२३ असार २०८३, मंगलबार
स्थानीय चुनाव

‘चुनाव जितेपछि सोझा नेता पनि फटाहा बनिगए’

स्थानीय जनप्रतिनिधिको कामसँग सन्तुष्ट छैनन् कर्णालीका मतदाता
‘चुनाव जितेपछि सोझा नेता पनि फटाहा बनिगए’

कालिकोटको तिलागुफा नगरपालिकाका ७३ वर्षीय शिवलाल न्यौपाने शुक्रवार बिहान हातमा टिकट लिएर सुर्खेत बसपार्कमा जिल्ला जाने बस खोज्दै यताउता दौडिरहेका थिए । उस्तै उमेरका अन्य केही साथीहरू पनि उनीसँगै बसपार्कमा थिए । 

जीवनका झण्डै पाँचदशक लत्ताकपडाको व्यापार व्यवसायमा बिताएका न्यौपाने पछिल्लो समय तराईका जिल्लामा बस्दै आएका छन् । अहिलेचाहिँ वैशाख ३० गते हुने स्थानीय तह चुनावको चटारोले गाउँ जान लागेका हुन् । 

विगतमा गाविसको संरचना छँदा वडा सदस्यमा लडेका न्यौपानेका छोरा पर्ने एकजना यसपटक वडाध्यक्षको उम्मेदवार बन्ने योजनामा छन् । उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा उनलाई कालिकोट पुग्ने चटारो छ । चुनाव लागेकाले उनी हतार–हतार गाउँ फर्किन लागेका रहेछन् ।

चुनाव नजिकिँदै गर्दा अब गतिला प्रतिनिधि आउलान् भन्ने उनलाई आशा छ । ‘अहिले गाउँमा नेतालाई निको (राम्रो) मान्दैनन्, आफ्नै भुँडी भरे भनेर जनता कराइरहेका छन्,’ न्यौपानेले लोकान्तरसँग भने, ‘गाउँमा केको सिंहदरबार आउनु, टाठाबाठा नेताले सब उतै लगिगए ।’

पाँच वर्षको अवधिमा गाउँमा विकास र उन्नति नभएको उनको बुझाइ छ । न्यौपानेसँग कुरा गर्दैगर्दा तिलाखानी रारालिनका जयबहादुर राउत र रामबहादुर शाही आइपुगे । स्थानीय तह र नेताहरूको कुरा गर्दा उनीहरूको पारो तातेर आयो ।

आफ्नो जन्ममिति घटाइदिएकोमा सरकारी कर्मचारीसँग आक्रोशित जयबहादुर राजनीतिक दलका नेताले गर्दा नै कर्णालीको विकास हुन नसकेको आरोप लगाउँछन् । 

‘गाउँमा केही विकास भएको छैन । पाँच वर्षमा नेताहरूको बोसो लाग्ने मात्र काम भयो,’ राउतले भने । 

विनाप्रसंग उनीहरूले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कुरा निकाले । 

शिवलाल र जयबहादुर जस्तै कालीप्रसाद भट्टराई पनि स्थानीय तहका जनप्रतिनिधिले पहिलो कार्यकालमा गरेका कामबाट पटक्कै सन्तुष्ट छैनन् । 

‘यसो लाग्छ भोट हालिकन कुनै उपलब्धि हुँदैन भने हामी किन जाने ?’ जुम्लाको तिला गाउँपालिका– ३ लुम्सेराका मतदाता रहेका भट्टराईले भने, ‘हुन त खराबलाई हराउन र राम्रालाई जिताउन पनि भोट हाल्न त जानुपर्ला ।’

कर्णालीका मतदाताको साझा प्रश्न छ, ‘व्यवस्था फेरिए पनि किन हाम्रो अवस्था फेरिएन ?’

प्रश्न गर्नुछ– पाँच वर्षमा के गर्‍यौ ? 

विभिन्न जिल्लामा कम्मलको व्यापार गर्ने सि‌ंजा गाउँपालिका– ५ फुङ्‍रा जुम्लाका वीरबहादुर रोकाया चुनावको मुखमा गाउँ फर्किँदैछन् ।

पाँच वर्षको अवधिमा के काम भयो भनेर सोध्नका लागि गाँउ जान लागेको उनले बताए । ‘चुनावपछिको पाँच वर्षमा गाउँमा केही परिवर्तन भएन, दिएका आश्वासन झूटा भए,’ रोकायाले भने । 

सुर्खेतमा भेटिएका अछामको पञ्चदेवल नगरपालिाका– ४ का खड्गबहादुर बोहरा स्थानीय सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउँछन् । 

‘हाम्रो नगरपालिका त सुदूरपश्चिममा नै भ्रष्टाचारमा दोस्रो भयो रे भनेर गोरखापत्र (पत्रिका)मा आएको थियो,’ बोहोराले भने, ‘कर्णाली र सुदूरपश्चिमका सबै स्थानीय पालिकाको हालत उही हो ।’

सुदूरपश्चिम प्रदेश र अछाम जिल्लाको भएपनि कर्णालीका जिल्लामा आश्रित पञ्चदेवल कालिकास्थानका बासिन्दा स्थानीय जनप्रतिनिधिसँग आक्रोशित छन् । 

‘हाम्रो भोट मात्र लिएका छन्, हाम्रो ठाउँमा स्कूल नभएर बालबच्चालाई पढ्नका लागि दैलेखको राकम पठाउनुपरेको छ,’ बोहोराले भने । 

यसपटक भोट माग्न आउनेले जनताको प्रश्नको चित्तबुझ्दो जवाफ दिनुपर्ने बोहोराको भनाइ छ । 

‘गाउँगाउँमा सिंहदरबार’ आएको भनेर प्रचार गरे पनि स्थानीय सरकारको पहिलो कार्यकालमा प्रतिनिधिले जनताको मन जित्न नसकेको कर्णालीका मतदाताको आक्रोश छ ।

'राम्रा प्रतिनिधि आएनन् भने हाम्रा बालबच्चाले दुःख पाउँछन्'

कालिकोटको शुभकालिका गाउँपालिका कालेबाडाका करण विश्वकर्मा चुनावको मुखमा भारत फर्किँदै छन् ।

तीन बालबच्चा पढाउन सुर्खेतमा बसेकी पत्नी करणलाई बिदाइ गर्न बसपार्कमा आएकी थिइन् ।

‘गाउँमा राम्रो स्कूल भएको भए बालबच्चा पढाउन किन यहाँ आउनुपर्थ्यो ? अहिलेका नेता त आफ्नै भुँडी भर्न लागिपरे,’ गंगा विश्वकर्माले भनिन् । 

गंगा–करण दुवैको चाहना राम्रा जनप्रतिनिधि आएर गाउँका विद्यालय सुधारुन् भन्ने छ । 

‘जनताको दुःख देख्ने नेता आएनन् भने हाम्रा बालबच्चाले पनि दुःख पाउने भए,’ करणले गुनासो पोखे । 

salt training

कमेन्ट गर्नुहोस्