
राष्ट्रपति निर्वाचनको प्रक्रियामा भएको धपेडीले राष्ट्रपति रामचन्द्र पौडेललाई ग्यास्ट्रिककाे समस्या देखिएको उनको सचिवालयले जनाएको छ । गत शनिबार पेट धेरै दुःखेपछि राष्ट्रपतिलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
भर्ना गरेयता डा. नीरज बामको टोली उनको उपचारमा खटिंदै आएको जानकारी राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले दिए ।
‘राष्ट्रपति निर्वाचनको क्रममा बढेको धपेडीले राष्ट्रपतिमा ग्यास्ट्रिकको समस्या बढेकाे रहेछ । पेट दुखेको समस्याले उहाँ शनिबारदेखि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हाे’ कार्कीले भने, ‘डा. नीरम बाम नेतृत्वको टोलीले उपचार गरिरहनुभएकाे छ । उहाँको स्वास्थ्यस्थिति सुधार हुँदै गएको छ । सोमबार दिउसोसम्मको प्रगति हेरेर डिस्चार्जको टुंगो लाग्ने जानकारी पाएका छौं ।’
सोमबार नभए मंगलबार डिस्चार्ज हुने जानकारी कार्कीले दिए । पाैडेलकाे स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला सोमबार बिहान शिक्षण अस्पताल पुगेका थिए ।