२१ असार २०८३, आइतबार

गुणस्तरहीन खाना र कपडा बहिस्कार गरौँः राजेश हमाल

गुणस्तरहीन खाना र कपडा बहिस्कार गरौँः राजेश हमाल

महानायक राजेश हमालले गुणस्तरहीन खाना र कपडा बहिस्कार गर्न आह्वान गरेका छन् । उनले खानेकुराको स्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । बिहीवार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उनले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताए । 

महानायक हमालले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लत्ता–कपडाहरूभन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो एवं स्वास्थ्यबर्द्धक हुने बताए । उनले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या पैदा भइरहेको र उपभोक्ताले आफ्नो अधिकार र शक्तिलाई बिर्सिएर आधुनिकतामा बहकिन थालेको भन्दै चिन्ता व्यक्त गरे । 

उनले कुनै विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा नलाग्न सचेत गराए । महानायक हमालले स्वास्थ्यमा खतरा भइसक्दासमेत धेरै नेपालीहरू सचेत हुन नसकेको भन्दै उपभोक्ता संरक्षण महासंघले यसमा पहलकदमी थाल्नुपर्ने सुझाव दिए । उनले मानिसले खाने सामग्रीहरू फ्याक्ट्रीबाट नभई जमिनबाट उत्पादन हुनुपर्ने र त्यसले मात्र मानव स्वास्थ्यको हित गर्ने बताए । 

‘हामी आधुनिकतामा बहकिएका छौँ । हामी चाहे उनीहरूको विज्ञापनमा, लालचीमा, आकर्षित प्याकेजिङमा होस्, चाहे आधुनिकताको नाममा होस् हामी बहकिएका छौँ’, उनले भने, ‘हामीले उपभोक्ताको हिसावले के गर्नुपर्छ भन्ने कुरा नै बिर्सिसक्यौँ । आफ्नो शक्ति के हो हामीलाई नै थाहा छैन । त्यसलाई पनि हामीले बिर्सिएर दाउमा राखेका छौँ ।’

महानायक हमालले अहिले आफूले खाने खानाको स्रोत थाहा नहुँदा कतिपय समस्या सिर्जन भइरहेको बताए । उनले बाहिरी आवरणलाई हेरेर नभई सामग्रीको गुणस्तर र स्वास्थ्यका लागि लाभदायी कुराहरूको मात्रै प्रयोग गर्न आवश्यक रहेको बताए । 

प्याकेजिङ गरिएका खाद्य सामग्री स्वास्थ्यलाई मध्यनजर नगरी स्वाद र व्यापारलाई मध्यनजर गरेर राखिएको हुने भन्दै त्यसतर्फ सचेत रहन पनि उनले आग्रह गरे । महानायक हमालले स्थानीय उत्पादनलाई विशेष जोड दिएर गुणस्तरहीन खानेकुरा र लगाउने कपडाहरूको बहिस्कार गर्न आवश्यक रहेको बताए । 

कमेन्ट गर्नुहोस्