माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
बैशाख २५, २०७९
राजधानीको टोखा नगरपालिकामा सत्तापक्षीय दलहरूबीच गठबन्धन हुन नसकेपछि नेपाली कांग्रेस र नेकपा एमालेको एकल प्यानलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
अघिल्लोपटक जितेको एमाले विपक्षमा गठबन्धन नभएकाले आत्मविश्वासका साथ मैदानमा उत्रिएको छ भने कांग्रेस पनि यसपालि नतिजा उल्ट्याउने रणनीतिमा छ ।
टोखामा एमालेबाट निवर्तमान मेयर प्रकाश अधिकारी र निवर्तमान उपमेयर ज्ञानमाया डंगोल नै उम्मेदवारमा दोहोरिएका छन् ।
कांग्रेसले भने अघिल्लोपटक उपमेयरमा पराजित भएकी रजनी थापा (३० वर्षीय)लाई मेयरको उम्मेदवार बनाएको छ ।
उनी गत स्थानीय निर्वाचनमा एमाले उम्मेदवार डंगोलसँग ५१ मतको झिनो अन्तरले पराजित भएकी थिइन्। नेकपा माओवादी केन्द्रबाट मेयरमा शेखर श्रेष्ठ र उपमेयरमा यमुना पुडासैनी अधिकारी उठेका छन् । नेकपा एसबाट मेयरमा कविता कुमारी गौतम र उपमेयरमा निवर्तमान वडाध्यक्ष जोगप्रसाद नेपाल उठेका छन् । उनी यसअघि नेकपा एमालेबाट ९ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए ।
देशका ६ वटा महानगर, ११ वटा उपमहानगरबाहेक कतिपय नगरपालिकामा समेत सत्तापक्षीय पाँच दलबीच गठबन्धन भएपनि टोखा नगरपालिकामा भने गठबन्धन हुन सकेन ।
दलहरूको आ-आफ्नै दम्भका कारण गठबन्धन हुन नसकेको स्थानीय नेता/कार्यकर्ता बताउँछन् । टोखा– २ स्थित नेकपा एकीकृत समाजवादीको वडा कार्यालयमा भेटिएका अष्ट नारायण डंगोलले सबैको आ-आफ्नै दम्भका कारण गठबन्धन हुन नसकेको बताए ।
उनी एकीकृत समाजवादीको नगर चुनाव परिचालन समितिका संयोजक समेत हुन् ।
'गठबन्धनको हल्ला मात्र भयो, यहाँ त इमान्दार प्रयास नै भएन,' उनले लोकान्तरसँग भने, 'जसलाई सिध्याउने भनेर हिँडेको हो त्यसका विरुद्ध एकजुट हुनुपर्नेमा आ-आफैंमा भिड्ने स्थिति निम्त्याएर अन्ततः त्यसैलाई लाभ पुर्याउने काम गरिएको छ ।'
आफूले पाए ठीक, अरूले पाए बेठीक भन्ने नेताहरूको हठ र दम्भका कारण गठबन्धन हुन नसकेको उनले बताए ।
'नेकपा एमालेको संगठन अहिले पनि बलियो छ । उताबाट हाम्रोमा १ जना वडाध्यक्ष मात्र आउनुभयो,' उनले थपे, 'धेरैजसो मान्छे हाम्रोमा खुलेर आउनुभएको छैन । हाम्रो संगठनको हैसियत कति छ भन्ने कुरा त निर्वाचनमा हुने मत परीक्षणबाट मात्र थाहा पाउन सकिन्छ ।'
छुट्टाछुट्टै लडे पनि प्रतिस्पर्धा भने एमाले र कांग्रेसबीच नै हुने उनले बताए ।
गठबन्धन नहुँदा उत्साहित एमाले
टोखा नगरपालिकाको वडा नम्बर १ स्थित झोर गाउँमा नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापा घरदैलो अभियानमा भेटिइन् ।
उनले गठबन्धन नभए पनि आफूलाई फरक नपर्ने बताइन् ।
'गठबन्धन जहाँ पनि आवश्यक छ भन्ने छैन, यहाँ मन मिले पनि हुन्छ । यहाँ विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । सबै राजनीतिक दलको मनमा बसेको छु, मनमा नै बसिसकेको अवस्थामा गठबन्धन आवश्यक लागेन,' उनले भनिन् ।
गठबन्धन नहुँदा एमाले भने उत्साहित देखिन्छ । उक्त नगरपालिकाको वडा नम्बर ५ को धापासीस्थित श्रीटोलमा भेटिएका एमाले उम्मेदवार अधिकारीले गठबन्धन नहुँदा स्वाभाविक रूपमा एमालेलाई लाभ मिलेको बताए ।
'सबै मिलेर भिडेको भए एकै ठाउँमा मत जान्थ्यो तर सबै छुट्टाछुट्टै भिडेपछि चुनाव जित्न सहज भएको छ,' उनले लोकान्तरसँग भने, 'देशव्यापीरूपमा भएको गठबन्धनजस्तै टोखा नगरपालिकामा पनि गठबन्धन गर्न उहाँहरूले धेरै नै प्रयास गर्नुभयो ।'
उनले आफ्नो जीत निश्चित भइसकेको जिकिर गरे ।
'मेरो विजय त भइसकेको छ, मात्र वैशाख ३० गते ढ्वाङमा मत खसेर मत परिणाम आउन मात्र बाँकी छ,' उनले थपे, '३५ हजार मतदाता छ । २५ देखि २८ हजार मत खस्छ । त्यसमा १५ हजार जति मत ल्याएर भारी मतान्तरले चुनाव जित्छु ।'
अघिल्लोपटक झिनो मतले हारें,यसपालि जित्छु– कांग्रेस उम्मेदवार थापा
कांग्रेसबाट मेयर पदकी उम्मेदवार रजनी थापा अघिल्लोपटक उपमेयरमा झिनो मतले हारे पनि यसपालि मेयरमा शानदार जीत हात पार्ने दाबी गरिन् ।
'मैले गएको स्थानीय निर्वाचनमा उपमेयरमा ५१ मतले हारेको थिएँ । त्यसको तुलनामा यसपालि कम्तिमा पनि ४ देखि ५ अंकको अन्तर (हजारदेखि १० हजार) ले जित्नेछु,' उनले लोकान्तरसँग भनिन् ।
नर्सिङ पढेर, कानून पढेको तथा तीन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेपछि अहिले पीएचडीको लास्ट सेमेस्टरमा अध्ययनरत रहेको उनले बताइन् ।
'म जन्मेको भूमि, मेरो कर्मभूमि पनि टोखा नगरपालिका हो । त्यसमा पनि मेरो आफ्नो ठाउँ, प्राकृतिक सम्पदाको धनी ठाउँमा हिँड्दै गर्दा आमाबुवाको आशीर्वाद युवाहरूको जोश र जाँगर देख्दा अत्यन्त उत्साहित र खुशी भएको छु,' घरदैलो अभियानमा मत मागिरहेको अवस्थामा भेटिएकी उनले लोकान्तरसँग थपिन्, 'कस्तो हो भने पहिले पनि उपमेयरमा उठ्दा म झिनो मतले हारेको थिएँ । त्यसपछि पनि ५ वर्ष जनताको काम गरेर मन जितेको छु ।'
एमालेले जितेको ठाउँ भए पनि टोखा नगरपालिकामा कुनै पनि दीर्घकालीन विकासको काम नभएको उनले आरोप लगाइन् । 'यहाँका आमा-बुवा, दिदी-बहिनी सबैलाई थाहा छ कि गएको ५ वर्षमा केही विकास भएन,' उनले भनिन्, 'विकास भनेको बिहान उठेर देखेको तर हप्ता दिन पनि टिक्न नसक्ने विकास त होइन नि ! जनताले खोजेको विकास भनेको दीर्घकालीन विकास हो । त्यो दीर्घकालीन विकास गर्ने प्रतिवद्धताको साथ चुनावमा होमिएको छु ।'
व्यापारिक घरानाको व्यक्ति भएका कारण चुनाव प्रचार प्रसारमा धेरै रुपैयाँ खर्च गरिरहेको आरोपमा सत्यता नरहेको उनको कथन छ ।
'मैले बनाएको भिजिटिङ कार्ड पनि मेरो संगठनले नै बनाएर दिएको हो । खर्च १ रुपैयाँ पनि मेरो भएको छैन,' उनले दाबी गरिन् ।
पार्टीमा गरेको योगदानकै आधारमा टिकट पाएको उनको जिकिर छ ।
'म नेविसंघको सीटीईभीटीको केन्द्रीय उपाध्यक्ष भएको, नेपाल ल क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार, टोखा नगरपालिकाको नगर सदस्य, नगर सचिव, टोखा नगरपालिकाको महिला संघको सभापति, क्षेत्र नम्बर ५ को क्षेत्रीय सचिव र नेपाली कांग्रेसको केन्द्रीय विभागको प्रशिक्षण विभागको सदस्य भएर पार्टी र संगठनका निम्ति यति धेरै काम गरेको आधारमा पार्टीले टिकट दिएको हो,' उनले भनिन् ।
आत्मनिर्भर बन्न व्यापारमा लागेको भए पनि सेवा गर्न राजनीतिमा आएको उनले बताइन् । 'व्यापार भनेको मेरो गाँस, बास कपासलाई मात्र नभएर रजनी समता नेपाल फाउन्डेसनलाई पनि मैले जोडेको छु,' उनले लोकान्तरसँग भनिन्, 'राजनीति गर्दा आर्थिकरूपले पनि इन्डिपेन्डेन्ट हुनुपर्छ । राज नीतिमा म नितान्त रूपले सेवा गर्न आएकी छु, पैसा कमाउन होइन ।'
व्यापार गरेर राजनीतिमा आउँदैमा स्वार्थ नबाझिने उनले बताइन् । 'हो म सिंगटी हाइड्रो पावरको बोर्ड अफ डाइरेक्टर छु, आश कन्स्ट्रक्सन कम्पनी छ, सेनेटरी प्याड कम्पनी छ, ट्राभल एण्ड टुरिजम छ,' उनले थपिन्, 'त्यो भन्दै गर्दाखेरी ती सबै चिजहरू मलाई मेरो खुट्टामा उभ्याउनका लागि हो । म राजनीतिमा नितान्त सेवाको लागि आएको छु ।'
टोखा नगरपालिकामा जिते सबैसँग समन्वय, सहकार्य गर्ने जीवनमा रूपान्तरण आउने खालको विकासको काम गर्ने उनले बताइन् ।
५ वर्षमा गरेकै कामका आधारमा जित्छु : एमालेका मेयर उम्मेदवार अधिकारी
नेकपा एमालेबाट मेयरको उम्मेदवार रहेका अधिकारी भने गएको पाँच वर्षमा पूर्वाधार विकासदेखि शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा गरेको कामकै आधारमा चुनाव जित्ने दाबी गर्छन् ।
'टोखा नगरपालिकामा हामीले जितेपछि अस्तव्यस्त रहेको नगरपालिकालाई व्यवस्थित बनायौं,' उनले लोकान्तरसँग भने, 'पूर्वाधारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिक, सम्पदाको क्षेत्रमा पनि उल्लेखनीय काम गरेको छु ।'
जनसमुदायको ज्वलन्त समस्याको रूपमा रहेको खानेपानीको समस्यालाई पनि समाधान गरेको उनले बताए । शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा धेरै प्रगति गरेको हुनाले मतदाताले अत्यधिक मत दिएर फेरि पनि विजयी गराउनेमा विश्वस्त रहेको उनले बताए ।
'५ वर्षअघि अहिले जस्तै जनताको घरदैलोमा जाँदा हिलाम्मे बाटो थियो । हिलोमै हिँडेर मतदाताको घरदैलोसम्म पुग्दा हिलोबाट मुक्त गराई ढलान, ढुंगाको सोलिङ टेकेर आउने तथा पक्की सडक बनाउने भनेर हामीले गरेको प्रतिवद्धता पूरा गरेका छौं,' उनले थपे,' टोखाको मुख्य समस्या भनेको खानेपानीको समस्या हो । त्यसको समाधानका लागि अहोरात्र खटेर ९ वटा डीप बोरिङ थपेका छौं ।'
रिङरोडभित्र मात्र केन्द्रित मेलम्चीको पानीलाई रिङरोड बाहिर पनि ल्याएको भन्दै उनले वैशाख ३० गतेपछि टोखाबासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने बताए ।
कसैलाई पनि पक्षपात नगरी विकास गरेको उनले दाबी गरे ।
'टोखा नगरपालिकामा रगत निःशुल्क घोषणा गरेका छौं । रेडक्रस सेन्टरसँग निःशुल्क रगत उपलब्ध गराउन मैले एमओयू सम्झौतामा हस्ताक्षर गरिसकेको छु । त्यो रगत सेन्टर अब टोखा नगरपालिकामा रहेको प्रदेश अस्पतालले पाइरहेको छ,' उनले लोकान्तरसँग भने, 'आउने दिनमा टोखा नगरपालिकाको ११ वटै वडामा स्वास्थ्य चौकी निर्माण गरेका छौं । ती सबै स्वास्थ्यचौकीमा अत्याधुनिक मशिन, उपकरण राखेर जनतालाई सुविधा दिलाउनेछु । हरेक वडामा बर्थिङ सेन्टर सञ्चालन गर्नेछौं ।'
उनले पार्टी विभाजनको कुनै असर नपर्ने बताए । 'टोखा नगरपालिकामा अघिल्लोपटक जितेका ३९ जना जनप्रतिनिधिमध्ये १ जना साथी मात्र नेकपा एसमा जानुभएको छ,' उनले लोकान्तरसँग भने, 'मूलतः त्यसले कुनै असर गरेको छैन । हामीले गरेको कामकै कारण २० प्रतिशत मत पहिलेभन्दा यसपटक थपिनेछ । १५ हजारभन्दा बढी मत ल्याएर जित्ने छु ।'
नेपाली कांग्रेससँग नै मुख्य प्रतिस्पर्धा रहेको उनले बताए । 'नेपाली कांग्रेसबाट अहिले मेयरमा उठ्ने उम्मेदवारलाई गएको चुनावमा हाम्रो टीमको उपमेयरले नै पराजित गरिसक्नुभएको छ,' उनले थपे, 'म त अहिले झन् मेयर भएर काम गरेपछि उहाँ मेरो सामुन्ने टिक्नुहुन्न ।'
नाङ्लो दीप सेभिङ एन्ड क्रेडिट को-अपरेटिभमार्फत निक्षेपकर्तालाई ठगी गरेको ठहर गर्दै अदालतले एक महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ बुझाउन फैसला गरेको प्रश्नमा उनले भने, 'म यदि ठगी मुद्दामा कसुवार ठहर भएको भए त निर्वाचन आयोगले मेरो नोमिनेसन नै गर्न दिँदैनथ्यो होला । कुनै पनि कसूरमा ठहर भयो भने उहाँहरूले त कानूनअनुसार नै मेरो पद खारेज गर्न सक्नुहुन्थ्यो होला, अहिले पनि नोमिनेसन हुँदैनथ्यो होला ।'
भ्रष्टाचार अन्त्य गर्न मेयरमा उम्मेदवारी : राप्रपाका मेयर उम्मेदवार केसी
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा उम्मेदवार रहेका भरतबहादुर केसी टोखामै बाजागाजासहित घरदैलो अभियानमा लागेको अवस्थामा भेटिएका थिए । स्थानीय तहमा भएको भ्रष्टाचारलाई निर्मुल गर्न उम्मेदवारी दिएको उनले बताए ।
'हाम्रो मूल लक्ष्य भ्रष्टाचारलाई अन्त्य गर्नु नै हो । २०४७ सालदेखि संस्थागतरूपमा गिरोहगत रूपमा भ्रष्टाचारलाई संस्थागत गरिएको छ,' उनले लोकान्तरसँग भने, 'हामी अहिले घरदैलोमा जाँदा गठबन्धन होस् वा ती ठूला भनिएका दल नै किन नहोस् सबैको विकल्पमा नेतृत्व परिवर्तन गर्नका लागि पनि तपाईंलाई नै भोट दिन्छु भनिरहनुभएको छ ।'
आफूले मेयर जित्नेमा विश्वस्त रहेको उनले बताए ।
हेर्नुहोस्, भिडियो :
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...