०९ असार २०८३, मंगलबार

स्थानीय सरकारको सार्थक पहल : आहा ! इलाम

फागुन १, २०७८
स्थानीय सरकारको सार्थक पहल : आहा ! इलाम
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

इलाम भ्रमणको एउटै इच्छा हुन्छ– चियाबारी घुम्ने । श्रीअन्तुडाँडा उक्लेर सूर्योदय र हिमाली बतासको आनन्द लिने । त्यसैले त गङ्गाराज मुकारुङले यो गीत लेखे होलान्–

इलामे सहर चियाबारी राम्रो

त्यहीँ प-यो घर हाम्रो

कसकी हौ छोरी, पातली मोरी

लैजाने दाउ हाम्रो....

इलामको पर्यटनमा पछिल्लो समय विविधता थपिएका छन् । कन्याम र श्रीअन्तुसँगै अन्यत्र पनि पर्यटकीय गन्तव्य विकास गरिँदै छ । खासगरी स्थानीय सरकार गठनपछि पर्यटकीय नयाँ गन्तव्यको खोजी र विकास भइरहेको छ ।

इलामको पर्यटनको ठूलो हिस्सा आन्तरिक घुमन्ते छन् । यद्यपि, भारतीय तथा अन्य मुलुकका पर्यटकको रोजाइसमेत इलाम बन्दै गएको छ । दार्जिलिङतिर दौडिएका पर्यटकको पाइला इलामतिर मोडिन थालेका छन् ।

इलाममा पछिल्लो समय कृषि पर्यटनको विकास भइरहेको छ । उच्च पहाडी पदमार्गको पहिचान, निर्माण र प्रवद्र्धन गरिँदै छ । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई भन्छन्, “इलामको पर्यटनलाई कृषिसँग जोड्दै पर्यटन पूर्वाधार विकासका काम गरिरहेका छौँ ।”

बादलको घुम्टोभित्र प्रायः लुकिइरहने इलामलाई ‘लजालु पहाड’ पनि भनिन्छ । त्यो घुम्टो उघ्रिएको बेला इलामको प्राकृतिक सौन्दर्यबाट नलोभिने को पर्यटक होला ? अध्यक्ष राई भन्छन्, “पूर्वेली कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गरी इलामको पर्यटनमा विविधता खोज्ने प्रयास थालिएको छ । इलामेली स्वागत सत्कारबाट पनि पर्यटक पक्कै लोभिन्छन् ।”

उनका अनुसार इलाममा उत्पादन हुने अर्थोडक्स चियामात्र होइन अदुवा, अलैँची, अम्लिसो, जडीबुटी र व्यावसायिक पशुपालन अवलोकन र अध्ययन गर्न पनि नेपालभरबाट इलाम भित्रने पर्यटकको सङ्ख्या धेरै छ ।

इलाममा पर्यटन पूर्वाधारको विकासले समेत गति लिएको छ । पर्यटकीय गन्तव्यसम्म पुग्न पक्की सडक, हवाईमैदानको सुधार, सुविधासम्पन्न होटल, अस्पतालको स्थापना र सेवा वृद्धि, बिजुली विस्तारका साथ ग्रामीण क्षेत्रमा घरबासको विकासमा लगानी बढिरहेको छ । इलाम नगरपालिका प्रमुख महेश बस्नेत भन्छन्, “पर्यटकको यात्रा सहज, सुविधाजनक र सुरक्षित बनाउन पूर्वाधारमा पनि लगानी बढाइएको छ ।” गोरखापत्र दैनिकमा दीपक श्रेष्ठ र कोकिला ढकालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्