×

रुस मान्नैपर्छ भन्ने, युक्रेन मान्दै नमान्ने : के हो मिन्स्क सम्झौताको चुरो ?

माघ २७, २०७८

तस्वीर स्रोत : AP

पूर्वी युक्रेनमा चलिरहेको पृथक्तावादी द्वन्द्व अन्त्य गर्नका लागि भएको शान्ति सम्झौता लागू नगरिँदा अहिलेसम्म त्यस क्षेत्रमा अशान्ति छ । हालैका दिनमा रुसले युक्रेन सीमानजिक सेना र हातहतियार तैनाथ गरेपछि उक्त शान्ति सम्झौताको पुनः चर्चा हुन थालेको छ ।

बिहीवार जर्मनीको राजधानी बर्लिनमा रुस, युक्रेन, फ्रान्स र जर्मनीका शीर्ष अधिकारीहरूले शान्ति सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गर्दैछन् । उक्त सम्झौता सन् २०१५ मा बेलारुसको राजधानी मिन्स्कमा हस्ताक्षर गरिएको थियो । 


Advertisment

सम्झौताको दस्तावेजका प्रमुख बुँदाहरू र त्यसको कार्यान्वयनका विषयमा उठेका विवादहरूको चर्चा यहाँ गरिनेछ : 


Advertisment

पूर्वी क्षेत्रमा द्वन्द्व

सन् २०१४ को फेब्रुअरी महिनामा युक्रेनका तत्कालीन राष्ट्रपतिलाई हिंस्रक विरोध प्रदर्शनपछि सत्ताच्युत गरिएको थियो । रुसको समर्थन गर्ने राष्ट्रपति भिक्टर यानुकोभिचलाई हटाइएपछि रुसले युक्रेनको क्राइमिया प्रायद्वीपमा आक्रमण गरेर त्यसलाई आफूसँग मिसाएको थियो । अनि रुसले डोनबास भनिने युक्रेनको पूर्वी क्षेत्रमा चलिरहेको पृथक्तावादी विद्रोहलाई समर्थन समेत गरेको थियो । 

युक्रेनी सैनिक तथा स्वयंसेवी बटालियनहरू विद्रोहीहरूसँग कडा र खतरनाक लडाइँमा होमिएका थिए । त्यसक्रममा भारीभरकम आर्टिलरी, हातहतियार र सशस्त्र विमान पनि उपयोग गरिएको थियो । 

पृथक्तावादीहरूलाई सैनिक र हातहतियारका साथ रुसले सहयोग गरेको आरोप युक्रेन र पश्चिमले लगाउने गरेका छन् । मस्कोले यी आरोपहरू अस्वीकार गरेको छ । पूर्वी क्षेत्रमा लड्ने रुसीहरू स्वयंसेवी मात्र भएको उसको जिकिर छ । 

युद्ध चलिरहेको बेलामा मलेसिया एयरलाइन्सको फ्लाइट १७ लाई पूर्वी युक्रेनको आकाशमा सन् २०१४ मा खसाइएको थियो । त्यसमा रहेका सबै २९८ जना मारिएका थिए । 

घटनाका विषयमा गरिएको अन्तर्राष्ट्रिय अनुसन्धानले उक्त विमानलाई विद्रोही नियन्त्रित क्षेत्रबाट प्रहार गरिएको क्षेप्यास्त्रले ध्वस्त बनाएको निष्कर्ष निकालेको थियो । उक्त क्षेप्यास्त्र रुसको एक सैन्य अड्डाबाट युक्रेन ल्याइएको पनि अनुसन्धानको निष्कर्ष थियो । तर मस्कोले आफू घटनामा संलग्न नरहेको बताएको थियो । 

द्वन्द्व चर्किंदै गएपछि युद्धविराम सम्झौता गराउनका लागि फ्रान्स र जर्मनीका नेताहरूले रुस र युक्रेनसँग कुराकानी गरेका थिए । सन् २०१४ को जुन महिनामा फ्रान्सको नर्म्यान्डीमा उनीहरूबीच भएको कुराकानीलाई नर्म्यान्डी फर्म्याट भनिन्छ । 

लडाइँ र सम्झौता

सन् २०१४ को अगस्ट महिनामा युक्रेनी सैनिकहरूले लज्जास्पद पराजय बेहोरेपछि किएभ र विद्रोहीहरूबीच त्यही वर्षको सेप्टेम्बर महिनामा मिन्स्कमा युद्धविराम सम्झौता भएको थियो । 

त्यसको दस्तावेजलाई मिन्स्क पहिलो नाम दिइएको थियो । त्यसमा युद्धविराम गर्ने र त्यसको निगरानी अर्गनाइजेसन फर सिक्योरिटी यान्ड कोअपरेसन इन युरोप (ओएससीई) ले गर्ने भनिएको थियो । त्यससँगै विदेशी लडाकूहरू फिर्ता लैजाने, कैदी तथा बन्दी साटासाट गर्ने, विद्रोहीहरूलाई आममाफी दिने र विद्रोही क्षेत्रहरूमा स्वायत्त सरकारको व्यवस्था गर्ने कुरा पनि थियो । 

तर यो सम्झौता छिट्टै भंग गरियो र विशाल स्तरमा लडाइँहरू फेरि शुरू भए । सन् २०१४ को जनवरी र फेब्रुअरी महिनामा युक्रेनी सैनिकहरूले डेबाल्तसेभको लडाइँमा लज्जास्पद पराजय बेहोरे । 

फ्रान्स र जर्मनीले तत्कालै अर्को शान्ति सम्झौता गराउन मध्यस्थता गरे । सन् २०१५ को फेब्रुअरी महिनामा युक्रेन, रुस र विद्रोहीहरूका प्रतिनिधिले नयाँ सम्झौतामा हस्ताक्षर गरे । त्यसमा युद्धविराम गर्ने, सैनिक र विद्रोहीहरूबीचको लाइन अफ कन्ट्याक्टबाट भारी हतियार फिर्ता लिने तथा राजनीतिक समाधानका उपाय खोज्ने उल्लेख थियो । रुस, युक्रेन, फ्रान्स र जर्मनीका नेताहरूले यस सम्झौताको समर्थनमा जारी गरिएको घोषणापत्रमा हस्ताक्षर गरेका थिए । 

मिन्स्क सम्झौताका प्रावधान

मिन्स्क दोस्रो नाम दिइएको यस सम्झौतामा ओएससीईले निगरानी गरेको युद्धविराम, भारी हातहतियार तथा विदेशी लडाकूलाई फिर्ता बोलाउने काम तथा कैदीहरूको साटासाट समावेश थियो । 

रुसका लागि कूटनीतिक विजय हुने गरी दस्तावेजले पृथक्तावादी क्षेत्रलाई विशेष हैसियत दिन युक्रेनलाई बाध्य बनाएको थियो । उनीहरूले आफ्नै प्रहरी बल बनाउने र स्थानीय अभियोजनकर्ता तथा न्यायाधीश नियुक्त गर्न पाउने व्यवस्था समेत थियो । अनि किएभले पृथक्तावादीहरूलाई आममाफी दिनुपर्ने र विद्रोही नेताहरूसँग स्थानीय निर्वाचन गर्ने विषयमा विस्तृत सम्झौता गर्नुपर्ने व्यवस्था पनि थियो ।

विद्रोही क्षेत्रहरूले स्वशासनको अधिकार पाएपछि अनि ओएससीईले निगरानी गरेको स्थानीय निर्वाचनपछि मात्र युक्रेनले रुससँगको सीमा क्षेत्रमा नियन्त्रण पुनः कायम गर्न सक्ने व्यवस्था पनि सम्झौतामा थियो । त्यस्तो स्थानीय निर्वाचनले मस्कोसमर्थक विद्रोहीहरूलाई सत्तामा पुर्‍याउने लगभग पक्का छ । 

दस्तावेजले रुसमाथि कुनै बाध्यकारी व्यवस्था नगर्नु पनि रुस सरकारको जीत हो । रुसले यस द्वन्द्वमा आफू पक्ष नरहेको र यो युक्रेनको आन्तरिक मामिला भएको बताउँदै आएको छ । 

युक्रेनमा धेरैजना यस सम्झौतालाई घृणा गर्छन् । यसले देशको हितलाई धोका दिएको र अखण्डतामा पनि प्रहार गरेको उनीहरूको धारणा छ । जनताको व्यापक विरोधका कारण सम्झौता लागू गर्न सकिएको छैन । 

मस्को र किएभबीच आरोपप्रत्यारोप

मिन्स्क सम्झौताले विशाल स्तरको लडाइँ रोक्न सहायता गरेको भए पनि सानातिना संघर्षहरू जारी छन् । अनि दुवै पक्षले एकअर्कामाथि दोष थोपरिरहेका छन् । दुवै पक्षले नयाँ युद्धविरामका शृंखला नै चलाएका छन् तर तिनलाई तत्कालै उल्लंघन गर्ने गरेका छन् । 

रुसले द्वन्द्वग्रस्त क्षेत्रबाट आफ्ना सैनिक नहटाएको आरोप युक्रेनले लगाउने गरेको छ । मस्कोले चाहिँ रुसी सैनिकको उपस्थितिलाई पूरै अस्वीकार गरेको छ र युक्रेनमा पश्चिमका सैन्य प्रशिक्षकहरू तैनाथ गरिएको बताएको छ । 

पूर्वी युक्रेनमा सैन्य संलग्नतालाई अस्वीकार गरेको रुसले विद्रोहीहरूलाई राजनीतिक र आर्थिक सहायता गरेको छ । अनि त्यस क्षेत्रमा सात लाखभन्दा बढी निवासीलाई रुसले नागरिकता समेत दिएको छ । 

सन् २०१९ मा रुस, युक्रेन, फ्रान्स र जर्मनीका नेताहरूले पेरिसमा भेटघाट गर्दा मिन्स्क सम्झौतामा अडिग रहने वाचा गरेका थिए तर देखिनेगरी कुनै प्रगति भएको छैन । 

थप वार्ता

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले अर्को चौपक्षीय शिखर सम्मेलनका लागि जोड दिँदै आएका छन् । तर युक्रेनले सम्झौताका दायित्वहरू पालन नगरेसम्म यसको कुनै अर्थ नहुने रुसले बताएको छ । 

युक्रेनको सीमानजिक रुसले सैन्य तैनाथी गरेपछि बढेको तनावका बीचमा फ्रान्स र जर्मनीले पूर्वी क्षेत्रको द्वन्द्व अन्त्यका लागि चौपक्षीय वार्ताका लागि मध्यस्थता गर्ने प्रयास बढाएका छन् । त्यसो गर्दा ठूलो संकटको स्थितिमा तनाव घट्नका लागि उपाय निस्कने उनीहरूको सोच छ । 

चार देशका प्रतिनिधिहरूबीच जनवरी २६ मा पेरिसमा वार्ता भएको थियो । त्यसमा कुनै प्रगति भएन तर उनीहरूले बिहीवार बर्लिनमा वार्ता गर्न सहमति जनाए । मिन्स्क सम्झौताहरूका विषयमा साझा व्याख्यामा सहमति जनाउने उद्देश्य उक्त वार्ताले लिएको छ । 

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले यसै साता मस्को र किएभको भ्रमण गरी मिन्स्क सम्झौताको पुनरुत्थानको कोशिश गरेका थिए । शान्ति बहाल गर्न तथा दिगो राजनीतिक समाधान खोज्न यो मात्र एक उपाय भएको उनले बताएका थिए ।

युक्रेनमाथि दबाब

मिन्स्क सम्झौताको कार्यान्वयनका लागि पश्चिमले आह्वान गरिरहेकोमा युक्रेनी अधिकारीहरू यस दस्तावेजका विषयमा झनै नकारात्मक भएका छन् । 

युक्रेनको नेसनल सिक्योरिटी यान्ड डिफेन्स काउन्सिलका सचिव ओलेक्सी दानिलोभले दी एसोसिएटेड प्रेसलाई गत साता दिएको बयानअनुसार, मिन्स्क सम्झौता रुसले बन्दूक तेर्स्याएकाले हस्ताक्षर गरिएको हो । मिन्स्क सम्झौताको पालन गर्दा युक्रेनको विनाश हुने चेतावनी उनले दिए । 

मस्कोले यस सम्झौतामार्फत विद्रोहीहरूलाई युक्रेनको मूलधारमा ल्याउने अनि उनीहरूको उपयोग गरेर युक्रेनलाई पश्चिमसँग सम्बन्ध बढाउनबाट रोक्ने लक्ष्य लिएको युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले बताए । आफूहरूले त्यसो हुन नदिने प्रतिज्ञा उनले गरे । 

जेलेन्स्कीले यस विषयमा कूटनीतिक बयान दिए तर मिन्स्क दस्तावेजको सबै बुँदा आफूलाई मन नपरेको बताए । रुसका राष्ट्रपति पुटिनले त्यसमाथि व्यंग्यात्मक टिप्पणी गरे । 

‘तिमीलाई मन परे पनि नपरे पनि यसलाई सहनुपर्छ, मेरी प्यारी,’ रुसको लोककथालाई उद्धृत गर्दै उनले बताए । ‘तिमीले यस सम्झौतालाई पालन गर्नुपर्छ । अरू केही गर्न मिल्दैन ।’

एपीमा प्रकाशित भ्लादिमिर इसाचेनकोभको रिपोर्टलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् । 
 

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x