
नेपालमा गहुँ आयात हुन नसक्दा बजारमा मैदाको चरम अभाव हुन थालेको छ ।
भारत सरकारले ३० वैशाख २०७९ मा गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव देखिएको नेपाल मैदा उद्योग संघले जानकारी दिएको छ ।
संघका अनुसार मैदा/आँटा कच्चा पदार्थको रूपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेण्टलगायत ठूला–साना सबै होटललाई समस्या भएको छ ।
मागअनुसार मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएको संघको भनाइ छ । मैदाको सहज आपूर्ति हुन नसक्दा मैदा व्यवसायी चिन्तित भइरहेका पनि संघले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आम उपभोक्ताको दैनिक खाद्यान्नका रूपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएकाले आम उपभोक्तालाई गहुँ आयातमा लागको प्रतिबन्धनले प्रत्यक्ष प्रभाव पारेको छ ।
भारत सरकारको प्रतिबन्धपश्चात् मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेको र हुँदा मैदा/आँटाको मूल्य बढिरहेकाले उपभोक्तालगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको छ ।
गहुँ आयात नहुँदा र यसले नित्याएको समस्याबारे संघले सरकारलाई समेत जानकारी गराइसकेको छ ।
अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरू पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्थामा पुगेका छन् । मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन । योे विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने संघको भनाइ छ ।
मैदा उद्योग कृषिमा आधारित उद्योगमध्ये नेपालमा आत्मनिर्भर भइसकेको उद्योग हो ।
गहुँको अभावमा मैदा/आँटाको अभाव सिर्जना भएकोले नेपाल सरकारसँग संघले अनुरोध गरेको छ ।
भारत सरकारसँग कुरा गरी चाँडो भन्दा चाँडो थप गहुँ उपलब्ध गराइदिन अनुरोध छ । अहिले प्राप्त पचास हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्छ, त्यसपश्चात् फेरि हाहाकार मच्चिन सक्छ । नेपालमा गहुँको सिजन आउन अझ ३ महिना बाँकी छ ।
नेपाल मैदा उद्योग संघले भारत सरकारले दिएको ५० हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउन पनि सरकारलाई आग्रह गरेको छ ।
बाँकी ३ महिनाका लागि ३८ वटा उद्योगका लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ । गहुँ उपलब्ध भएमा यहाँका उद्योग चल्ने र सबै क्षेत्रलाई फाइदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाइदिन समेत नेपाल सरकारसमक्ष संघको तर्फबाट अनुरोध गरिएको नेपाल मैदा उद्योग संघका महासचिव राधेश्याम अग्रवालले बताए ।