्तन आउनेछ किनकि उत्तर प्रदेश र मध्य प्रदेशमा जनतामा सरकारप्रति चरम आक्रोश छ जुन कुरा आगामी विधानसभा निर्वाचनमा प्रतिबिम्बित हुनेछ ।
तेस्रो, भाजपाका विपक्षीहरू सबै क्षेत्रीय शक्ति हुन् जुन कुरा बंगाल, केरला र तमिलनाडुको परिणामले पुष्टि गरेको छ । केरलमा सत्तारूढ दलले कहिले पनि चुनाव जितेको इतिहास छैन तर त्यहाँका मुख्यमन्त्री पिनारायी विजयनले निरन्तर दोस्रो कार्यकाल चलाउन लागेबाट क्षे त्रीय दलको शक्ति देखिएको छ । कांग्रेस र उसको नेतृत्व चाहिँ झन् झन् कमजोर हुँदै गइरहेको देखिन्छ ।
चौथो, पश्चिम बंगालले मोदी र शाहलाई आत्मनिरीक्षण गर्न बाध्य बनाएको छ । प्रशान्त किशोरको सुझबुझपूर्ण चुनावी अभियानले काम गरेको छ ।
अब सबैको आँखा पञ्जाब र उत्तर प्रदेशको विधानसभा निर्वाचनतिर सोझिनेछ ।