
नेकपा एमालेले १०औं महाधिवेशनबाट सहमतिमा केन्द्रीय नेतृत्व चयनको तयारी गरेको छ ।
सहमतिमै वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाइने नेताहरू बताउँछन् । जसका लागि शनिवार एकैदिन देशभरबाट प्रतिनिधि चयन गर्ने तयारी रहेको एमालेले जनाएको छ ।
कतिपय स्थानमा भने सर्वसम्मत रूपमा प्रतिनिधि चयन भइसकेका छन् । ललितपुरमा सम्पन्न पार्टीको विधान महाधिवेशनबाट विधि र नीति पारित गरिसकेकाले अब एमाले नेतृत्व चयनमा केन्द्रित हुनेछ ।
महासचिव ईश्वर पोखरेलले नेतृत्व चयन सहमतिमै हुने स्पष्ट पारेका छन् । विगतभन्दा पृथक् ढंगले महाधिवेशन हुने दाबी महासचिव पोखरेलले गरे ।
‘हामी सहमतिमै नेतृत्व चयन गर्छौं,’ शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘विधान महाधिवेशन पनि सर्वसम्मतिबाटै सक्यौं । वडा र पालिकाका अधिकांश अधिवेशन सर्वसम्मतिमा भए । प्रतिनिधि चयन पनि सर्वसम्मतमै गर्दैछौं ।’
प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले पनि सहमतिमै केन्द्रीय नेतृत्व चयन हुने बताए । ‘विधान महाधिवेशन पनि सर्वसम्मत ढंगबाटै भयो,’ पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘नेतृत्व पनि सहमतिबाटै हुन्छ ।’
पार्टीको आन्तरिक समीकरण र राजनीतिक ध्रुवीकरणले अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत हुने देखिन्छन् तर पदाधिकारी र केन्द्रीय सदस्यमा धेरै आकांक्षी देखिएका छन् । उनीहरूको व्यवस्थापनमा भने जटिलता देखिन्छ ।
राष्ट्रिय राजनीतिलाई सही दिशामा डोर्याउन पनि एमालेमा ओलीको नेतृत्व आवश्यक रहेको पोखरेलले बताए । राजनीतिक स्थिरताका लागि पनि एमालेको नेतृत्वमा सबै गोलबन्द हुुनुपर्ने उनको तर्क छ ।
सत्ता बहिर्गमनदेखि पार्टी विभाजनसम्मको धक्का व्यहोरेको एमालेलाई पार्टी एकढिक्का देखाउन पनि सहमतीय प्रणाली आवश्यक रहेको नेताहरू बताउँछन् । अध्यक्षमा ओली निर्विकल्प देखिएको दाबी गरिए पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले अध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने संकेत देखिएको छ ।
नेता रावलले गृहजिल्ला अछाममा आयोजित कार्यक्रममा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका थिए । उपमहासचिव भुसालले भने मुख खोलेका छैनन् ।
महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी निर्वाचित हुनेछन् । ४५ स्थायी समिति सदस्यसहित २ सय २५ जनाको केन्द्रीय कमिटी रहने व्यवस्था नयाँ विधानमा छ । यो महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी मात्रै होइन केन्द्रीय सदस्यसमेत सहमतिमै चयन गर्ने तयारी नेतृत्वले गरिरहेको छ ।
राष्ट्रिय राजनीति एमाले भर्सेस सत्ता गठबन्धनबीच घुमिरहेको छ । महासचिव पोखरेलले ओलीकै नेतृत्वमा गोलबन्द हुनुपर्ने बताए ।
वरिष्ठ उपाध्यक्षमा महासचिव पोखरेल आउने सम्भावना छ । ४ उपाध्यक्षमा धेरै आकांक्षी देखिएका छन् । रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका हुन् । माओवादी केन्द्रबाट आएका रामबहादुर थापा, संविधान सभाध्यक्ष सुवास नेम्वाङ, उपमहासचिव भुसाललाई पनि व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।
महासचिवमा उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेलको चर्चा छ ।
पोखरेल महासचिव भए पौडेल उपाध्यक्ष हुन सक्छन् । पौडेल महासचिव भए पोखरेल उपमहासचिव हुन सक्ने सम्भावना छ । सचिवमा भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ नै दोहोरिने सम्भावना छ । ७ सचिवको पद भएकाले रघुवीर महासेठ र माओवादी नफर्केका टोपबहादुर रायमाझीलाई समेट्नुपर्ने अवस्था छ । स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, विष्णु रिमाल, छविलाल विश्वकर्मा लगायत नेता पनि पदाधिकारीका आकांक्षी छन् ।
नवौं महाधिवेशनमा महासचिवको उम्मेदवार बनिसकेकाले त्योभन्दा तल्लो पदमा उम्मेदवार नहुने संकेत पाण्डेले गरिसकेका छन् । माधवकुमार नेपालतिर नगएका र माओवादीमा नफर्केका नेतालाई व्यवस्थापन गर्नुपर्ने अवस्था एमालेमा छ ।
महासचिव पोखरेलले महाधिवेशन प्रतिनिधि अझै बढ्न सक्ने संकेत गरेका छन् । २ हजारभन्दा बढी प्रतिनिधि हुने उनले बताए । कात्तिक १२ को केन्द्रीय कमिटी बैठकले महाधिवेशनका लागि १ हजार ९९९ प्रतिनिधि रहने निर्णय गरेको थियो । पोखरेलका अनुसार महाधिवेशनमा एमालेका ३ प्रकारका प्रतिनिधि हुनेछन् । पदेन प्रतिनिधि जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकायबाट स्वतः आउनेछन् ।
भौगोलिक क्षेत्र, जनवर्गीय संगठनबाट निर्वाचित प्रतिनिधि आउनेछन् । ५ प्रतिशत प्रतिनिधि मनोनयन गरिने छ ।
१०औं महाधिवेशनमा एमालेले कपडाको ब्यानर र कागजको पोस्टर प्रयोग नगर्ने भएको छ । ‘कागजको पोस्टर राख्दैनौं,’ प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘भित्ते लेखन पनि हुँदैन । कपडाको ब्यानर पनि प्रयोग हुँदैन ।’
महाधिवेशनमा सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिने भट्टराईले बताए । डिजिटल मिडिया, डिजिटल डिस्प्ले, होर्डिङ बोर्डबाट प्रचार गरिने उनले बताए । पार्टीले गरेको कामको भिडियोमार्फत प्रचार पनि गरिने भएको छ ।
महाधिवेशनको प्रचारका लागि ७५३ वटै स्थानीय तहमा गोष्ठी, अन्तत्र्रिmया, सेमिनारलगायत कार्यक्रम दिनहुँजसो गर्ने उनले बताए । उनका अनुसार मंसिर ७ गते सम्पूर्ण जिल्ला, नगरमा मोटरसाइकल र्याली गरिनेछ । प्रत्येक वडा कमिटीदेखि जनवर्गीय संगठनले स्वागतद्वार निर्माण गर्नुपर्नेछ ।
महाधिवेशनमा प्रयोग हुने लोगो एमालेले सार्वजनिक गरेको छ । महासचिव पोखरेलले तुल्सीलाल स्मृति भवन च्यासलमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेका छन् । एकसिंगे गैंडाको मस्कट सहितको लोगो तयार पारेको छ ।
लोगोमा गैंडाको मस्कटले कम्युनिस्ट पार्टीको झन्डा उचालेको छ । पार्टीका स्थायी समिति सदस्य विष्णु रिमालले पार्टीको नारासहित जिंगल सार्वजनिक गरेका छन् । ९ लाखको हाराहारीमा संगठित सदस्य हुने अनुमान एमालेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।