कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
कात्तिक ३, २०७९
सबैजसो चुनावमा चर्चा र बदनाम कमाउने जिल्ला हो, दोलखा । बुथ कब्जा, झडप र धरपकड नभई दोलखामा चुनाव सम्पन्न भयो भने त्यो आश्चर्यको विषय बन्छ । स्थानीय तहको चुनाव होस् वा संसदीय सबै चुनावमा दोलखाले देशभरको ध्यान खिच्ने गर्छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वैत्यश्वर गाउँपालिका– ३ मा कांग्रेस र माओवादी कार्यकर्ताबीचमा झडप भयो । प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिनु पर्यो । २०७४ को चुनावमा त मतदाताले ज्यानै गुमाउनु परेको थियो ।
त्यसबेला स्थानीय तहको चुनावअघि नै एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा एमालेका कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भयो । वाईसीएल छाडेर एमाले प्रवेश गरेको एक हप्तामै उनको हत्या भएको थियो । चुनावी धाँधली, धरपकड र झडपमा दोलखाको नाम सधैँ अगाडि आउने गरेको छ ।
राजनीतिक दलको मतको हिसाबले दोलखा एमालेको गढकोरूपमा चिनिन्छ । दलगत मतको हिसाबले दोलखामा एमाले पहिलो पार्टी हो । बाग्मती प्रदेशमा दोलखा जिल्ला एमालेका लागि सहज निर्वाचन क्षेत्रको रूपमा लिइन्छ । २०४८ यताका धेरैजसो चुनाव एमालेले नै जित्दै आएको छ । २०७० सम्म दोलखामा दुईवटा निर्वाचन क्षेत्र थियो । २०४८ को चुनावमा दुवै क्षेत्र एमालेले जितेको थियो । इन्द्रबहादुर खड्का र जीतवीर लामा त्यसबेला सांसद बनेका थिए ।
२०५१ को चुनावमा एमाले र कांग्रेसले एक–एक वटा निर्वाचन क्षेत्र बाँडे । क्षेत्र नम्बर– १ बाट कांग्रेसका भीमबहादुर तामाङले चुनाव जिते भने २ बाट एमालेका वाङ्छे शेर्पाले चुनाव जितेका थिए । २०५६ को चुनाव भने एमालेले एकलौटी पार्यो । क्षेत्र नम्बर– १ बाट पशुपति चौलागाईं र २ बाट आनन्द पोखरेल सांसद बने ।
२०६४ को चुनावमा देशभर माओवादीको लहर थियो । संविधानसभाको पहिलो चुनावमा माओवादीका देवी खड्का र हेमबहादुर श्रेष्ठले चुनाव जितेका थिए ।
२०७० मा भएको संविधानसभाको दोस्रो चुनावमा माओवादीलाई एमालेले बढार्यो । एमालेका आनन्द पोखरेल र पार्वत गुरुङ संविधानसभा सदस्यकोरूपमा निर्वाचित भएका थिए ।
२०७४ मा भने दोलखा जिल्ला नै प्रतिनिधिसभाको लागि एउटा निर्वाचन क्षेत्र कायम भयो । त्यसबेला एमालेका पार्वत गुरुङ देशभरकै लोकप्रियमध्येको मत ल्याएर निर्वाचित भए । उक्त चुनावमा एमाले र माओवादी केन्द्रले देशभर तालमेल गरेका थिए ।
२०७४ को चुनावमा गुरुङले ५५ हजार ४५७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४ हजार ८१३ मत मात्रै पाए ।
दोलखाबाट पटक–पटक चुनाव जितेका आनन्द पोखरेल र पार्वत गुरुङ दुवै मन्त्री भए । २०६४ मा चुनाव जितेकी माओवादी नेतृ देवी खड्काले पनि राज्यमन्त्री हुने अवसर पाइन् । आगामी चुनावमा यी तीनै जना नेता टिकटको आकांक्षी भए पनि उनीहरूलाई नयाँ अनुहारले विस्थापित गरिदिएका छन् ।
दोलखा एमालेका शीर्ष २ नेता आनन्द पोखरेल र पार्वत गुरुङ दुवैजना टिकटका आकांक्षी थिए । दुवैले टिकट लिनका लागि सकेको राजनीति स्रोत प्रयोग गरिरहेका थिए । केन्द्रीय राजनीतिमा स्थापित दुवै नेता दोलखामा भने एक अर्काको अस्तित्व नस्वीकार्ने अवस्थामा छन् ।
केपी ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री भएपछि पार्वत गुरुङले अब आफू चुनाव नलड्ने बताउन थालेका थिए । त्यसलाई पोखरेलले भने आफ्ना लागि मैदान खाली भएको अर्थमा व्याख्या गर्दै हिँड्न थाले । कतिपय ठाउँमा पाखरेलले आफ्नो विषयमा गरेको टिप्पणी गुरुङको कानमा पर्यो । त्यसलाई गुरुङले इगोकोरूपमा लिए र चुनावी टिकट हात पार्ने हत्कण्डामा लागे ।
एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमार्फत अध्यक्ष ओलीसँग आनन्द पोखरेलले सम्बन्ध बनाएका छन् । पार्वत गुरुङको भने अध्यक्ष ओलीसँग सिधा सम्पर्क छ । एमालेका जानकारहरू भने चुनावी टिकट बाँड्ने अघिल्लो दिनसम्म ओली पोखरेललाई टिकट दिने पक्षमा थिए । प्रतिनिधिसभामा पोखरेल र प्रदेशसभामा बालकृष्ण सिवाकोटी तथा नरबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने एमालेको तयारी थियो ।
अन्तिम समयमा पार्वत गुरुङले टिकट नपाउने भएपछि गुरुङले नै सिवाकोटीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सल्लाह दिएको दोलखा एमालेका नेताहरू बताउँछन् । गुरुङको सल्लाह ओलीका लागि बलियो आधार भयो । ओलीले मन फेरे । पोखरेलले पाउनै लागेको टिकट सिवाकोटीले कब्जा गरिदिए ।
राजनीतिक सम्बन्धलाई उपयोग गरेर व्यावसायिक सफलता हासिल गरिरहेका बालकृष्ण सिवाकोटी एमाले अध्यक्ष ओलीका विश्वासपात्र सहयोगी हुन् । जिल्लामा खासै राजनीतिक प्रभाव नराख्ने उनी व्यवसायिक पृष्ठभूमिको राजनीतिक फोरममार्फत एमाले अध्यक्ष ओलीसँग सम्पर्कमा छन् ।
नेपाल उद्योग तथा व्यवसाय महासंघको उपाध्यक्ष रहेका सिवाकोटी एमाले अध्यक्ष ओलीको प्रत्यक्ष संरक्षण र रेखदेखमा चल्ने मदन भण्डारी फाउन्डेसनको केन्द्रीय सदस्य पनि छन् ।
फाउन्डेसनको कार्यालय उनै सिवाकोटीको लगानीमा बनेको गौशालास्थित पशुपति भिजनमा राखिएको छ । त्यति मात्रै होइन, ओलीले आफू प्रधानमन्त्री हुँदा सिवाकोटीलाई दुई कार्यकाल लगानी बोर्डको विज्ञ सदस्यसमेत बनाएका थिए ।
एमाले अध्यक्ष ओलीकै संरक्षणमा आर्थिक–राजनीतिक लाभ लिइरहेका सिवाकोटीलाई प्रतिनिधिसभामै उम्मेदवार बनाउने ओलीको रूचि थियो ।
जिल्लाका प्रभावशाली नेताले अन्तिम समयमा पोखरेल–गुरुङ लडाईं निरूपणको विकल्प दिएपछि ओलीले सिवाकोटीको नाम अंकित टिकटमा हस्ताक्षर गरिदिए ।
त्यसअघि प्रतिनिधिसभाको चुनाव लड्नेबारे सिवाकोटीले कुनै चर्चा नै नगर्ने गरेको दोलखा एमालेका नेताहरू बताउँछन् । सिवाकोटीले टिकट पाइहाले प्रदेशसभामा चुनाव लड्ने तयारी गरिरहेका थिए । एमालेले प्रदेशसभाको १ मा नरबहादुर श्रेष्ठ र २ मा भरतबहादुर केसीलाई उम्मेदवार बनाएको छ । केसी भीमेश्वर नगरपालिकाका पूर्व मेयर पनि हुन ।
भूगोलको राजनीतिमा उतिसारो नभिजेका सिवाकोटीलाई पैसाको बलमा टिकट लिएर चुनावमा आएको आरोप दोलखामा लागेको छ । दोलखा एमालेका एक नेता भन्छन्, ‘प्रदेशको १ नम्बर निर्वाचन क्षेत्रमा त उहाँलाई शून्यबाट परिचय गराउनुपर्छ । केन्द्रीय पहुँचको आधारमा चुनाव लड्न आउनुभएको छ । चुनावी जीतहार उहाँकै भूमिकामा निर्भर रहन्छ ।’
स्थानीय तहको चुनावमा नराम्रो हार व्यहोरेपछि दोलखा एमालेले संगठन बलियो बनाएको छ । पार्टी सुदृढीकरण र शुद्धीकरण (सुसु) अभियान चलाएर एमालेले पार्टीलाई फर्ममा फर्काएको छ । एमाले दोलखा जिल्ला कमिटीका एक सदस्य भन्छन्, ‘स्थानीय तहको चुनावबाट हामीले ठूलो पाठ सिकेका छौं । त्यसबेला पार्टी अहिलेजस्तो तयारीमा र फर्ममा थिएन । त्यसबेला कन्फिडेन्स बढी थियो । अहिले हामीले पार्टीलाई मजबुत बनाएका छौं । उम्मेदवार जोसुकै भए पनि पार्टी चुनावमा जाने हो । संगठनकै बलमा चुनाव जित्छौं ।’
पार्टीभित्रको अन्तरविरोध हल भएका कारण उत्साहीरूपमा चुनावमा होमिएको उनले बताए ।
चुनावी टिकटको रणमैदानमा पछारिएका पोखरेल र गुरुङ दुवैको संयुक्त संयोजकत्वमा एमालेले चुनाव परिचालन कमिटी बनाएर दुवैलाई एक–एक प्रदेशको जिम्मेवारी तोकिएको छ । पोखरेल र गुरुङ दुवैले आगामी चुनावमा पार्टीलाई जिताउने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
दोलखामा एमालेको पहुँचवाला उम्मेदवारसँग भिड्न माओवादी र कांग्रेसले माओवादी नेता गंगाबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ ।
सत्तारूढ गठबन्धनमा दोलखा माओवादी केन्द्रको भागमा परेपछि कार्कीले प्रतिनिधिसभाको टिकट पाएका हुन् । प्रदेशको दुवै सीटमा कांग्रेसले उम्मेदवारी दिएको छ । प्रदेशको निर्वाचन क्षेत्र नम्बर– १ मा कुन्दन काफ्ले र २ मा बर्मा लामा कांग्रेसका उम्मेदवार छन् ।
विद्यार्थी राजनीतिबाट आएका काफ्ले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । लामा भने दोलखा कांग्रेसका सभापति हुन् । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पाइसकेको टिकट खोसेर लामालाई उम्मेदवार बनाइएको हो ।
पूर्व सांसद एवं कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाको जोडबलमा सिवाकोटीको टिकट खोसेर लामालाई दिइएको थियो । व्यावसायिक पृष्ठभूमिका लामाले जातीय प्रतिनिधित्व हुनुपर्ने दबाब पार्टी सभापतिलाई दिएर सिवाकोटीको टिकट खोस्न लगाएका थिए ।
प्रदेशको निर्वाचन क्षेत्र नम्बर– १ का स्थायी बासिन्दा रहेका लामा निर्वाचन क्षेत्र नम्बर– २ मा उम्मेदवार बन्न गएका छन् । अर्को निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न गएपछि दोलखाका कांग्रेस कार्यकर्ताले नै लामालाई अतिथि उम्मेदवारको ट्याग भिराइदिने गरेका छन् ।
माओवादी दोलखामा शीर्ष तहका नेताहरूबीच गहिरो अन्तर्विरोध छ । माओवादी केन्द्रले अघि सारेका उम्मेदवार गंगा कार्की दोलखाका शीर्ष तहका नेता हुन । तर, उनलाई पार्टी भित्रैबाट असहयोग भइरहेको माओवादीका नेताहरू बताउँछन् ।
उम्मेदवार कार्की र दोलखा माओवादीका नेताहरू देवी खड्का तथा विशाल खड्का आफन्त हुन् । कार्की देवी र विशाल खड्काका भिनाजु पर्छन् । तर, उनीहरूकै सम्बन्धमा खटपट छ । कार्की र विशाल खड्काको त बोलचाल समेत नरहेको नेताहरू बताउँछन् । द्वन्द्वकालदेखि नै कार्की र खड्का परिवारबीच शुरू भएको दरार अहिलेसम्म पुरिन सकेको छैन ।
माओवादीमा शुरूदेखि नै कार्की प्रचण्ड खेमामा थिए । खड्का दिदी–भाइले भने डा. बाबुराम भट्टराईको संरक्षण र छहारीमा राजनीतिक करिअर बनाए । पछि बाबुरामले माओवादी छाडेपछि खड्का दिदी–भाई माओवादीमै रहे तर, कार्कीसँगको अन्तरविरोध हल भएन ।
अहिले माओवादी केन्द्रले कार्कीलाई उम्मेदवार बनाएपछि दोलखाको ईन्चार्जको जिम्मेवारीमा रहेकी देवी खड्काले राजीनामा दिएकी छन् । कार्की भने माओवादी केन्द्रका पोलिटब्युरो सदस्य छन् । खड्काले आफ्नो स्वास्थ्य अवस्था र उम्मेदवार चयनमा नेतृत्वले कमजोरी गरेको कारण देखाएर पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा बुझाएकी छन् । दोलखामा माओवादी केन्द्रले भने विशाल खड्कालाई नै चुनावी कमाण्डर बनाएको छ ।
दोलखामा गठबन्धनलाई अर्को चुनौती हो माओवादी–कांग्रेसको मत ट्रान्सफर गराउनु । तर, दोलखा कांग्रेसका नेता छिपछिरिङ लामाले नै माओवादीलाई असहयोग गर्न सक्ने विश्लेषण दोलखाको चिया चौतारोमा हुने गरेको छ । स्थानीय तहको चुनावमै माओवादी र कांग्रेसका बीचमा एकअर्काका विरुद्ध असहयोगको बिजारोपण भइसकेको छ । स्थानीय चुनावमा पनि कतिपय स्थानीय तहमा कांग्रेस–माओवादीको गठबन्धन थियो ।
स्थानीय तह चुनावको मत हेर्दा दोलखामा एमाले पहिलो पार्टी हो । तर, कांग्रेस–माओवादीको मत जोड्दा एमाले धेरै पछाडि हुन्छ । तर, दोलखा कांग्रेसका एक नेता भन्छन्, ‘कांग्रेस–माओवादीबीचको त्यति सजिलै मत ट्रान्सफर हुन्छ र ? भन्ने प्रश्न सबैतिर सुनिन्छ ।’
एमालेले भने यसैलाई अवसरको लिएको छ । अर्कातर्फ, दोलखामा एकीकृत समाजवादी गठबन्धनसँग बिच्किएको छ । एकीकृत समाजवादीका नेता शिव भण्डारी प्रदेश वा प्रतिनिधिसभा जहाँ भएपनि आफूले टिकट पाउने आशामा थिए । अन्ततः गठबन्धनले दोलखामा एकीकृत समाजवादीलाई ठाउँ दिएन ।
आफ्नो उम्मेदवार नभएपछि समाजवादीले चुनावमा ‘विवेकपूर्ण’रूपमा प्रस्तुत हुने निर्णय गरेको छ । एमालेले भने एकीकृत समाजवादीको मत तान्न सकिने विश्लेषण गरेको दोलखा एमालेका नेताहरू बताउँछन् । माओवादीभित्रको अन्तर्विरोधको पनि फाइदा हुने भएकाले चुनावी नतिजा एमालेकै पक्षमा आउने ती नेताको दावी छ ।
दोलखा कांग्रेसका एक नेता भन्छन्, ‘मतको हिसाबले अहिले पनि गठबन्धनकै उम्मेदवार अघि छन् । तर, मत जस्ताको तस्तै ट्रान्सफर गराउन सबैको भूमिका चाहिन्छ । गठबन्धनका उम्मेदवारले जित्न प्रदेशको– १ बाट ८ देखि १० हजार मतले लिड गर्नुपर्छ । त्यो त्यति सजिलो चाहिँ होइन ।’ दोलखामा करीब डेढ लाख मतदाता छन् ।
एमालेका उम्मेदवार सिवाकोटी अहिल्यैबाट कांग्रेस र माओवादी केन्द्रको मत चोर्ने रणनीतिमा देखिन्छन् । त्यसका लागि उनले सबै हत्कण्डा अपनाउन सक्ने विषय दोलखामा चर्चामा छ । प्रदेश सभाको उम्मेदवार रहेका कांग्रेसका नेताहरू पनि चुनाव आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड, भेद सबै नीति अख्तियारको तयारीमा जुटिसकेको दोलखा कांग्रेसकै नेताहरू स्वीकार्छन् ।
दोलखाको चुनावी नतिजा निर्धारण गर्ने अर्को फ्याक्टर हो– बुथ कब्जा । एमालेका एक नेता भन्छन्, ‘निष्पक्ष निर्वाचन हुने र मतदाताले स्वतन्त्ररूपमा मत हाल्न पाउने हो भने हामीले चुनाव हार्ने विषय कुरा कल्पनामै आउँदैन तर, बुथ कब्जाको संस्कृतिले दोलखा बदनाम छ । कसले कस्तो शक्ति प्रदर्शन गर्छ भन्ने कुराले पनि नतिजा प्रभावित गर्छ ।’
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...