
नेपाली सेनाले यो वर्ष १४० जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाले दुर्गम क्षेत्रका सुत्केरी महिलाको उद्धार गर्दै आएको छ ।
२०६३ सालमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई हवाइ उद्धार सेवा सञ्चालन गरी मातृ मृत्युदरमा कमी ल्याउन कार्यक्रम सञ्चालन गरको थियो ।
पछिल्लो समयमा नेपाली सेनाले चैत १३ गते धादिङको रुबिभ्याली गाउँपालिका– ५ की १८ वर्षीय महिलाको उद्धार गरेको थियो ।
उच्च रक्तचाप तथा रक्तश्रापले मृत्युको मुख पुगेकी उनलाई सेनाको विशिष्ट उडानमार्फत काठमाडौं ल्याएर ज्यान बचाइएको थियो ।
यस्तै चैत ६ गते डोल्पाको ठूलीभेरी नगरपालिका– ११ की सुत्केरी महिलालाई सेनाको पश्चिम एयर बेसको हेलिकप्टरले उद्धार गरेर सुर्खेत ल्याएको थियो ।
नेपाली सेनाले पहाडी र विकटका जिल्लाहरू हुम्ला, बाजुरा, खोटाङ, जाजरकोट, म्याग्दी, नुवाकोटका केही भूभाग, धादिङ, कालीकोट, सोलुखुम्बु, सिन्धुपाल्चोक, भोजपुर, रुकुम, सोलुखुम्बु, खोटाङ, गोरखा, अछाम लगायतका जिल्लाहरूबाट गर्भवती तथा सुत्केरीको उद्धार गर्दै आएको छ ।
हेलिकप्टरका साथै सेनाले रसुवा र सोलुखुम्बुमा स्टेचरमा बोकेर समेत २ जना सुत्केरीको उद्धार गरेको सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
नेपाली सेनाले सोलुखुम्बुबाट ७ जना, रसुवा २ जना, सोलुखुम्बुबाट १० जना, कालीकोटबाट ४ जना, डोल्पाबाट ९ जना गरी देशभरका हिमाली र पहाडी जिल्लाबाट सुत्केरीको उद्धार गरको छ ।
अघिल्लो वर्ष अर्थात् २०७७ सालमा सेनाले ६६ जना सुत्केरीको उद्धार गरेको तथ्याङ्कले देखाउँछ । बाग्लुङमा जीपबाट पनि सुत्केरी महिलाको उद्धार गरिएको थियो ।
विपदमा परेका ४५ सय जनाको उद्धार
नेपाली सेनाले सुत्केरी महिलाको मात्र नभएर विपद्को समयमा पनि उद्धार गर्दै आएको छ । यो वर्षमा सेनाले ४ हजार ५०७ जनाको उद्धार गरेको छ ।
कात्तिक महिनाको पहिलो साता तराईमा डुबानमा परेका ३ हजार ६५३ जनालाई जमिनबाट र ३९ जनाका हवाइ उद्धार गरिएको थियो ।
यस्तै असोज महिनामा आएको बाढी र डुबानमा परेका २९२ जना र सिन्धुपाल्चोकमा गएको पहिरोमा परेका २ जनाको उद्धार गरेको जंगी अड्डाले जनाएको छ ।
यस्तै भदौ १५ गते दार्चुलाको महाकाली नगरपालिका र दुहु गाउँपालिका बीचको पुल भत्किएर समस्या परेका २ सय जनलाई उद्धार गरिएको थियो । असार २ गते मादी गाउँपालिका– २ मा निर्माणाधीन अवस्थामा रहेको सुपर मादी जलविद्युत् आयोजनामा बाढीका कारणले फसेका १६० जनालाई उद्धार गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाकारी दिए ।
असार ५ गते सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा बाढीमा फसेका ३६ जनालाई सेनाको एमआई १७ हवाइजहाजबाट उद्धार गरेको सेनाले जनाएको छ । अघिल्लो वर्ष विपतमा परेको २२९ जनालाई उद्धार गरेको थियो ।
१५ हजार नागरिकलाई निःशुल्क उपचार
नेपाली सेनाले सर्वसाधारणलाई देशभर निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट उपचार गर्दै आएको छ ।
यो वर्ष वीरेन्द्र सैनिक अस्पताल छाउनीले उपत्यकास्थित पशुपतिमा बालाचतुर्दशीमा र शिवरात्रिमा गरेर ८६५ जनलाई उपचार गरेको छ ।
बालाचतुर्दशीमा २५२ र शिवरात्रिमा ५१३ जनलाई निःशुल्क उपचार गरेको जंगी अड्डाले जनाएको छ ।
यस्तै सैनिक अस्पताल नेपालगञ्जबाट २ हजार ९०६ जना, सैनिक अस्पताल इटहरी र त्यस मातहतका अस्पतालबाट १ हजार १७४ जना नागरिकलाई निःशुल्क उपचार गरेको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए ।
हिताधिकारीको उपचार
नेपाली सेनाले आफ्ना बहालवाला सैनिक, उनका आश्रित परिवार र भूपू सैनिकहरूलाई देशैभरीबाट उपचार गर्दै आएको छ ।
जसअन्तर्गत वीरेन्द्र सैनिक अस्पतालबाट बहालवाला ७३ हजार ५७१ र २ लाख ६१ हजार ९१५ भूपू सैनिक र उनका आश्रित परिवारलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।
नेपालगञ्ज सैनिक अस्पतालबाट ३६ हजार ८९९, सैनिक अस्पताल इटहरी र त्यसमातहतका अस्पतालबाट ३३ हजार ३३६, पोखरा सैनिक अस्पताल २६ हजार ७० र केन्द्र बाट ५१५ जना हिताधिकारीहरूको उपचार गरेको जङ्गी अड्डाले जनाएको छ ।