२२ जेठ २०८३, शुक्रबार
मशिन प्रयोगमा कर्मचारी नै अनिच्छुक

भैरहवा भन्सारमा अचम्मको दृश्य : ७३ लाखको स्क्यानर थन्क्याएर हातैले लगेज चेकजाँच

पुस २६, २०७८
भैरहवा भन्सारमा अचम्मको दृश्य : ७३ लाखको स्क्यानर थन्क्याएर हातैले लगेज चेकजाँच

भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि भन्दै भैरहवा भन्सार कार्यालय, बेलहिया (सुनौली) मा ल्याइएको ‘स्क्यानर’ मशिन प्रयोगविहीन बनेको छ ।

मालवस्तु तौलिने तथा लगेज र झोलाहरू ‘स्क्यान’ गर्ने अत्याधुनिक उपकरणलाई ४ वर्षदेखि विनाप्रयोग थन्क्याएर राखिएको छ ।

मशिन सञ्चालनमा ल्याउन कर्मचारीहरूको रुचि नै देखिएको छैन । उनीहरू सडकलाई कारण देखाएर पन्छिने गरेका छन् । 

लगेज तथा ब्याग सबै मशिनले चेक गर्ने र पारदर्शी हुने भएपछि अतिरिक्त कमाइको बाटो रोकिने डरले कर्मचारीहरू मशिन प्रयोग गर्न तयार नभएको आरोप सेवाग्राहीहरू लगाउँछन् ।

कर्मचारीहरूले ब्याग तथा लगेजहरू आफैं खोलेर चेकजाँच गर्दा केही गडबडी भेटे घूस तथा लेनदेनमा कुरा मिलाउने सम्भावना रहन्छ ।

मशिनको प्रयोगपछि यस्तो सम्भावना कम हुने भएकाले पनि कर्मचारीहरूले स्क्यानर प्रयोग गर्न आलटाल गरिरहेको एक सेवाग्राहीले आरोप लगाए ।

यता भन्सार कार्याल भैरहवाका सूचना अधिकारी तीर्थराज पासवानले बेलहिया क्षेत्रको सडक बन्न नसक्दा स्क्यानर मशिन थन्किएको बताए ।

‘खासमा हामीलाई एउटा मशिनले पुग्दैन,’ पासवानले लोकान्तरसँग भने, ‘यहाँ दैनिक गाडीमा बाहेक यात्रुहरू ५०० भन्दा बढी ओहोर/दोहोर गर्छन् । त्यसका लागि यस्ता मशिन कम्तीमा ३ वटा आवश्यक पर्ने हो । तर, सडककै कारण आएको मशिन पनि चलाउन नसकिएको हो ।’ 

सडक कहाँसम्म विस्तार हुने निर्क्यौल नहुँदा मशिन राख्ने भौतिक संरचना बनाउन समस्या भएको पासवानले बताए ।

‘हामीले गैरभन्सार एरियाबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरू पनि भन्सार मातहत ल्याएका छौँ, तर मशिनका लागि भौतिक पूर्वाधार बनाउन सडक कहाँसम्म बन्ने हो ठेगान नहुँदा समस्या भएको छ । यत्तिकै प्रयोग गरौं भने बिग्रिने डर छ ।’

यत्तिकै प्रयोग गर्दा धूलोले मशिन बिग्रिने डर आफूहरूमा रहेको उनले बताए ।

‘हामीसँग तालिम लिएका जनशक्ति पनि छन्, एउटै मशिन सञ्चालन गरेर शंकास्पदको चेकजाँच गर्न सकिन्छ, तर हालको अवस्थामा धूलोले मशिन बिग्रिने डर भएकोले प्रयोगमा नल्याएको हो,’ उनले भने ।

उद्घाटन समेत गरिसकिएको मशिन भन्सारको यात्रु शाखानजिकै रहेको बन्द कोठामा प्रयोगविहीन अवस्थामा थन्क्याएर राखिएको छ ।

अहिले ‘मेनुअल’ रूपमा नायब सुब्बाको नेतृत्वमा कर्मचारीले यात्रु र भारतीय बजारबाट आउने व्यापारीका झोला खोलेर चेकजाँच गर्दै आएका छन् ।

बेलहिया हुँदै स्थलमार्गबाट पर्यटकदेखि रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरू ठूलो संख्यामा आउने गर्छन् ।

अर्थ मन्त्रालय र भन्सार विभागले हरेक वर्ष भन्सारलाई व्यवस्थित बनाउने र प्रविधियुक्त बनाउने बताउँदै आएको छ । 

कार्यालयका लागि भन्सार विभागले ७२ लाख ९५ हजार ४०० रुपैयाँमा किनेको स्क्यान मशिन २०७४ सालमा खरिद गरिदिएको थियो ।

यस आर्थिक वर्षको बजेटमा पनि भैरहवासहित मेची, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र तातोपानी भन्सारमा स्क्यानर मशिन जडान गर्न भन्दै रकम विनियोजन भएको छ । 

जडान भएको मशिन प्रयोगमा नआएका बेला थप मशिनका लागि बजेट विनियोजनभन्दा त्यसको पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने देखिएको छ ।

विशेष गरी भारत तथा तेस्रो मुलुकबाट स्थलमार्ग भई नेपाल आउने यात्रुको सहजताका लागि उनीहरूले बोकेका झोला तथा ल्याएका सामग्रीहरूको जाँच गर्न कर्मचारी प्रत्यक्ष रूपमा खटिनु नपरोस् भन्नका लागि मशिन उपयोगी हुन्छ । 

अहिले हरियो कपडाले ढाकेर धुलाम्मे कोठामा राखिएको लाखौं मूल्यको मशिन प्रयोग नै नभई मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । 

कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालले सडकले आफ्नो एरिया क्याप्चर नगरेको हुनाले मशिन जडानमा समस्या भएको बताए । 

‘मशिन राख्ने पर्मानेन्ट ठाउँको टुंगो लाग्न नसक्दा प्रयोगमा ल्याउन नसकिएको हो । यसबारे हामी छिट्टै काम अगाडि बढाउने सोचमा छौं,’ ढकालले लोकान्तरसँग भने । 

भन्सार एजेन्ट संघ भैरहवाका अध्यक्ष मधु पन्थीले उपलब्ध प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।

‘भन्सार विभाग र कार्यालयले स्क्यान मशिनलाई तदारूकताका साथ सञ्चालन गर्नुपर्छ । यसले राजस्वमा सहयोग पुर्‍याउनुका साथै अवैध र जोखिमयुक्त वस्तुको ओसारपसार नियन्त्रण गर्छ,’ अध्यक्ष पन्थीले भने ।

भैरहवा भन्सारबाट दैनिक सरदर ५०० मालबहाक गाडी नेपाल प्रवेश गर्छन् । कार्यालयले दैनिक करीब ३४ करोड राजस्व संकलन गर्दै  आएको छ ।

वर्षभरीमा १ खर्ब २७ अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा हालसम्म लक्ष्यअनुसार नै राजस्व संकलन भइरहेको पासवानले बताए ।

salt training

कमेन्ट गर्नुहोस्