२४ जेठ २०८३, आइतबार

‘गुलेली ग्याङ’ले खुकुरी नचाएर सकिएको फिल्म रातो घर !

कात्तिक २०, २०७४
‘गुलेली ग्याङ’ले खुकुरी नचाएर सकिएको फिल्म रातो घर !
मान्छेलाई पैसाको लोभले कस्तो स्थिति सृजना गर्न सक्छ ? सेता मान्छेहरु पनि कसरी कालो काम गर्ने धन्दाको सञ्जालमा पर्छन् ? यस्तै घटनाको वरिपरि घुमेको चलचित्र ‘रातो घर’ परिस्थितिले सृजना गरेका पात्रहरुबीचको द्वन्द्व हो । पछिल्लो समय प्रदर्शित नेपाली चलचित्रका तुलनामा चलचित्र ‘रातो घर’ले दर्शकलाई केही राहत दिन सक्छ ।18902605_1441842262529087_625814232_n

एक लाइनमा भन्नुपर्दा चलचित्र राम्रो छ । फिल्ममा समावेश चोटिला संवादले पुरै चलचित्रलाई हेर्नलायक बनाएको छ । सुरुदेखि अन्तसम्म दर्शकलाई बाँधेर राख्ने दम चलचित्रमा छ । कथाको शक्ति चलचित्रमा अग्र छ ।

झापाको एक बस्तीमा गुलेली ग्याङ हुन्छ । ग्याङमा कात्तिके (संयम् पुरी), दुक्की (गौरव पहारी), झखमले (विल्सन विक्रम राई), कोरियन (विकेश श्रेष्ठ) लगायतको एउटा समूह छ । झखमले सबै साथीको प्रिय छ । त्यसैले पनि चलचित्र झकमलेको कथा वरिपरि घुम्छ । गुलेली ग्याङका सबै सदस्यले झखमलेको सल्लाह मान्छन् । उनीहरुको काम भनेको नै झापालीले दिएको सानोतिनो काम गर्नु हो । गाउँकै बाटो हिँड्ने मान्छेहरुसँग चन्दा उठाउने हो । गलत बाटो हिँडेर भए पनि टन्नै पैसा कमाउने सपना देखेको यो समूह कसरी समस्याको दलदलमा फस्छ र उनीहरुको जिन्दगीमा कसरी अझै ठूला घटना घटित हुन्छन् भन्ने कुरालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ, चलचित्र रातो घरमा ।

निर्देशक सुरज सुब्बा ‘नाब्लो’ आफ्ना फ्लप फिल्मको ह्याङ्गबाट फ्रेस भएका छन् । स–साना कमजोरीलाई नजरअन्दाज गर्ने हो भने उनी रातो घरमार्फत प्रशंसाका पात्र हुन् । सामान्य घटना र परिवेशलाई उनले सुन्दर ढंगले पर्दामा प्रस्तुत गरेका छन् ।

मूलतः सबै कलाकारको अभिनय आकर्षक छ । संयम पुरी र विल्सन विक्रम राईले आफूलाई अभिनयमार्फत बोल्ड बनाएका छन् । मूख्य भिलेनका रुपमा देखिएका झापाली (अनुराग कुवँर) ले पनि अभिनयमार्फत डरलाग्दो प्रस्तुति दिएका छन् । फिल्म हेरुञ्जेल कतिपय दर्शकलाई उनी साँच्चिकै खलपात्र नै हुन् कि भन्ने भाव दिलाउँछ । बार डान्सरका रुपमा प्रस्तुत भएकी मेनुका प्रधानको अभिनयले पनि दर्शकको मन जित्छ ।

लेखक तथा निर्देशक सुरज सुब्बा ‘नाब्लो’ ले चलचित्रको पूरै कथा र संवादमा कडा मिहिनेत गरेका छन् । चलचित्र त्रुटिपूर्ण हुँदाहुँदै पनि दर्शकको मन जित्नुको एउटा बलियो कारण यही हो ।
झापाको कहानीलाई फिल्ममा जोडिए पनि चलचित्रको परिवेश र विषयवस्तु पूरै झापामा पुग्न नसकेको महसुस हुन्छ दर्शकलाई । निश्चित दृश्य चलचित्रमा दोहोरिएजस्तो लाग्छ । यद्यपि दृश्यलाई सिनेमाटोग्राफर हरि घले लामाले गज्जबले क्यामेरामा उतारेका छन् । केही शट पट्यारलाग्दा लागे पनि औषत रुपमा चलचित्रमा छायांकन पक्ष सुन्दर नै छ ।
त्यसो त चलचित्र ग्याङस्टारको कथामा बनेको छ । त्यसैले पनि सिनेमामा तीन पक्षबीचको गुण्डागर्दीले घटनाक्रम अगाडि बढ्छ । निर्देशकले कथानकको क्लाइमेक्सलाई बडो मेहनतका साथ ल्याण्ड गरेका छन् ।

तर, फिल्ममा स–साना कमजोरी भने हाबी छन् । जस्तो कि, केही दृश्य अँध्यारोमा खिचिएका छन् । तर ती दृश्यमा पात्रहरु चाहिनेभन्दा बढी चिच्याएका छन् । टोल नै थर्किने गरी चिच्याउनु दर्शकका लागि खल्लो अनुभव हुन सक्छ । त्यस्तै मेनुका प्रधान हस्पिटलमा चिच्याउँदा छेउमा सुतेको बिरामीलाई किन कुनै असर पर्दैन ? के हस्पिटलमा त्यति नाटकीय रुपमा चिच्याउनु जरुरी थियो ? यस्ता स–साना कुरामा समस्या देखिएका छन् । अर्थात कुनै दृश्यमा पात्रलाई जोडजोडले चिच्याउन लगाइएको छ ।

खुकुरी नचाएरै गुलेली ग्याङले आफूलाई स्थापित गराएका छन् । खुकुरीले छपछपी काट्दा पनि कसैको रगत बग्दैन । यस्ता कैयन कमजोरी चलचित्रको सतहमा आए पनि चलचित्रले अन्तसम्म भने दर्शकलाई बाँधेर राख्छ ।

चोटिला संवाद, आकर्षक कथावस्तु र कलाकारको अभिनयले चलचित्र स्तरीय बनेको छ ।

समग्रमा चलचित्र राम्रो छ । यदि चलचित्रको फ्यान हुनुहुन्छ भने यो चलचित्र तपाईका लागि राम्रो खुराक बन्न सक्छ । पूरै परिवारका साथ हलमा बसेर सिनेमा हेर्दा पनि तपाईलाई असहज महसुस हुने छैन ।

salt training

कमेन्ट गर्नुहोस्