
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारी वर्षौंदेखि नउठेको बक्यौता उठाउन आक्रामक देखिएका छन् ।
महानिर्देशक बनेको डेढ महिनामै उनले बक्यौतासम्बन्धी सम्पूर्ण विवरण संकलन गर्न लगाएर अटेर गर्नेहरूमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएका हुन् ।
प्राधिकरणले आइतबार राष्ट्रिय दैनिक गोरखापत्रमा बक्यौता नतिर्ने एयरलाइन्स, तिनका सञ्चालक र उनीहरूको तीनपुस्ते सहितको विवरण प्रकाशित गर्दै बक्यौता तिर्न ताकेता गरेको छ ।
बक्यौता रकम नबुझाए वायुसेवा कम्पनी, सञ्चालक र हकदारहरूको बैंक खाता रोक्का तथा नेपाल बाहिर जान नपाउने गरी राहदानी रोक्काको कारवाही हुने सूचनामा उल्लेख छ ।
पटक–पटक सूचना जारी गरेर बक्यौता तिर्न आग्रह गर्दा पनि नमानेपछि प्राधिकरण उनीहरूलाई कालोसूचीमा नै राख्ने, बैंक खात रोक्का गर्ने र राहदानी रोक्कासम्मको कारवाही गर्ने निष्कर्षमा पुगेको देखिएको छ ।
प्राधिकरणले यसअघि पनि तीनपटक ती वायुसेवालाई बक्यौता रकम तिर्न आग्रह गर्दै सूचना जारी गरिसकेको छ ।
प्राधिकरणले यस अघि ७ असोज २०७६, २० माघ २०७७ र १२ भदौ २०७८ मा सार्वजनिक सूचना जारी गरेर सम्बन्धित वायुसेवा कम्पनीलाई बक्यौता तिर्न आग्रह गरेको हो ।
यसपटक भने कडा कारवाहीको चेतावनीसहित सूचना जारी भएको छ ।
बक्यौता नतिर्ने वायुसेवालाई नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ बमोजिम सरकारी बाँकी सरह असुल उपर गर्न पाउने अधिकार प्राधिकरणसँग छ ।
प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली, २०७६ को नियम ३० (३०) अनुसार बुझाउनु पर्ने शुल्क नबुझाउने व्यक्ति तथा संस्थाहरूलाई कारवाही गर्न पाउँछ ।
सोही व्यवस्थाअनुसार भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यपार व्यवसायमा संलग्न हुने नपाउने गरी कारवाही गर्ने गरी सूचना जारी गरेको प्राधिकरणले जानकारी दिएको छ ।
सूचना जारी गरेको ७ दिनभित्र प्राधिकरणको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा रकम जम्मा गरेर सक्कल भौचर पेश गर्न प्राधिकरणले आग्रह गरेको छ ।
बक्यौता बुझाउनु नपर्ने भए त्यसको स–प्रमाण निवेदन प्राधिकरणलाई दिन सूचनामा उल्लेख गरिएको छ ।
यस्तो छ बक्यौता नतिर्ने वायुसेवाहरूको विवरण
प्राधिकरणलाई वर्षौंसम्म बक्यौता नतिर्ने वायुसेवामा ७ वटाको विवरण सार्वजनिक भएको छ । यी सबै हाल सञ्चालनमा नआएका वायुसेवा हुन् ।
यी वायुसेवामध्ये सबैभन्दा बढी बाँकी बक्यौता राख्नेमा नेकोन एयर छ । उसले ४ करोड ७२ लाख २५ हजार रुपैयाँ तिर्न बाँकी छ ।
यो वायुसेवामा ६ जना सञ्चालक रहेका छन् । नेकोन एयरले पछिल्लोपटक ९ मंसिर २०६० मा अध्यावधिक गरेको विवरण अनुसार दीपमणि राजभण्डारी अध्यक्ष तथा प्रबन्ध सञ्चालक तथा मुकुन्दभक्त श्रेष्ठ उपाध्यक्ष छन् ।
यस वायुसेवाका अन्य चारजना सञ्चालकमा दीपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान श्रेष्ठ छन् ।
प्राधिकरणलाई बक्यौता बाँकी राख्नेमा अर्को वायुसेवा कस्मिक एयर पनि छ । उसले ३ करोड ४७ लाख ५८ हजार रुपैयाँ तिर्न बाँकी छ । यो वायुसेवाको सञ्चालक क्याप्टेन रविन्द्रप्रसाद प्रधान हुन् ।
बक्यौता नतिर्ने वायुसेवा मध्ये गोरखा एयरको २० लाख ३५ हजार रुपैयाँ छ । यो वायुसेवाको सञ्चालकमा प्रज्ज्वल श्रेष्ठ, उज्ज्वल श्रेष्ठ, गिन्नी बाबा श्रेष्ठ र सूर्यप्रसाद श्रेष्ठ छन् ।
यस्तै माउन्टेन एयरको ६ लाख १० हजार बक्यौता अहिलेसम्म तिरिएको छैन । यो वायुसेवाको सञ्चालकहरूमा प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत छन् ।
स्काइलाइन एयरवेजले ७ लाख ८० हजार तिरेको छैन । यसका ८ सञ्चालक छन् ।
आङछिरिङ शेर्पा अध्यक्ष, मिङ्मा दोर्जे शेर्पा उपाध्यक्ष, तेन्जिङ गोर्बु शेर्पा प्रबन्ध सञ्चालक तथा पेम्बा छिरिङ शेर्पा, यादव खरेल, विक्रम पाँडे, केदारबहादुर प्रधानाङ्ग र उत्तमकृष्ण खरेलको नाम सञ्चालकमा रहेको विवरण प्राधिकरणसँग छ ।
शिवानी एयरले पनि ५५ लाख ५१ हजार रुपैयाँ तिर्न बाँकी छ । यसको सञ्चालक मणिद्रलाल रञ्जितकार हुन् ।
यस्तै एयर काष्टमण्डपले ७ लाख ३८ हजार रुपैयाँ तिर्न बाँकी छ । यो वायुसेवाका सञ्चालकत्रय प्रज्ज्वल श्रेष्ठ, उज्ज्वल श्रेष्ठ र हमाद अली जावोर (कतारी) रहेका हुन् ।
हेर्नुहोस्, सूचना :
