०८ साउन २०८३, शुक्रबार
प्रतिनिधि सभा निर्वाचनको पूर्व तयारी

तीन सूर्य उदाएको कास्कीमा के होला यसपालि ? यस्तो छ चुनावी हिसाबकिताब

असार २४, २०७९
तीन सूर्य उदाएको कास्कीमा के होला यसपालि ? यस्तो छ चुनावी हिसाबकिताब

सरकारले प्रतिनिधि सभा चुनावको मिति घोषणा गर्ने तयारी गरेसँगै कास्कीमा राजनीतिक दलका नेताहरूले सक्रियता बढाउन थालेका छन् ।

निर्वाचन आयोगले मंसिर २ गतेका लागि चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिश गरेसँगै चुनाव लड्ने आकांक्षीहरूले सक्रियता बढाएका हुन् । 

पाँच वर्षअघि नेकपा एमालेको लालकिल्ला बनेको कास्कीमा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन उसका लागि सोचेजस्तो रहेन ।

एमाले पुरानो विरासत जोगाउने रणनीतिमा छ भने कांग्रेस इतिहास रच्ने योजनामा अगाडि बढेको छ ।

२०७४ सालको निर्वाचनमा एमालेले प्रतिनिधि सभातर्फ कास्कीका तीनवटै क्षेत्रमा एकलौटी विजय हासिल गरेको थियो । यद्यपि उनीहरूलाई वाम गठबन्धनका रूपमा माओवादीको पनि साथ थियो ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा भने पाँच पालिकामध्ये एमाले दुईवटामा सीमित बन्न पुग्यो ।

पोखरा महानगरको मेयर नेकपा एसले जित्दा चारवटा गाउँपालिकामध्ये दुईवटा कांग्रेसले जित्यो ।

पोखरा महानगरमा मेयर नेकपा एसले जिते पनि बहुसंख्यक वडा कांग्रेसले जितेको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा देशभर माओवादीको पक्षमा आँधीहुरी आएको समयमा पनि कास्कीमा एमालेका दुई जनाले चुनाव जितेका थिए । 

संविधान सभा निर्वाचनमा पहिलो खाता खोलेका रवीन्द्र अधिकारीले त्यसपछिका दुईवटा निर्वाचन पनि जिते । 

हेलिकप्टर दुर्घटनामा परेर उनको निधन भएपछि कास्कीमा भएको उपनिर्वाचनमा रवीन्द्रपत्नी विद्या भट्टराईले चुनाव जितिन् । 

उनले सहानुभूतिको मत प्राप्त गरे पनि अब कास्कीको चुनावमा एमालेलाई रवीन्द्र अधिकारीको अभाव खड्किने अवस्था आएको छ ।

रवीन्द्रलाई साथ दिएका उनका समकक्षी धनराज आचार्य एमाले छाडेर नेकपा एसमा लागेका छन् ।

आचार्य पोखरा महानगरको मेयर निर्वाचित भएसँगै कास्कीमा एमालेको दबदबामा झट्का लागेको छ । 

पोखरा महानगरको नतिजाले आगामी प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष असर गर्नेछ । 

कास्कीका ३ निर्वाचन क्षेत्रमध्ये हरेकमा पोखरा महानगरपालिका ११–११ वटा वडा पर्छन् ।

स्थानीय तह चुनावको नतिजा बिर्सेर एमाले आफ्नो विरासत जोगाउने रणनीतिमा लागेको छ भने सत्ता गठबन्धन स्थानीय तह निर्वाचनको मनोविज्ञानका आधारमा प्रतिनिधि सभा निर्वाचनमा पनि एमालेलाई धक्का दिने योजनामा छ । 

जिल्लाका नेताहरू सत्ता गठबन्धनबीच केन्द्रमा हुने तालमेल कुरेर बसेका छन् । 

कांग्रेसमा संस्थापनइतरको बाहुल्यता रहेको कास्कीका जिल्लास्तरका नेताहरू तालमेलको पक्षमा देखिएका छैनन् । तालमेल गर्दा पनि कम्तिमा दुईवटा सीटमा दाबी नछाड्ने अडानमा छन् । 

‘कांग्रेसका जिल्ला स्तरका नेताहरू स्थानीय तहको चुनावमै तालमेलका लागि सहमत थिएनन्, महानगरको तालमेल केन्द्रबाटै भएका कारण नेकपा एसले मेयर पाएको हो,’ नेकपा एसका एक नेताले भने । 

चुनावको मिति घोषणा नहुदै दलका आकांक्षीहरूले टिकटका लागि लबिङ शुरू गरिसकेका छन् । स्थानीय तबरमा माहोल बनाउनेदेखि केन्द्रमा नेताहरूसँग लाइन मिलाउन नेताहरू दौडधूपमा लागिसकेका छन् । 

क्षेत्र नम्बर १ मा किशोरदत्त र खगराजको भिडन्त

कास्की क्षेत्र नम्बर १ मा एमालेका तर्फबाट बहालवाला सांसद खगराज अधिकारी नै उम्मेदवार बन्ने सम्भावना छ । नेकपा एमालेको संगठन विभागको प्रमुख रहेका अधिकारी अध्यक्ष केपी ओलीका प्रियपात्र हुन् । उनलाई बाइपास गरेर अर्कोले टिकट पाउने सम्भावना क्षीण छ ।

प्रतिनिधि सभा विघटनपछि केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमा अधिकारीलाई गृहमन्त्री बनाइएको थियो । तर सर्वोच्च अदालतले उनको मन्त्री पद १३ दिनमै खारेज गरिदिएको थियो ।

अधिकारी नउठेको अवस्थामा एमालेबाट बयनबहादुर क्षेत्रीले टिकट पाउने सम्भावना छ । चुनाव जित्नका लागि खगराज नै उठ्नुपर्ने आवाज तलबाट आएको एमालेका एक जिल्ला स्तरीय नेताले बताए ।

खगराज अधिकारी

कास्की– १ मा नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति किशोरदत्त बराल उठ्ने सम्भावना प्रबल छ । मतदाताले नयाँ र फ्रेस उम्मेदवार खोजेकाले पार्टीका जिल्ला सभापति बराल नै उम्मेदवार बन्ने कांग्रेसका एक नेताले बताए । 

बरालसँगै यज्ञबहादुर थापा र कृष्णप्रसाद केसी पनि आकांक्षी देखिएका छन् । थापा २०७४ सालको चुनावमा एमालेसँग पराजित भएका थिए । 

राष्ट्रिय शिक्षक संगठनको उपाध्यक्ष भइसकेका बरालले टिकट पाउने सम्भावना धेरै रहेको कांग्रेसका नेताहरू बताउँछन् ।  

कास्की– १ मा नेकपा एसले पनि उम्मेदवार उठाउने तयारी गरेको छ । एसका तर्फबाट स्थायी कमिटी सदस्य चूडामणि जंगली र पोलिटब्युरो सदस्य श्रीनाथ बराल आकांक्षी छन् ।

जंगलीले प्रतिनिधि सभाको टिकट पाए भने बराल प्रदेशमा बस्न सक्छन् । माओवादी केन्द्रले भने गठबन्धन कसरी बन्छ, सोही आधारमा उम्मेदवार तय गर्ने बताएको छ । 

चुनावमा हारजीत जे भएपनि प्रभावशाली व्यक्तिलाई उम्मेदवार बनाउँदा समानुपातिकतर्फ पार्टीलाई धेरै भोट आउने भएकाले माओवादी र एसले सकेसम्म धेरै क्षेत्रमा उम्मेदवार उठाउने रणनीति बनाएका छन् । 

कास्की– २ मा एमालेबाट विद्या, कांग्रेसमा आकांक्षी धेरै 

कास्की– २ मा नेकपा एमालेका तर्फबाट बहालवाला सांसद विद्या भट्टराईले टिकट पाउने लगभग निश्चित छ । रवीन्द्र अधिकारीले लगातार तीनवटा चुनाव जितेको कास्की– २ मा भएको उपनिर्वाचनमा विद्या विजयी भएकी थिइन् । 

‘स्थानीय कार्यकर्ताको माग विद्या भएकाले उहाँले टिकट पाउनेमा द्विविधा छैन,’ कास्की एमालेका एक नेताले भने ।

प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ पनि ३३ प्रतिशत कोटा छुट्ट्याउनु पर्ने लबिङ महिला नेत्रीहरूले शुरू गरेका छन् । दलहरूलाई केही क्षेत्रमा प्रत्यक्षतर्फ महिलालाई उठाउनु पर्दा विद्या सशक्त उम्मेदवार हुन् ।

कथंकदाचित उनी समानुपातिकमा बस्ने अवस्थामा रश्मी आचार्य एमालेका तर्फबाट उम्मेदवारको दाबेदार रहने नेताहरू बताउँछन् । 

विद्या भट्टराई

कास्की– २ मा चुनाव लड्न नेपाली कांग्रेसका तर्फबाट पाँचजना आकांक्षी देखिएका छन् । नेपाली कांग्रेसका तर्फबाट गुरुप्रसाद बराल, बिन्दुकुमार थापा, देवराज चालिसे, वीरेन्द्र बिजुक्छें र विश्वशंकर पालिखेले चुनाव लड्न आकांक्षा देखाएका छन् । 

प्रदेश सभा सदस्य एवं प्रदेश सरकारको मन्त्री रहेका बिन्दुकुमार थापाले पोखराको मेयरका लागि आकांक्षा देखाएका थिए । तालमेल गर्दा पोखरा नेकपा एसको भागमा परेपछि उनी पछि हटेका थिए । 

नेकपा एसको बलियो प्रभाव रहेको यो क्षेत्रमा एसबाट तुलबहादुर गुरुङ उम्मेदवार बन्ने सम्भावना छ । 

कास्कीमा चुनावी तालमेल भयो भने एसले यही क्षेत्रमा दावी गर्ने बताएको छ । ‘निर्णायक मतदाता रहेको महानगरको मेयर नै हामीले जितेका कारण प्रतिनिधि सभाको कम्तिमा एक सीटमा हाम्रो दाबी छ,’ एसका पोलिटब्युरो सदस्य विश्वकर्माले भने ।  

कास्की– ३ मा माओवादीको दाबी

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रदेशका केही सिटमा चित्त बुझाएको माओवादीले प्रतिनिधि सभामा कास्कीमा एक सीट पनि दाबी गरेको थिएन । यसपटक प्रतिनिधि सभाको एक सीटमा सशक्त दाबी रहने माओवादीले बताएको छ । 

कास्की ३ मा विगतमा नेकपा एमालेका जगत सुनार विजयी भएका थिए । एमालेका तर्फबाट एकजना आकांक्षी सुनार पनि हुन् । उनका अतिरिक्त सीता गिरी वली, पुण्य पौडेल र दामोदर बैरागीले समेत चुनाव लड्न आकांक्षा देखाएका छन् । सीता गिरी संविधान सभामा प्रत्यक्ष निर्वाचित भएर आएकी थिइन् । 

जगत सुनार विश्वकर्मा

नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र त्रिपाठी, मनोज गुरुङ र दीपक गुरुङले पनि चुनाव लड्ने आकांक्षा देखाएका छन् । मनोज तरुण दलका क्षेत्रीय सभापति हुन् । 

कास्कीका तीन क्षेत्रमध्ये माओवादी केन्द्रको तुलनात्मक रूपमा यो क्षेत्रमा राम्रो छ । माओवादीले यो क्षेत्रमा दाबी गरेको छ । हाल प्रदेश सभा सांसद रहेका रामजी बराल र पहिलो संविधान सभामा निर्वाचित राजकाजी गुरुङ आकांक्षी हुन् ।

कास्की– ३ मा नेकपा एसले कृष्ण नेपालीलाई उठाउने सम्भावना छ । विकल्पमा प्रेम पौडेलको नाम पनि चर्चामा छ । 

काठमाडौंपछिको ठूलो शहर पोखरामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र केही स्वतन्त्र व्यक्तिले समेत उम्मेदवारी दिने तयारी गरेको चर्चा छ । 

यस्तो थियो विगतको चुनावी अंकगणित 

स्थानीय तह निर्वाचनको नतिजाले कास्कीको राजनीतिक समीकरणमा फेरबदल ल्याइदिएको छ । 

२०७४ सालमा एमाले र माओवादीबीच चुनाव तालमेल हुँदा अधिकांश क्षेत्रमा वामपन्थी गठबन्धनको लहर आएको थियो । प्रतिनिधि सभाका तीनवटै सीटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए । 

कास्की– १ मा एमालेका खगराज अधिकारीले ३९ हजार २ सय ४२ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८ सय २६ मत पाएका थिए । 

क्षेत्र नम्बर २ मा एमालेका रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत पाउँदा कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । 

२०७६ मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका थिए ।  

क्षेत्र नम्बर ३ मा एमालेका जगतबहादुर विश्वकर्माले ३२ हजार ६ सय ९० मत पाउँदा नेपाली कांग्रेसका शुक्रराज शर्माले २४ हजार १ सय ६४ मत प्राप्त गरेका थिए । 

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल राजनीतिक समीकरण परिवर्तन भएसँगै जनमतमा व्यापक परिवर्तन आएको दावी गर्छन् । 

महानगरका ३३ मध्ये २३ वडामा कांग्रेस विजयी भएकाले आफूहरूको प्रभाव बढेको उनले दाबी गरे । 

‘अहिलेसम्म चुनावी तालमेलको बारेमा छलफल भएको छैन, तालमेल हुँदा गठबन्धनका दलहरूसँग मिलेर सीट बाँडफाँड हुन्छ,’ बरालले लोकान्तरसँग भने । 

कांग्रेसको रणनीति सहयात्री दललाई प्रदेश सभामा धेरै सीट दिएर भएपनि प्रतिनिधि सभामा सकेसम्म तीनवटै सीटमा दाबी गर्ने छ । 

महानगरको मेयर जितिसकेको नेकपा एसले कांग्रेस तालमेलमा सहमत नभए गठबन्धनका अन्य दलहरूसँग मिलेर उम्मेदवारी दिने रणनीति बनाएको छ । 

पढ्नुहोस्, यसअघिका भागहरू :


salt training

कमेन्ट गर्नुहोस्