माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चैत २४, २०७९
यसै साता पश्चिमी सैन्य गठबन्धन नेटोले फिनल्यान्डका रूपमा नयाँ सदस्य पाएको छ ।
नेटो सदस्य टर्की (टुर्किये) र हंगेरीले फिनल्यान्डको सदस्यताका लागि लामो समयसम्म अवरोध गरेको भए पनि अन्ततोगत्वा मञ्जुरी दिएका छन् । त्यसपछि नेटोको केन्द्रीय कार्यालय ब्रसेल्समा अन्य ३० देशको झण्डासँगै फिनल्यान्डको झण्डा पनि फहराइएको छ ।
दशकौंसम्म पश्चिम र रुसका बीचमा तटस्थ भूमिका निर्वाह गर्दै आएको फिनल्यान्ड पश्चिमी खेमामा प्रवेश गर्नका लागि रुसले छिमेकी मुलुक युक्रेनमाथि गरेको आक्रमण तात्कालिक कारण बन्न पुगेको छ । युक्रेनले नेटोको सदस्यता प्राप्त गर्नका लागि कोशिश गरेपछि आफूलाई सुरक्षा खतरा आइलाग्ने भनी रुसले युक्रेनमाथि आक्रमण गरेको हो । अहिले रुसको अर्को छिमेकी फिनल्यान्ड नेटोको सदस्य भएपछि रुसलाई धक्का पुगेको भनी पश्चिमी सञ्चारमाध्यमहरूमा विश्लेषण आएका छन् ।
रुस र फिनल्यान्डबीच १३ सय ४० किलोमिटर लामो स्थलसीमा छ । कुनै नदी वा पहाडले सीमा छुट्ट्याएको छैन भने मानव बस्ती नभएका जंगल र एकदमै कम जनसंख्यासहितका साना गाउँहरू सीमामा रहेका छन् । फिनल्यान्ड समेत जोडिएपछि रुससँग नेटोको सीमा दोब्बर बढेको बीबीसी लेख्छ ।
यस स्थितिले नेटो र रुस दुवैलाई चुनौती तेर्स्याएको छ । नेटोले पहिलाको भन्दा बढी क्षेत्रलाई सुरक्षा दिनुपर्ने भएको छ भने रुसलाई आफ्नो उत्तरपश्चिमी भूभागलाई थप सैन्यीकृत गर्नुपर्ने आवश्यकता आइलागेको छ ।
युक्रेनलाई नेटोको सदस्य बन्न नदिएको रुसले फिनल्यान्ड नेटोमा जोडिँदा भयंकर आपत्ति जनाएको छैन । तर रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले आफूहरूको ट्याक्टिकल तथा स्ट्राटेजिक सुरक्षाका लागि प्रतिकारका उपायहरू अपनाउने बताएर निकै खतरनाक संकेत दिएका छन् ।
पेस्कोभले ट्याक्टिल र स्ट्राटेजिक सुरक्षाको कुरा उठाएर आणविक हतियारतर्फ संकेत गरेका हुन् । सदस्य बनाएसँगै नेटोले फिनल्यान्डको भूमिमा पनि आफ्ना क्षेप्यास्त्र राख्न सक्ने भएको छ । त्यसबाट जोखिम हुने भएपछि रुसले बाल्टिक क्षेत्रमा आणविक हतियार राख्न सक्ने सम्भावना बढेको पेस्कोभको भनाइबाट निष्कर्ष निकाल्न सकिन्छ ।
बाल्टिक सागरको तटमा पोल्यान्ड र लिथुएनियाको बीचमा रहेको कालिनिनग्राद रुसको सार्वभौम क्षेत्र हो । अहिले रुसले पोल्यान्ड तथा बाल्टिक क्षेत्रका मुलुकसम्म मार हान्न सक्ने छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रणाली इस्कन्दर–एम पनि कालिनिनग्रादमा तैनाथ गरेको छ ।
बाल्टिक सागरको सुदूरपूर्वी भागमा रहेको फिनल्यान्डको खाडीलाई नेटोले रुसको बाल्टिक जहाजी बेडाको नाकाबन्दीका लागि उपयोग गर्न सक्ने आकलन गर्दै रुसले कालिनिनग्रादमा आणविक हतियार राख्न सक्ने सम्भावना छ ।
अनि अमेरिकाले रुसलाई आणविक हतियारको छायाँमा पारी काबुमा राख्ने भूरणनीतिक सोचका साथ नै फिनल्यान्डलाई नेटोको सदस्य बनाएको (र युक्रेनलाई नेटोमा जोड्न चाहेको) कुरा यहाँ स्मरणीय छ । त्यसबाट रुसको प्रतिकारात्मक आक्रमण (सेकेन्ड स्ट्राइक) क्षमता कमजोर बन्ने अमेरिकीहरूको आकलन छ ।
यस्तो स्थितिमा फिनल्यान्ड सीमाबाट धेरै टाढा नरहेको रुसको सेन्ट पिटर्सबर्ग शहर तथा रुसी जलसेनाको उत्तरी जहाजी बेडा रहेको मुर्मान्स्क (कोला प्रायद्वीप) पनि जोखिममा पर्नेछ ।
मुर्मान्स्कमा आणविक हतियारहरू राख्नुका साथै उत्तरपश्चिम भागमा रहेको आफ्नो भूभाग कारेलिया गणतन्त्रमा पनि सैन्य उपस्थिति बढाउने योजना रुसले बनाएको छ । गत अक्टोबर महिनामा रुसले कोला प्रायद्वीपमा आणविक बम सहितका बमवर्षक विमान पुर्याएको बताइएको छ ।
अनि फिनल्यान्ड सीमा नजिक रहेको कारेलिया श्वेत र बाल्टिक सागरको बीचमा पर्छ । त्यसलाई पनि सैन्यीकरण गरी आफ्नो सुरक्षा बलियो बनाउने रुसको योजना देखिन्छ ।
यसले नेटो र रुसबीचको द्वन्द्वलाई थप चर्काउनेछ र आणविक युद्धको सम्भावनालाई बढाउनेछ । अमेरिकालाई आणविक शक्तिमा सर्वोच्चता हासिल गर्न दिएर आफ्नो सेकेन्ड स्ट्राइक क्षमता कमजोर बनाउन रुस कदापि तयार हुँदैन । त्यसैले उत्तरी भागमा समेत उसले आणविक हतियार तैनाथीलाई द्रुत गतिमा अघि बढाउनेछ ।
एकातर्फ आणविक हतियारको तैनाथीका साथ पश्चिमलाई आक्रमणबाट विमुख बनाउन खोजेको रुसले अर्कातर्फ नेटोलाई उत्तरी भागमा चलखेल गर्न नदिन ‘ग्रे जोन’ रणनीति उपयोग गर्न सक्ने सम्भावना रहेको वार अन द रक्स पत्रिकामा निकोलस लोक्कर र हेली हाउटाला लेख्छन् । त्यस क्षेत्रमा रहेका पाइपलाइन, समुद्रमुनिका तारका साथै तेल र ग्यासका भण्डार जस्ता महत्त्वपूर्ण पूर्वाधारमा रुसीहरूले आक्रमण गर्न सक्ने संकेत पाइएको लोक्कर र हाउटालाको दाबी छ ।
अनि मस्कोले शरणार्थीहरूलाई फिनल्यान्ड सीमानजिक ल्याएर त्यता प्रवेश गर्न उत्प्रेरित गर्ने सम्भावना पनि रहेको छ । सन् २०१५ र २०१६ मा रुसले त्यसै गरेको थियो ।
त्यसलाई रोक्नका लागि फिनल्यान्डले सीमामा तारबार लगाउन थालेको छ । तत्कालका लागि रुसी सेनामा भर्ती हुन नचाहने मानिसहरू अन्य देशतर्फ भागिरहेकोमा तिनीहरू आफ्नो क्षेत्रमा नआऊन् भनेर पनि फिनल्यान्डले तारबार लगाएको हो ।
अमेरिकाले फिनल्यान्ड (र स्विडन) लाई नेटोको सदस्य बनाउनुमा भूआर्थिक स्वार्थ पनि कारण रहेको भारतीय विश्लेषक एमके भद्रकुमार लेख्छन् । उनले नेटोका महासचिव जेन्स स्टोल्टनबर्गको भनाइ उद्धृत गरेका छन् ।
स्टोल्टेनबर्गले नेटोमा फिनल्यान्ड र स्विडन जोडिएमा सुदूर उत्तरी क्षेत्रमा नेटोले परिस्थिति नियन्त्रण गर्ने थप अवसर पाउनेछ भनेका थिए । यी दुवै मुलुकसँग सुदूर उत्तरको कठ्यांग्रिदो जाडोमा पनि कारवाही चलाउन सक्ने आधुनिक सैनिक रहेको स्टोल्टेनबर्गले स्मरण गराए ।
सुदूर उत्तर अर्थात् उत्तरी ध्रुवमा रहेको खनिज पदार्थहरूको विशाल स्रोतलाई कब्जामा लिनका लागि अमेरिका र रुसबीच तीव्र प्रतिस्पर्धा छ । अहिलेसम्म रुसले त्यसमा नियन्त्रण कायम गरी लाभ लिइरहेको छ र अमेरिका पनि त्यसबाट फाइदा उठाउनका लागि दिलोज्यान दिएर लागेको छ ।
एलिजाबेथ बुकाननको पुस्तक ‘रेड आर्कटिक : रसियन स्ट्राटेजी अन्डर पुटिन’ मा उल्लेख भएअनुसार, उत्तरी ध्रुव रणनीतिक मैदानका रूपमा उदय भई नयाँ शीतयुद्ध शुरू हुन लागेको छ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्धका कारण त्यहाँका खनिज पदार्थहरूमा नकारात्मक असर नपरोस् भनी सचेत छन् ।
विशेषगरी जलवायु परिवर्तनका कारण उत्तरी ध्रुव पग्लिँदै गएर पहुँचयोग्य बनिरहेको अनि खनिजहरू पनि सतहमा देखिन थालेको स्थिति बनेकाले शक्तिराष्ट्रहरूको आँखा त्यहाँ परिरहेको हो । रुसले मात्र त्यहाँबाट अधिकतम लाभ उठाएको अमेरिकालाई चित्त बुझेको छैन र फिनल्यान्ड तथा स्विडनको सहयोग लिएर त्यस विशाल सम्पत्तिमा दाबी गर्न खोजिरहेको छ ।
अमेरिकाको यस रणनीतिलाई बुझेको रुसले उत्तरी ध्रुव अर्थात् आर्कटिकमा लामो समयदेखि विभिन्न कारवाही चलाउँदै आएको छ भने फिनल्यान्ड सीमा नजिक उसले कारवाहीका लागि विशिष्ट सैन्य इकाइ तथा उपकरणहरू विकसित गरेको छ । आर्कटिक क्षेत्रमा उसले धमाधम सैन्य अखडाहरू बनाइरहेको बिजनेस इन्साइडर पत्रिकामा माइकल पेक लेख्छन् ।
सन् २०१३ देखि अहिलेसम्ममा रुसले त्यहाँ ६ वटा सैन्य अखडा, १४ वटा एयरफील्ड, १६ वटा गहिरो पानी भएको बन्दरगाह र १४ वटा बरफ काट्ने जहाज (आइसब्रेकर) बनाइसकेको छ । रुसले उत्तरी ध्रुवलाई यसरी सैन्यीकरण गरेर अग्रता हासिल गरेपछि आफू पिछडिएको अनुभव गर्दै अमेरिकाले उत्तरी ध्रुवको सीमामा रहेका फिनल्यान्डलाई नेटोको सदस्य बनाएको देखिन्छ ।
आफ्नो सीमामा नेटो आइपुगेपछि अब रुसको आक्रामकता थप बढ्ने सम्भावना छ । विश्लेषकहरूका अनुसार, फिनल्यान्ड सीमा नजिक रुसले उत्तेजनात्मक वायुसैन्य अभ्यास गर्न सक्छ । अनि ब्यारेन्ट्स र बाल्टिक सागरमा आइपुगेका पश्चिमी जहाजहरूलाई हैरान गरी उसले नेटोको प्रतिरक्षात्मक क्षमता जाँच्ने कोशिश पनि गर्न सक्छ ।
त्यसलाई ध्यानमा राख्दै नेटोले पनि परम्परागत र आणविक दुवै किसिमका सैन्य रणनीतिलाई अघि बढाउने सम्भावना छ । फिनल्यान्डसँग हातहतियारले सुसज्जित तथा तालिमप्राप्त लगभग ३० हजार सैनिक छन् भने उसले युद्ध भएको खण्डमा २ लाख ८० हजार सैनिक उपलब्ध गराउन सक्छ ।
नेटोमाथिको आक्रमणले त्यस सैन्य संगठनका सबै ३१ सदस्यलाई एकैपटक प्रतिकार गर्न बाध्य बनाउने भएकाले रुसले त्यो कदम नचाल्न सक्छ । तर नेटोलाई तर्साउनका लागि उसले आणविक हतियारको तैनाथी तथा तयारी अवस्थालाई जोड दिन सक्छ । यसले विश्वमा थप अशान्ति निम्त्याउनेछ ।
पढ्नुहोस् यो पनि :
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...