२५ जेठ २०८३, सोमबार

तातोपानीबाट लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन

तातोपानीबाट लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन

चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुद गत आर्थिक वर्षको असारसम्म लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन भएकोे तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिए । 

उनका अनुसार गत वर्ष एक अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षणलगायतका कारणले सोचेकोभन्दा राम्रो संकलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ । 

त्यस्तै, भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धीको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ । संकलितमध्ये मासिक औसत ३० करोड रहेको छ । 

अघिल्लो आर्थिक वर्षको लक्ष्य चार अर्ब ५० करोड रहेकोमा एक अर्ब दुई करोड उठेको थियो । आगामी वर्ष भने लक्ष्य चार अर्ब ६२ करोड रहेको उनले जानकारी दिए । उनका अनुसार चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनरहरू आउने क्रम निकै कम छ । मेशिनरी, रोलकपडा तथा स्याउलगायत वस्तु आयात हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले आठसम्म कन्टेनर आउने गरेको उनले बताए । 

प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरूको अनुपातमा रोल कपडा बढी आउने गरेको छ । त्यसपछि स्याउ तथा मेशिनरी उपकरणहरू आयात भएको छ । चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको समेत उनले बताए । सडकको कारणले लोड गरिएका कन्टेनर भ्यानहरू नआएकोभन्दा पनि चीनबाटै आयतमा कमी भएको गौतमले बताए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्