१० साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

कमल थापा : हार खानुपर्दाको छटपटी

मंसिर २०, २०७८
कमल थापा : हार खानुपर्दाको छटपटी

खासै जनाधार नभएपनि हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डा बोकेको पार्टी भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन चर्चामा रह्यो । चर्चा रहनुको अर्को कारण थियो–सदावहार नेता कमल थापाविरुद्ध युवा नेता राजेन्द्र लिङ्देनको चुनौती ।

नयाँ नेतृत्व चयनका लागि आइतबार सम्पन्न चुनावमा त्यही राजनीतिक खेलाडी मानिने कमल थापालाई राजेन्द्र लिङ्देनले पराजित गरे । पराजयपछि कमल थापामा बेचैनी र छटपटी देखिएको छ भने उनले नयाँ नेतृत्वलाई स्वीकार गरिसकेको अवस्था छैन । राप्रपाका सबै नेताहरु लिङ्देनको शपथग्रहण समारोहमा सहभागी भइरहँदा कमल थापा भने पूर्वराजा ज्ञानेन्द्र शाहसँग आक्रोश पोखिरहेका थिए ।

थापाले निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र शाह) ले राप्रपाको आन्तरिक चुनावमा नाङ्गो हस्तक्षेप गरेको आरोप सार्वजनिक रुपमै लगाइसकेका छन् । थापाको दावी अनुसार आफूले विषम् परिस्थितिमा राजतन्त्रको एजेण्डा बोकेर हिँडेको तर अहिले पूर्वराजाले अनावश्यक चलखेल गर्दा चुनावमा पराजय बेहोर्नुपर्यो । थापाले पूर्वराजालाई नै लक्षित गरी आइतबार लगातार तीन ट्वीट गरे । ती ट्वीटहरुमा कमल थापामा बेचैनीको आभास मिल्थ्यो । उनको बुझाइमा पूर्वराजामा चाँडै राजसंस्था फर्काउने महत्त्वाकाँक्षा देखिन्छ । त्यो महत्त्वकाँक्षा थापाबाट भन्दा लिङ्देनमार्फत पूरा गर्न सकिन्छ कि भन्ने आशा निर्मल निवासमा देखिन्छ ।

उसो त कमल थापाले राजतन्त्रको एजेण्डामा व्यक्तिगत स्वार्थ पूरा गरेको निष्कर्ष निर्मल निवासले निकालेको धेरै भइसक्यो । उसो त कमल थापासँग पूर्वराजाको सम्बन्ध समेत पछिल्लो समय सुमधुर नरहेको बताइन्छ । यही पृष्ठभूमिमा एकाएक पार्टी सत्ताबाट बाहिरिनु पर्दा थापामा बेचनी र छटपटी भएको कतिपय नेता कार्यकर्ताको भनाइ छ ।

अब थापाको राजसंस्थालाई हेर्ने दृष्टिकोण कस्तो रहला भन्नेबारे पनि चासो उत्तिकै छ । कतिपयले उनले अर्को पार्टी बनाउने वा अरु कुनै राजनीतिक बाटो रोज्न सक्ने पनि आशंका गरिरहेका छन् । थापाको आगामी रणनीति बुझ्न केही समय अवश्य पर्खिनुपर्नेछ । तर थापाको चुनावमा सर्मनाक हार राजसंस्थालाई मात्र जोडेर हेर्नुभन्दा पनि उनको पार्टीभित्रको अलोकप्रियता, विगतको विवादास्पद गतिविधि र युवा नेतृत्वप्रतिको आकर्षणको रुपमा पनि हेर्नुपर्ने हुन्छ ।

राप्रपा निर्वाचन र कमल थापाको बहिर्गनका साथै उनमा देखिएको छटपटीका सन्दर्भमा यो संक्षिप्त टिप्पणीसहित लोकान्तर ‘राउण्ड अप’मा पाठकहरुलाई स्वागत छ । लोकान्तर राउण्ड अपमा हामी बितेको २४ घण्टामा भएका घटनाक्रमको मुख्यमुख्य विवरण र आमचासोका विषयमा टिप्पणी पनि गर्ने गर्छौँ ।
००००००

नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तरगत भएको निर्वाचनमा ६ वटा प्रदेशको नतिजा सार्वजनिक भएको छ । प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा प्रेमबहादुर बलायर विजयी भएका छन् ।
प्रदेश २ मा भने केही जिल्लाका पालिकाहरुमा अधिवेशन हुन नसक्दा प्रवेश अधिवेशन नै हुन सकेको छैन ।
यसैबीच कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए ।
००००
राप्रपाको सम्पन्न एकता महाधिवेशमा  निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले  शपथ लिएका छन्  ।
आइतबार आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गरे । सो क्रममा बोल्दै लिङ्देनले आफ्नो नेतृत्वमा नेताको मानमर्दन र कार्यकर्ताको विश्वासघात नहुने बताए । लिङ्देनले राप्रपालाई अहिलेसम्मकै बलियो शक्तिको रूपमा स्थापित गराउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
००००
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च परिसरमा आयोजना हुँदै आएको धर्ना जारी नै रहेको बताएको छ ।
बारका महासचिव लीलामणि पौडेलले आइतवार विज्ञप्ति जारी गर्दै धर्नाको कार्यक्रम यथावत रहेको उल्लेख गरेका हुन् ।
००००
सुन तस्करलाई सघाएको आरोपमा प्रहरी जवान राजेन्द्र केसी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
विदेशबाट सुनको बाला ल्याएका मानिसहरूलाई सहयोग गरिदिने बाहानामा सुन लगेको भन्ने आरोपमा केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जनाकारी दिए ।
००००
साताको पहिलो दिन आइतवार शेयर बजारमा ठूलो पहिरो गएको छ । नेप्से परिसूचक ८०.२७ अंकले घट्दै २५०५.९२ विन्दुमा झरेको छ  ।
यस्तै सेन्सेटिभ परिसूचक १५.४२ अंकले घट्दै ४७२.१० विन्दुमा झरेको छ ।
००००
देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ७४७ जनाको नमूना परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्