तदर्थवादबाट मुक्त गर्दै कांग्रेसलाई यसरी दिन सकिन्छ पुनर्जीवन

गुरूराज घिमिरे
गुरूराज घिमिरे

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

नेपालका राजनीतिक दल हरू तदर्थवादी चिन्तन र व्यवहारबाट ग्रस्त देखिन्छन् । यसपालि भैहाल्यो, अर्को पल्टचाहिँ राम्रो गर्ने ! तर त्यो अर्कोपल्ट कहिल्यै आउँदैन । अर्थात्, आएको अर्कोपल्ट पनि थप अर्कोपल्टलाई जिम्मा लगाएर तदर्थवादी निष्कर्षमा टुङ्गिन्छ ।


Advertisement

पार्टीभित्र मात्र होइन, देश सञ्चालनमा पनि यही प्रवृत्ति हावी छ । तानाशाही शासन प्रणालीसँग त कसैको आश नै थिएन, तर यसको अन्त्यपछि त राम्रो होला भन्ने अपेक्षा समेत बारम्बार टुटेको छ । नेपालले बहुमूल्य समयलाई निरर्थक तुल्याएको छ । तर अब हामीसँग समय खेर फाल्ने सुविधा पटक्कै छैन ।


Advertisement

त्यसैले कांग्रेस महाधिवेशनको संघारमा उभिएका बेला हामीले के गर्ने त? भन्ने अनगिन्ती प्रश्नहरू खडा छन् । पार्टीका साथीहरूका अपेक्षा छन् र हाम्रो दायित्व छ । त्यसैले मूलतः पार्टीलाई परम्परागत रोग अर्थात् तदर्थवादबाट कसरी मुक्त गर्ने र विधि एवं पद्धतिको पूर्ण अभ्यास हुने पार्टीको रूपमा कसरी अघि बढाउने भन्ने वर्तमानको मुख्य चुनौतीका विषयमा चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

विश्वविख्यात अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले भनेका छन् –'हरेक व्यक्तिले विपरीत अर्थात् प्रतिकूल परिस्थितिमा पनि आफूलाई दह्रो गरी उभ्याउन सक्छ, तर उसको परीक्षा नै लिने हो भने उसलाई अवसर दिनुपर्छ ।' यसको सिधा अर्थ- प्राप्त अवसरलाई राम्रो सदुपयोग गरेर परिणाम निकाल्न सक्नुले मात्र कुनै व्यक्तिलाई परीक्षामा उत्तीर्ण गराउँछ ।


Advertisement

जुन उद्देश्यका लागि जिम्मेवारी वा अवसर लिएको हो, त्यस उद्देश्यमा सफलता प्राप्त गर्नुले मात्रै व्यक्तिको गुणवत्ता वा हिजोको क्रान्तिकारिता प्रमाणित हुन्छ । अन्यथा निजी स्वार्थका निम्ति उसले अपनाएको रणनीति वा चलाखी सिद्ध हुन्छ । अक्सर औसत मान्छेहरू अवसर प्राप्त गर्नुलाई निजी सुखभोगको सुन्दर मौका ठान्दछन् र त्यसकै लागि निर्लिप्त हुन्छन् ।

आफ्नो वरिपरिका मानिसहरू अर्थात् आफ्नो संस्थाका सदस्यहरूलाई अल्मल्याएर वा गुमराहमा राखेर बारम्बार मौका छोपिरहन्छन्, तर कुनै परिणाम दिँदैनन् र संस्थाको मूल उद्देश्य समेतलाई बेवारिसे बनाउँदछन् । यसबाट संस्थाप्रति आमजनमानसको विपरीत धारणा बन्छ । यही विपरीत धारणा सघन बन्दै जान्छ र संस्थाको भविष्य जोखिममा पर्छ ।

यसबाट बच्न जुनसुकै संस्थालाई निकै हम्मेहम्मे पर्छ । ठूलो सुझबुझ र मेहनतले मात्र संस्थाले आफ्नो भविष्य जोगाउन सक्छ ।

दश लाख सदस्यहरूको समुचित व्यवस्थापन :

नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनको संघारमा छ । यसको सम्पन्नताको सुनिश्चिततामा आजसम्म अन्यौल व्याप्त छ । यो अन्यौललाई हटाएर महाधिवेशन सम्पन्न गर्नु आजको सबैभन्दा ठूलो चुनौती हो र पार्टीका सदस्यहरूको दायित्व पनि हो । तर यति मात्र जिम्मेवारी पूरा गर्नासाथ नेपाली कांग्रेस तंङ्ग्रिएर दौडिन सक्छ भन्ने कसैले ठान्छ भने त्यो चरम मुर्खता हो ।

कांग्रेसलाई उभ्याएर मात्र नपुग्ने अवस्था छ । प्रतिस्पर्धामा अरूभन्दा छिटो दौडन सक्ने बनाउनु पनि छ । यसका लागि भित्रैबाट सुधारेर जनमानसमा प्रस्तुत गर्न सकिएन भने यसप्रतिको भरोसा र जनविश्वासलाई पुनःस्थापित गर्न सकिँदैन । मूलतः यसलाई सञ्चालन गर्ने पद्धतिमा धेरै ठूलो सुधारको खाँचो छ, किनभने लोकतान्त्रिक संस्थाले आफूलाई पद्धतिको माध्यमबाट मात्रै जीवित राख्न वा सान्दर्भिक बनाइराख्न सक्छ ।

कांग्रेसका करीब दश लाख सक्रिय सदस्यहरूको समुचित व्यवस्थापनविना जनताका बीचमा कसरी उभिने ? आफ्ना स्थायी सदस्यहरूको तागत र मनोबल नै कुनैपनि राजनीतिक दलको जनतामा जाने आधार हो । यो आधारलाई चुस्तदुरुस्त राख्नु कांग्रेसको प्राथमिक दायित्व हो । फेरि यसपटक त आधाभन्दा बढी नयाँ सदस्यहरू थपिएका छन् ।

उनीहरूमा कांग्रेसको 'फिलिङ्स'कसरी भर्ने ? यो निकै ठूलो चुनौती हो । बिल्कुलै नयाँ पुस्ताका सदस्यहरूमा त क्रमिक रूपमा भर्दै जान सकिएला तर अन्य दलबाट आएका र जीवनभर कांग्रेसलाई नकारात्मक रूपमा बुझेका व्यक्तिहरूमा कांग्रेसी आत्मा भर्न निकै मेहनत गर्नुपर्ने आवश्यकता छ ।

साथसाथै उनीहरूलाई 'इन्गेज' राख्न उपयुक्त भूमिका पनि दिँदै जानुपर्ने आवश्यकता देखिन्छ । अनि मात्र कांग्रेसका सदस्यहरूले आफ्नो पार्टीको राम्रोसँग वकालत गर्न मात्र होइन रखवारी समेत गर्न सक्छन् । र आफ्ना सदस्यहरू हिँड्ने बाटो देखाउनु कांग्रेस र यसको नेतृत्वको दायित्व र कर्तव्य दुवै हो । पुराना सदस्यहरू समेतलाई पार्टीका हरेक क्रियाकलाप र नीतिहरूसँग 'अपडेट' गराइराख्नु पर्दछ ।

पार्टीका संरचनाहरूको व्यवस्थापन 

राज्यको पुनःसंरचनापछि नेपाली कांग्रेसले समेत आफूलाई पुनःसंरचित गर्दै समयसापेक्ष तुल्याएको छ । विधानतः अहिले पार्टीका आठ तहका संरचना निर्माण हुँदैछन् । विदेशस्थित संरचनाहरू अलग्गै छन् । यी सबै संरचनाहरूको सञ्चालन र व्यवस्थापन यसअघि झै परम्परागत र तदर्थवादी हुनुहुँदैन । पार्टीको विधान र केन्द्रीय नीति नै स्थानीय र प्रदेश तहको पार्टी सञ्चालनको आधार बन्नु पर्दछ ।

पार्टीभन्दा गुट ठूलो र गुटभन्दा आफू ठूलो भन्ने मनोविज्ञान परित्याग गर्नैपर्छ । पार्टी कार्यालयको नियमित सञ्चालन, सुदृढ आन्तरिक व्यवस्थापन, प्रविधि मैत्री कार्यशैली र सक्षम एवं योग्य कर्मचारीतन्त्र हरेक तहको आधारभूत आवश्यकता हो । यो त्यति गाह्रो काम पनि होइन । आज थालियो भने बढीमा दुई वर्षभित्र स्थापित गर्न सकिन्छ ।

अर्को सबैभन्दा मुख्य कुरा सबै तहका नेताहरूमा पदअनुकूलको सुझबुझ, दक्षता र परिपक्वता हुनै पर्छ । र सबैले पदअनुकूल आचरण गर्नैपर्छ । लोकतन्त्रमा विश्वास गर्ने संस्थाहरू या राजनीतिक दलहरूले विधि र पद्धतिलाई सर्वोपरि ठान्नु पर्दछ । लोकतान्त्रिक संस्थामा व्यक्ति निमित्त मात्र हो । व्यक्तिको आधिपत्य वा प्रभुत्व लोकतान्त्रिक प्रवृत्ति होइन । तर नेपालजस्ता देशमा पदाधिकारीहरू आफूलाई फरक वर्गको ठान्दछन् र आफ्ना सदस्यहरूलाई सामन्ती व्यवहार गर्दछन् । यस्तो समस्या कांग्रेसभित्र पनि छ । अरू दलमा हुनु अनौठो होइन किनभने तिनीहरू लोकतन्त्रमा विश्वास गर्दैनन् । तर कांग्रेसलाई यस्तो सुविधा र छुट छैन ।

त्यसैले कांग्रेसको केन्द्रदेखि वडा र टोलसम्मको पार्टी सञ्चालनको लोकतान्त्रिक थिति बसाल्नु पर्छ र यो कालान्तरमा संस्कृतिमा बदलिन्छ ।

यसले अरू पार्टी र संस्थालाई समेत मार्गदर्शन गर्नेछ । यस महाधिवेशनले विशेषरूपमा ख्याल गर्नुपर्ने विषय हो यो । यत्रो वर्षदेखि चल्दै आयो, अब पनि चलिहाल्छ नि, किन चिन्ता गर्ने भन्ने प्रवृत्ति कांग्रेसभित्र निकै सशक्त र निर्णायक छ । चौधौं महाधिवेशनले यस प्रवृत्तिको जरा उखेल्नै पर्छ । विधि र पद्धतिलाई अनुशरण नगर्ने दललाई सचेत नागरिकले मान्दैन । र उसले गरेको विधि एवं पद्धतिको वकालत हास्यास्पद बन्छ ।

पार्टीका अवयवहरूको व्यवस्थापन 

नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै अवयवहरू खडा गर्दै आएको छ । महिला संघ, तरुण दल, किसान संघ, ट्रेड युनियन कांग्रेस यसका प्रखर दृष्टान्त हुन् ।

साढे सात दशकको यो लामो यात्राका दौरान कांग्रेसले आफ्ना अवयवहरूमा बढोत्तरी गर्दै लगेको पाइन्छ । राजा महेन्द्रले प्रजातन्त्र मासेर निरंकुश पञ्चायत शुरु गरेको दश वर्ष नपुग्दै नेपाल विद्यार्थी संघको जन्म भएको हो । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि त झन् दर्जनौं भ्रातृ र शुभेच्छुक संस्थाहरू बनाइए, जसका देशव्यापी संरचनाहरू छन् । यी सबै कांग्रेसका सहयोगी संस्थाहरू हुन् । यसैको बलमा पार्टी समाजको सबै क्षेत्रमा फैलिने हो र जरा गाड्ने हो ।

यस्ता महत्त्वपूर्ण संस्थाहरूको सञ्चालन र परिचालन सुव्यवस्थित हुनुपर्छ । जुन समुदायलाई प्रतिनिधित्व गर्ने संस्थाहरू हुन्,त्यस समुदायका लागि समर्पित कार्य व्यवहार र गतिविधि देखिनु पर्छ । यसका निम्ति पार्टीको नियमित निर्देशन र सहयोग आवश्यक पर्दछ । संस्था बनाएर अभिभावकीय भूमिका ननिभाउने हो भने संस्थाले दिने प्रतिफलको आश गर्नु हुँदैन ।

अझ भन्ने हो भने पार्टीसँग संस्थाको आबद्धताको औचित्य नै रहँदैन । तसर्थ पार्टीमा आबद्ध भ्रातृ एवं शुभेच्छुक संस्थाहरूमाथिको निगरानी निरन्तर रहनु पर्दछ । संस्थाका कार्यालय, बैठक, निर्णयहरू, नीति र कार्यक्रम, सदस्य संख्या र आर्थिक स्रोतका बारेमा जानकारी लिने र आवश्यक निर्देशन दिने व्यवस्थालाई प्रभावकारी र नियमित तुल्याउनु पर्छ ।

यसका अतिरिक्त नेतृत्वको पारदर्शी जीवनशैली राजनीतिक पार्टीका निम्ति जनताको विश्वास जित्ने महत्त्वपूर्ण आधार हो । राजनीतिक नेतृत्वमा इमान रहेन भन्ने आमजनगुनासो छ । यसलाई हटाउन प्रत्येक तहको नेतृत्वले आफ्नो सम्पूर्ण जीवन र व्यवहार पारदर्शी राख्नु पर्दछ । यसैगरी सदस्यको कार्यमूल्यांकनले पार्टीको आन्तरिक जीवनमा ठूलो महत्त्व राख्छ ।

पार्टीमा दण्ड र पुरस्कारको कुनै औचित्य देखिएन भने सदस्यको कार्यसम्पादनमा ह्रास आउँछ र सम्पूर्ण सदस्यमा निराशा छाउँछ । आजसम्म यी कार्यहरू हुँदै भएनन् । अनगिन्ती असल, प्रतिभाशाली र राम्रा सदस्यहरू पार्टीबाट पलायन भए । बाहिर रहेका योग्य मानिसहरू पार्टीभित्र छिरेनन् । पेशेवरजस्ता देखिने केही सीमित मानिसहरूले पार्टीलाई आफ्नो नियन्त्रणमा राख्दा चाहेजति संगठन विस्तार हुन सकेन । यसको फाइदा विपक्षी दलहरूले उठाए । यसर्थ कांग्रेसले चौधौं महाधिवेशनलाई पार्टी सञ्चालनको पद्धति र व्यवहारमा क्रान्तिकारी रुपान्तरणका लागि प्रस्थानबिन्दु बनाउनु पर्छ ।

आजसम्म चलेको तदर्थवादको अन्त्य भएको विधिवत घोषणा गर्नु पर्दछ । यसरी घोषणा गर्ने र घोषणा कार्यान्वयन गर्ने ऐतिहासिक घडी हाम्रो अघिल्तिर छ । पार्टीको विश्वसनीयता र साख यसले बढाउँछ । र चौधौं महाधिवेशनपश्चातका सम्पूर्ण गतिविधिहरू घोषित नीतिअनुरूप सञ्चालन गर्नु पर्दछ । पार्टीका सदस्यहरूलाई उत्साहित नबनाइकन घोषित लक्ष्य हासिल गर्न सकिँदैन र पार्टीको स्थापनाको उद्देश्य प्राप्त गर्न पनि सकिँदैन । समुन्नत नेपाल र सम्पन्न एवं सुखी नेपाली हाम्रो ध्येय र प्रतिबद्धता दुवै हो । साँच्चै भन्ने हो भने बीपीको सपना पनि यही थियो ।

गुरूराज घिमिरे
गुरूराज घिमिरे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्